निरन्तर दुई साता कोरोना संक्रमणको संख्यालाई शुन्यमा झार्दै हङकङले सुधारको संकेत देखाएको छ ।दैनिकजसो कोरोना संक्रमणको दर बढ्दै गएपछि त्रसित बनेका हङकङेलीहरु पछिल्लो समाचारले सन्तोषको श्वास फेर्न थालेका छन् ।
कोरोना संक्रमणको ईपिसेन्टर मानिएको चीनको वुहान प्रान्तबाट करिव हजार किलोमिटरको दुरिमा रहेको हङकङलाई जोखिममा पार्ने अर्को प्रमुख शहरको रुपमा हेरिएको थियो । २०१९ को डिसेम्बरबाट शुरु भएको कोरोना (कोभिड १९) ले एसियाका विभिन्न देशहरु, युरोप र अमेरिकामा जुन तवरले संत्रास फैलाउन सफल भयो त्यसको अनुपातमा हङकङले आफुलाई सुरक्षित नै बनाईरहेको छ ।
संसारभरिका मानिसहरुको ब्यवसाय र पर्यटनको केन्द्रविन्दु मानिने हङकङमा मानिसहरुको चहलपहल अत्यधिक हुने गर्छ । रात्रीकालिन जीवनमा अभ्यस्त हङकङको अधिकांश रेष्टुरेन्ट, बार रातैभरि खुल्ला हुन्थे । विशेष छुट्टिमा यहाँ आएर रमाउन चाहनेहरुको मेला नै लाग्ने गथ्र्यो ।
हङकङमा कोभिड १९ को संक्रमण तिब्र रुपमा फैलिएसँगै स्थानिय प्रशासनले मानिसहरुको भिडभाड हुने स्थानहरुको पहिचान गर्दै अनिश्चितकालका लागि बन्द गरेको थियो । यसरी बन्द हुनेहरुमा बार, क्लब, गेम जोनहरु, सार्वजनिक स्थानहरु, विद्यालय लगायत थिए । रेष्टुरेन्टहरु तथा अन्य स्थानहरुमा समेत सामाजिक दुरी कायम गर्दै ४ जनाभन्दा बढि एकै ठाउँमा भेला हुन नपाउने नियमलाई कढाईका साथ लागू गरिएको थियो ।
सरकारले लगाएको यो नियमसँगै हङकङ लगभग सुनसान देखिन्थ्यो । नेपालीहरुको लगानी रहेको बार, रेष्टुरेन्टको अवस्था पनि नाजुक भयो । सरकारले व्यवसायीहरुलाई आर्थिक सहयोग प्रदान गरेपनि अहिले व्यवसायीहरु यो रकमले व्यापार धान्नका लागि प्रर्याप्त नभएको गुनासो गरिरहेका छन् । यिनै गुनासो, पिर र चिन्ताहरुको बीचमा कोरोना संक्रमणको संख्या शुन्यमा झार्दै हङकङलाई पुरानै लयमा फर्काइने प्रयास भैरहेको छ ।
हङकङ सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै शुक्रबारबाट हङकङका सार्वजनिक स्थान रेष्टुरेन्ट, बारहरु खुल्ला रहने जनाएको हो ।
चिफ एक्जुकेटिभ क्यारी लामले सम्बोधन गर्दै भनिन्– लामो समयपछि बन्द रहेका ठाउँहरु खुल्ला गरिएको छ, तर केहि नियमहरु अझैपनि सर्तकताका साथ पालन गर्नु पर्नेछ । हामी हङकङवाट कोरोना निर्मूल गर्ने अभियानमा छौ । जनजीवनलाई सहज बनाउँनेसँगै यसको प्रकोप फैलिन नदिनका लागि सवैले सदैव सचेत र सजक रहनुपर्दछ ।
शुक्रबारबाट पुरानै लयमा हङकङको रात्रीकालिन स्थानहरु खुल्ने तर सामाजिक दुरीको नियम पालन गर्नुपर्नेछ । फिटनेश, गेमिङ जोन, पार्लर, मसाज सेन्टर, सिनेमा हल लगायत खुल्ला भएका छन् । खुल्ला भएका सवै स्थानहरुमा मानिसहरु प्रबेशगर्दा शरिरको तापक्रम चेकजाँच, मास्क, सेनिटाईजरको प्रयोगलाई अनिवार्य गरिएको छ ।
बार, क्लबहरुले आफ्नो क्षमताभन्दा आधा ग्राहकहरुलाई मात्र सेवा दिनुपर्नेछ भने लाईभ म्युजिक, क्लोज डान्स लगायतका क्रियाकलाप गर्न पाईने छैन । क्लबहरुले कोभिडको संक्रमणमाझै सामाजिक दुरीको नियमलाई अनिवार्यरुपमा पालन गर्नुपर्नेछ । कोभिड १९ को संक्रमणलाई अझ ब्यवस्थित गर्नकै लागि नाईट डान्स क्लब, साउना, पार्टीरुम, काराओके लाउन्ज जस्ता मानिसहरुको प्रत्यक्ष सम्पर्कमा आउने स्थानहरु अझ केहि समयसम्म बन्द नै रहनेछन् ।
करिब ३ महिनाबाट बन्द रहेको विद्यालयहरु समेत खुल्ने भएको छ । मे २७ बाट विभिन्न तहका कक्षाहरु पुन संचालनमा आउनेछन् ।
कोभिड–१९ का कारण हङकङमा १,०४० जनामा संक्रमण देखिएको छ भने ४ जनाले ज्यान गुमाईसकेका छन् ।