ससुरा (फोनमा) : ज्वाइँ साहेब, भोलि तपाईंको सालोको बिहेका लागि केटी हेर्न जानू छ,
आउनुस है !
खडानन्द : तपाईंहरू आफैं हेर्नुस है बुबा...! मैले आफ्नै लागि गरेको निर्णयमा त अहिले आफैंलाई पछुतो भइरा’छ ...!!
खडानन्द मन्दिर गए ।
एक बाबा : बाबू, भगवान्को नाममा केही देऊ ।
खडानन्द : ल लिनुस् बाबा यो १० रुपैयाँ !
(बाबा १० रुपैयाँ लिएर खुसी हुँदै)
बाबा : के माग्छौ ? माग बत्स !
खडानन्द : मलाई केही चाहिंदैन बाबा ...त्यही अघि मैले दिएको १० रुपैयाँ फिर्ता दिनुस न...!!
छोरा : बुबा, म टिभी हेर्दै पढ्छु ल !
खडानन्द : हुन्छ, टिभी हेर्दै पढे भैहाल्छ नि...टिभीको स्विच अनचाहिँ नगर है...!!
खडानन्द घरभित्र छोरीलाई गाली गर्दै थिए ।
खडानन्द : यस्तै गरिस् भने यौटा भिखारी खोजेर तेरो बिहे गर्दिन्छु !
(बाहिरबाट आवाज आयो)
भिखारी : खोज्नै पर्दैन हजुर, म यहीँ बाहिर छु...एकछिन बस्दै गरौं कि जाउँm त हजुर...??
खडानन्द : आजकाल बहुत चोरी हुन थाल्या छ यार †
साथी : के चोरी भो र ?
खडानन्द : धोबीलाई दुइटा पाइन्ट धुन दिएको धोबीकैबाट दुइटै चोरिएछ...!
साथी : अनि तैंलेचाहिं कहाँबाट कतिमा ल्याएको थिइस नि ...?
खडानन्द : त्यही हो..., पहिले चुरियामाई होटलमा बस्या बेला बहिर सुकाएकै ठाउँबाट उठाएर ल्याएको नि...!!
खडानन्द : स्कुलबाट भागेर किन घर आएको यति छिटो ?
छोरा : (मैले लामखुट्टे मारें अनि म्याडमले थप्पड हान्दै निस्केर घर जा भन्नुभो ।
खडानन्द : जाबो लामखुट्टे मार्दा यत्रो सजाय ? कहाँ थियो नि लामखुट्टे ?
छोरा : म्याडमको गालामा...!!
खडानन्द एकाबिहानै चियापसलमा ।
खडानन्द : भाइ, घर लगेर खानका लागि चारवटा समोसा देऊ न !
पसले : कागजमै प्याक गरेर दिउँ हजुर ?
खडानन्द : हैन हौ भाइ, मैले पेनड्राइभ बोकेर आएको छु कि, समोसा नामको फोल्डर बनाएर त्यसैमा हाल्देऊ न...!!
ट्राफिक (जरिवाना पुर्जी निकाल्दै) : ल नाम भन्नुस् तपाईंको !
खडानन्द : गल्ती भो हजुर एकपल्टलाई !
ट्राफिक : नाम भन्नुस् नाम !
खडानन्द : भैगो नि हजुर एकपल्टलाई ।
ट्राफिक : नाम भन्नुस् न !
खडानन्द : ल लेख्नुस्, स्वामी खडानन्दजी महाराज भूपतिकुमार सिंह दयानन्द प्रसाद त्रिभुवनेश्वर काजी ...
ट्राफिक : ल भैगो जानुस् ...यति स्पिडमा गाडी नचलाउनु अबदेखि !
डाक्टर खडानन्दले नयाँ क्लिनिक खोले ।
एक जना मान्छे आइपुग्यो क्लिनिकमा । खडानन्दले आफैंलाई निकै व्यस्त डाक्टरजस्तो देखाउन हत्तपत्त टेलिफोनको रिसिभर उठाए र निकै बेर बात गरेजस्तो गरे । फोन राखिसकेपछि ।
खडानन्द (ग्राहकसँग) : भन्नुस्, के समस्या भयो तपाईंलाई ?
ग्राहक : हैन हजुर, म त नेपाल टेलिकमबाट आएको, तपाईंको फोन लाइन बिग्रिएको छ भनेर बनाउनलाई...!!
छोरा : बुबा, मलाई एक सेट साउन्ड सिस्टम किनेर ल्याइदिनुस् है !
खडानन्द : पर्दैन, सबैलाई डिस्टर्ब गरेर हैरान पार्नलाई ...!
छोरा : हैन नि..सबै सुतिसकेपछि मात्र बजाउँछु नि त...!!
खडानन्द साँझपख पार्कतिर यसो हावा खान निस्क्या थिए । दुई जना युवा–युवती रूखको पछाडि छलिएर गफ गर्दै थिए ।
खडानन्द (छेउमा गएर) : के, यो हाम्रो संस्कार हो त नानी ?
युवती : हैन हजुरबा, उ त शर्मा अंकलको छोरा सालिकराम पो हो त ...!!
खडानन्द टेलरिङ सेन्टरमा एउटी युवती कुर्ता सिलाउन आइन् ।
युवती : दाइ, बाहुलाचाहिँ नेटवाला लगाइदिनु ल ।
खडानन्द : कस्तो नानी ? जीएसएम कि ? थ्री–जी कि फोर–जी वाला नेट ...????
खडानन्द स्कुलमा ।
खडानन्द : ‘रामले हिजो आँप खायो,’ अंग्रेजीमा भन् त बिर्खे !
बिर्खे : सर, तपाईं बहुलाउनुभयो कि क्या हो ?, तपाईंकी कुनचाहिँ फुपूले लुकाएर राख्या आँप ल्याएर रामेलाई दिइन् कि ? के भन्न खोज्नुभा’को सर ? नत्र यो मंसिरमा केको आँप फल्नु र त्यो रामेले खानु सर ...??
खडानन्द सहर घुम्न गए । एउटा पसलमा छिरे ।
खडानन्द : भाइ, यो बाँदरको फोटोको कति पैसा हो ?
पसले चुपचाप ...
खडानन्द : ओ भाइ, कति पैसा हो यो बाँदरको फोटोको ?
पसले फेरि चुपचाप ।
खडानन्द : कानमा ठेडी खाँदेको छ कि क्या हो ?
हैन ए पसले भाइ, यो बाँदरको फोटाको कति पैसा हो ? भनेको !
पसले : त्यो बाँदर हैन दाइ ...ऐना हो ...!!