
साप्ताहिक संवाददाता

नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
अमेरिकन आइडलको लाइभ शोमा छनोट भएर यसरी उत्कृष्ट दशमा पुग्ने उनी पहिलो नेपाली हुन् । भोटिङ र उनको प्रस्तुतीका आधारमा दिवेश अर्को राउण्डका लागि छनोट भएका हुन् ।
अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।
टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।