खडानन्द र डाक्टर
डाक्टर : तपाईंको काम छैन ? किन जहिल्यै बिहान–बिहानै मेरो क्लिनिकमा आएर महिलाहरूलाई घुरेर हेर्नुहुन्छ तपाईं ?
खडानन्द (कपाल कन्याउँदै) । के गर्नु त डाग्डर सा’प ? तपाईंहरूले नै महिलालाई हेर्ने समय बिहान ८ देखि ११ बजेसम्म भन्ने सूचना लेखेर राख्नुभा’को छ भित्तामा ।
०००
बमकाण्डका घाइते खडानन्द र पत्रकार
पत्रकार : के तपाईंको छेउमै बम जोडले विस्फोट भा’को थियो ?
खडानन्द (खुइय गर्दै) : हैन हजुर, बम पर कतैबाट बिस्तारै मेरो छेउ आयो र सर्माउँदै म पड्किन्छु है भन्दै गुडुम्म पड्कियो ।
०००
खडानन्द र साथी
साथी : ससुराली जाँदा किन ज्वाइँको यति धेरै इज्जत गरिन्छ ?
खडानन्द : किनभने हाम्रो मुलुकमा सहिदको इज्जत धेरै गरिन्छ ।
०००
०७२ को ठूलो भूकम्पअगाडिकै कुरो । अर्धपागल खडानन्द धरहराको फेदमा बसेर चिच्याउँदै थिए ।
खडानन्द : म यो धरहरा काँधमा बोकेर गोङ्गबु बसपार्क पुर्याइदिन्छु ।
पत्रकार : कसरी पुर्याउनुहुन्छ ? लु पुर्याउनुस् त ।
खडानन्द : पहिले उठाएर मेरो काँधमा त राख्दिनुस् ।
०००
कक्षामा
शिक्षक : लु भन त, मान्छे र जनावरमा के फरक छ ?
खडानन्द : धेरै फरक छ सर, उल्लुको बच्चा बढेर उल्लु नै हुन्छ, गधाको बच्चा ठूलो भएर गधा नै हुन्छ, कुकुरको छाउरो ठूलो भएपछि कुकुर नै हुन्छ तर मान्छेको बच्चो ठूलो हुँदै गएपछी उल्लु, गधा, कुकुर सबैथोक एकैचोटि बन्छ ।
०००
खडानन्द र प्रेमिका रेस्टुराँको टेबलमा ।
खडानन्द : भन, के मगाउँ ....?
प्रेमिका : मेरा लागि कफी र तिम्रा लागि एम्बुलेन्स
खडानन्द : एम्बुलेन्स ?
प्रेमिका : अँ ....... उ हेर .......तिम्री पत्नी ढोकामा ।
०००
८२ वर्षीय वृद्ध खडानन्द डाक्टरकहाँ गए ।
डाक्टर : म तपाईंलाई यस्तो दबाई दिन्छु नि हजुरबा, तपाईं फेरि जवान देखिनुहुनेछ ।
खडानन्द : भो डाग्डर सा’प, त्यसो नगरम् ..... मेरो खाँदाखाँदैको वृद्धभत्ता पनि रोकिएला फेरि... ।
०००
खडानन्द नेपाली कक्षामा
खडानन्द : त्यहाँ एउटी सुन्दर युवती उभिरहेकी छिन्, यो वाक्यलाई अर्कै तरिकाले भन त ............
बिर्खे : ओए केटा हो, ऊ त्यहाँ हेर त, तिमेर्की भाउजू उभिरहेकी छे .... ।
०००
खडानन्द र भान्जा
भान्जा : के हो मामा, त्यो तपाईंहरूको बजारमा भा’को एउटै एटीएम बुथ पनि आउट अफ सर्भिस रै’छ त । अलिकति पैसा झिक्नु थियो ।
खडानन्द : के गर्नु भान्जा, तिम्रै माइजूले पैसा झिक्न जाँदा इन्टर योर पिन देखेर आफ्नै साडी पिन एटिएममा हालेर फसाइछन् ।
०००
खडानन्द र पत्नी ।
खडानन्द : उफ ........निन्द्रै लागेन ..
पत्नी : जाऊ न त, गएर जुठा भाँडाकुँडा माझ ....
खडानन्द : म निन्द्रामा बोल्दैछु क्या लाटी....... बहुलाईजस्ती .....।
००
कक्षामा
शिक्षक : धरहरा कसले बनायो ?
खडानन्द : मिस्त्रीले सर ।
शिक्षक : मेरो मतलब, बनाउन लगायो कसले ?
खडानन्द : ठेकेदारले सर...........।
०००
खडानन्द श्रीमतीसहित कारमा कतै जाँदै थिए ।
पत्नी : हामी कता जाँदैछौं ?
खडानन्द : लङ ड्राइभमा
पत्नी : पहिले केही भनेनौ त .....?
खडानन्द : कसरी भन्नू ? मलाई त भर्खर थाहा हुँदैछ ......
पत्नी : कसरी ?
खडानन्द : ब्रेकफेल भा’को जस्तो छ, ब्रेकै लाग्दैन अनि .....
०००
भान्छाकोठामा ।
खडानन्द : हे भगवान्, यो कुन सब्जी हो ?
पत्नी : किन सोधेको ?
खडानन्द : स्वर्गमा पनि त सोध्छन् होला नि, के सब्जी खाएर मर्या थिइस् ? भनेर ।
०००
खडानन्द र गाउँकी नानी ।
खडानन्द : यति छोटो स्कर्ट लगाएर हिंड्दा आमाले गाली गर्दिनन् नानी ...?
नानी : आ, अंकल .... मम्मीले गाली त गर्दै हुनुहुन्थ्यो नि.... जहिल्यै मेरो स्कर्ट लगाएर हिंड्छेस् ? भनेर ।
०००
पूजामा घर आएका पाहुनासँग खडानन्द ।
खडानन्द : रसवरी अरू लिनुस हजुर ..
पाहुना : पुग्यो हजुर, पुग्यो । ३–४ वटा अघि नै खाइसकें मैले ........
खडानन्द : खान त तपाईंले १६ वटा खाइसक्नुभो, तर छोड्दिनुस् यो कुरा, जाबो रसवरी कसले गनिबसेको छ र ....??