बबरमहलको सिद्धार्थ आर्ट ग्यालरीमा प्रिन्ट मेकिङ, नेपालले कला प्रदर्शनी सुरु हुँदै गर्दा कोरोना सन्त्रास सुरु भइसकेको थियो । ५४ जना प्रिन्टमेकरका सयभन्दा बढी कलाकृति राखिएको प्रदर्शनीमा दर्शक त कम नै आए, लकडाउनका कारण घोषित अवधिसम्म चल्न पनि सकेन । प्रदर्शनीमा राखिएका कला बिक्री हुने त कुरै भएन । यस्तै प्रदर्शनीबाट चल्दै आएको ग्यालरी अहिले संकटमा परिरहेको सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाले बताउँछिन् ।
सिद्धार्थमा प्रदर्शनी नभएका बेला पनि हेर्न आउनेको संख्या दैनिक ७५ जना औसत हुन्थ्यो । कलाकृति किन्नेको संख्या कम नै भए पनि ग्यालरी चलाउन मुस्किल नै हुँदैनथ्यो । लकडाउनपछि आकर्षक सज्जासहित सञ्चालन गरिएको ग्यालरीको भाडा तिर्न र कर्मचारीलाई तलब दिन पनि सकस भइरहेको उनले बताइन् । उनी भन्छिन्, ‘लकडाउन खुले पनि पुरानै अवस्थामा फर्किन न्यूनतम पनि ६ महिना लाग्ने देखिन्छ । यदि लकडाउन लामो समय कायम रहने हो भने ग्यालरी बन्द गर्नुको अर्को विकल्प छैन ।’
बबरमहलको आर्ट काउन्सिलमा लकडाउनअघि सरिता डंगोल र उनको समूहले कला प्रदर्शनी गरेको थियो । ग्यालरीले नै आयोजना गरेको प्रदर्शनीमा बिभिन्न कलाकारका कलाकृति प्रदर्शनी र बिक्रीका लागि राखिएको थियो । तर, बिक्री शून्य रह्यो । त्यसअघि काउन्सिलकै ‘वाग्मती आर्ट ग्यालरी’मा राखिएका कला अवलोकन गर्न जानेको संख्या भने राम्रै थियो । आफ्नै भवन भएकाले भाडालगायतको तनाव नभए तापनि लकडाउनपछि अवलोकनकर्ता संख्या भने कमी हुने अनुमान काउन्सिल सदस्य तथा कलाकार हरि खड्काको छ ।
बाङ्गेमुढास्थित ‘अमात्य आर्ट ग्यालरी’ कलाकार गेहेन्द्रमान अमात्यले एकल रूपमा सञ्चालन गर्दै आएका छन् । बिक्री भएका कलाकृतिबाट भएको आम्दानीले सञ्चालन हुँदै आएको ग्यालरी सरस्वती पूजापछि खुलेको छैन । विदेशीलाई समेत बिक्रीको लक्ष्यसहित राखिएका कलाकृति अहिले थन्किएका छन् । कलाकृति प्रेमीको संख्यामा बढ्दै गरेको अवस्थामा आएको महामारीका कारण यस क्षेत्रमा दीर्घकालीन असर पर्ने अमात्यको भनाइ छ । उनी भन्छन्– ‘कति मान्छे त एक्लोपनमै अभ्यस्त भई सक्छन् । लकडाउनपछि कलाकृति हेर्न जाने, भीडमा जानेजस्ता कुराहरू नै नौलो लाग्न थाल्छ । सामान्य अवस्थामा फर्किएर फेरि कलाकृतितर्फ आकर्षित हुन ठूलै कसरत गर्नुपर्ने हुनसक्छ ।’
आर्ट ग्यालरीको मात्रै होइन, कलाकारको पीडा पनि उस्तै छ । पछिल्लो समय चित्रकार ज्योति प्रकाशले एउटा कलाकृति बनाए । चित्रमा उनले काठमाडौंमा जीवन गुजार्न नसकेर पैदलै गाउँ फर्कंदै गरेका मजदुरलाई विषयवस्तु बनाएका छन् । उनको उक्त चित्रलाई धेरैले मन पराएर सामाजिक सञ्जालमा सेयर पनि गरे । सबैले मन पराएको उक्त चित्रकलाको मूल्य राखेर बिक्री गर्ने अवस्था अहिले नहुँदा आफूजस्तै कलाकारको दैनिक जीवन पनि संकटमा परिरहेको उनी बताउँछन् । ज्योति भन्छन्– ‘नेपाली चित्रकलाका पारखी विदेशी नै हुन् । अहिले विदेशी पर्यटक नेपालमा आउन सक्ने अवस्था छैनन् । यो अवस्था कहिलेसम्म रहन्छ र कहिले कसरी टुङ्गिन्छ भन्ने अन्योल नै छ । यस्तो अवस्थामा कला क्षेत्रका कलाकारको जीवनयापन सामान्य बन्न पनि लामै समय लाग्न सक्छ ।’
अझ नयाँ कलाकारलाई झन् समस्या परिरहेको कलाकार शीर्ष जोशी बताउँछन् । लकडाउन अघि नै प्रदर्शनीका लागि संघर्ष गर्दै आएका जोशीका कलाकृति पनि घरमै थन्किएर बसेका छन् । उनी भन्छन्– ‘अब राम्रो होला कि भनेर आशा गर्ने बेलामा यस्तो भयो । यो समयको हामीले ठूलो मूल्य चुकाउन पर्ने छ ।’
चित्रकार जया शर्मा यो समयले अन्य क्षेत्रमा जस्तै चित्रकारितामा पनि असर गरेको बताउँछिन् । पछिल्लो पटक महिला कलाकारको जीवनको विभिन्न पाटोलाई प्रस्तुत गरिएका चित्रको एकल प्रदर्शनी गरेकी जया पनि छिट्टै आफ्ना अन्य चित्रहरू बिक्रीको लक्ष्यसहित प्रदर्शनी गर्ने योजनामा थिइन् । लकडाउनसँगै टुटेको उनको योजना कहिले पूरा हुने हो थाहा छैन । उनी भन्छिन्– ‘लकडाउन खुलेपछि पनि कति समय कलाप्रदर्शनी गर्ने अवस्था बन्दैन भन्न सकिने अवस्था छैन ।’ तर, यो असहज अवस्थालाई सिर्जनशील बनाएर चित्रकला तयार पार्न सकिने जयाको भनाइ छ । उनी भन्छिन्– ‘हामी त कलाकार हौं, हामीले यस्तै अप्ठ्याराहरूमा सहजता खोज्नुपर्छ र सिर्जना गर्नुपर्छ ।’ यो अप्ठ्यारो परिस्थितिलाई उतार्न सके कालजयी सिर्जना बन्ने उनको दाबी छ ।
त्यसो त यो समयलाई अवसरका रूपमा लिएर कलाकृतिको अनलाइन बिक्री सुरु गर्न थालिएको छ । केही कलाकारहरूले आफ्नो व्यक्तिगत वेबसाइट निर्माण गरेर पनि अनलाइन बिक्री सुरु गरिसकेका छन् । कलाकार ज्योति प्रकाश भन्छन्, ‘अनलाइनमा राख्दा विदेशी कलाप्रेमी माझ पुग्न अझ सहज हुन्छ । जमानाअनुसार ई–ग्यालरी र अनलाइन बिक्रीमै केन्द्रित हुन सके चित्रकला क्षेत्र अझै बिस्तार हुनेछ ।’