अभिनेत्री रिमा विश्वकर्मा सोमबारदेखि ३० वर्षमा प्रवेश गरेकी छिन्। सन् १९८९ मा बर्दियाको गुलरियामा जन्मिएकी रिमा ७ कक्षामा अध्ययनरत छँदा टेलिझिजन कार्यक्रम ‘जाँदाजाँदै’बाट सञ्चार क्षेत्रमा आएकी हुन् । कार्यत्रम प्रस्तोता, मोडल, कार्यक्रम सञ्चालिका हुँदै चलचित्र अभिनयमा सक्रिय गरेकी विश्वकर्मा निकै गतिशील छन् । रिमाको जन्मदिनका अवसरमा विभिन्न क्षेत्रका कलाकर्मीले साप्ताहिकमार्फत यसरी शुभकामना दिएका छन् :
रिमालाई सर्वप्रथम त जन्मदिनको धेरै–धेरै शुभकामना । रिमाको इच्छा, क्षमता, आत्मविश्वास अनि बोल्ने कला–शैली देखेर नै मैले कक्षा ७ मा पढ्दापढ्दै पहिलो पटक उनलाई मिडियामा ल्याएको हुँ । त्यति बेला पनि उनको कार्यक्रम धेरै हिट थियो, धेरैले मन पराउँथे । उनी कामप्रति निकै सचेत र जिम्मेवार छिन् । एकपटक कामको जिम्मा लिइसकेपछि त्यो काम पूरा गरेरै छाड्ने उनको स्वभाव छ । आजका दिनमा उनले गरेको यतिका प्रगति देख्दा मलाई आफ्नी छोरीले शिखर चुमेजस्तो महसुस हुन्छ । मलाई गर्व लाग्छ, उनले आफ्नो सँगै मेरो समेत सपना पूरा गरेकी छिन् ।
हेमन्त गौतम, निर्देशक
रिमा भविष्यप्रति सार्है सचेत छिन् । ध्यान दिएर काम गर्ने उनको बानी छ । बच्चैदेखि कार्यक्रम चलाउने हुनाले मैले उनलाई टेलिभिजनहरूमा देखिरहेको हुन्थें, पछि धेरै पटक उनीसँगै स्टेज शोहरू गर्ने मौका मिल्यो । हरेक क्षेत्रमा सुहाउने आइडल जोडीहरू हुन्छन् । नेपाल आइडलको होस्ट गरेपछि धेरैले उनलाई र मलाई कार्यक्रम सञ्चालन गर्न मिल्ने जोडी भन्नुभएको छ । मलाई पनि उनी आफूलाई मिल्ने र सुहाउने उद्घोषक जोडीजस्तो लाग्छ । उनको आउँदो वर्ष अझ हर्षोल्लासपूर्ण होस्, अझै प्रगति गर्दै जाऊन्– धेरै–धेरै शुभकामना ।
सुशील नेपाल, कार्यक्रम सञ्चालक
रिमा र मेरो फ्रेन्डसिपको बोन्डिङ १० वर्ष पुरानो हो । मैले उनलाई सुरुमा स्वर मुभीका क्रममा भेटेकी हुँ । साथीको सम्बन्धको विषयमा एउटा भनाइ छ– साथीभाइसँगको सम्बन्ध निरन्तर ७ वर्षसम्म टिक्यो भने त्यो आजीवन चलिरहन्छ । रिमा आफूसँग नजिक हुनेहरूको केयरिङ गर्ने, सुखदुःखमा साथ दिने खालकी छिन् । साथीभाइलाई आवश्यक परेका बेला जहाँ पनि उपस्थित हुन्छिन् । आफ्नो काममा ध्यान दिने र आफ्नो जिम्मेवारी पूरा गर्ने उनको बानी छ । गत वर्ष रिमाको जन्मदिनमा म यहाँ थिइन् । यसपटक फेरि पनि म हुन्न होला । जे–जस्तो भए पनि रिमालाई जन्मदिनको अग्रिम शुभकामना । आउने वर्ष थपसुखद होस् ।
बेनिशा हमाल, अभिनेत्री
रिमाजीलाई जन्मदिनको अनि कमेडी च्याम्पियनको एकमुस्ट शुभकामना । मैले गीतको सिलसिलामा उहाँसँग काम गर्ने अवसर पाएको छु । मलाई उहाँ धेरै मेहनती र क्षमतावान् लाग्नुहुन्छ । रिमासँग काम गर्ने जसले पनि सहज महसुस गर्छन् । नयाँ कलाकारलाई सिकाउने र काम गर्न सजिलो बनाउने स्वभाव उहाँमा छ ।
अमृत क्षेत्री, गायक