कलेजमा लेक्चर चलिरहेको थियो, खडानन्द कक्षाबाट उठेर सरासर बाहिर गए ।
लेक्चरर : तपाईंलाई के भयो ? किन बाहिर ....?
खडानन्दको साथी : सर, उसको निद्रामा हिँड्ने बानी छ ।
खडानन्दका अगाडि भगवान् प्रकट भए ।
खडानन्द : प्रभु, हाम्रो १ सय वर्ष हजुरको कति हुन्छ ?
भगवान् : १ सेकेन्डजति हुन्छ भक्त ।
खडानन्द : अनि १ करोड रुपैयाँ ?
भगवान् : एउटा सिक्काजति ।
खडानन्द : त्यसो भए मलाई एउटा सिक्का दिनुहोस् न प्रभु !
भगवान् : एक सेकेन्ड पर्ख भक्त ।
खडानन्द र जीएफ पार्कमा गफ गरिरहेका थिए ।
जीएफ : तिमी कुल छौ खडु ।
खडानन्द : तिमी पनि त हट छौ नि ।
(अलि पर्तिर एक जना बूढा उनीहरूको कुरा सुनिरहेका रै’छन्)
बूढा (छेउमा आएर) : तिमेरु दुवै जना बिहे गर नानीबाबु हो, बच्चाचाहिँ मनतातो जन्मिने रै’छ ।
खडानन्द साह्रै बिरामी परे । पत्नीले उनलाई अस्पताल लिएर गइन् । अस्पातलबाटै भागे खडानन्द ।
(घरमा)
पत्नी : अपरेसन हुनै लाग्दा किन भाग्या खडु ?
खडानन्द : सानो अपरेसन हो, त्यस्तो डराउनु पर्दैन भन्दैथिइन् नर्सले ....
पत्नी : अनि त्यसमा त्यस्तो डराएर भाग्नुपर्ने के थियो त ....?
खडानन्द : मसँग त्यसो भन्या हैन हौ, डाक्टरसँग त्यसो भन्दै थिइन् उनी ।
गृहमन्त्री खडानन्द र पत्रकार ।
पत्रकार : गृहमन्त्रीज्यू, सीमातिर धमाधम गोली चल्दैछ, सीमाको हालत धेरै खराब छ, यस विषयमा के भन्नु छ तपाईंको ?
खडानन्द : यस विषयमा मेरो भनाइ के छ भने एक–दुई हप्ताजति सीमालाई घरतिरै ल्याएर सुरक्षित राख्नुपर्छ ।
खडानन्द पढाउँदै ।
खडानन्द : भन, हाम्रो देशको शासन कसले गर्छ ....?
बिर्खे : विधिले ।
खडानन्द : को हो त्यो विधि भन्ने ....?
बिर्खे : थाहा छैन सर, तर बिहानको टिभी समाचारमा सुनेको, विधिको शासन ।