भर्सटाइल कलाकार विपिन कार्की वि.सं. २०३९ मा मोरङको बाहुनीमा जन्मिएका हुन् । कार्कीले आज भदौ ५ गते बहिीबारबाट ३७ वर्षमा प्रवेश गरेका छन्। रगंमञ्च हुँदै नेपाली रजतपटमा पाइला टेकेका विपिन चलचित्रमा फरक–फरक चरित्रमा प्रस्तुत हुन रुचाउँछन् । विपिनका लुट, छड्के, जात्रा, पशुपति प्रसाद, प्रसाद तथा जात्रैजात्रा चलचित्र सफल मानिन्छन् । उनी राष्ट्रिय चलचित्र पुरस्कार, डि–सिने एवार्ड, फिक्सन क्रिटिक एवार्डजस्ता पुरस्कारबाट विभूषित भैसकेका छन् । शान्त र हँसिलो स्वभावका विपिनका सम्बन्धमा उनका साथीभाइ तथा सहकर्मीहरूले साप्ताहिकमार्फत दिएको प्रतिक्रिया :
विपिन मेरो गाउँको भाइ हो । ऊ सानोमा एकदमै छुकछुके तर रमाइलो स्वभावको थियो । हामी एउटै स्कुलमा पढेको र वल्लो–पल्लो घर भएको हिसाबले पनि म उसलाई राम्रोसँग चिन्छु । उसको दाइ अर्जुन कार्की मेरो दौंतरी भएकाले सानोमा गाउँमा ऊसँग भन्दा अर्जुनसँग मेरो बढी संगत हुन्थ्यो, तर सहर आएपछि विपिन र मेरो संगत हुन थाल्यो । मेरो संगतले बिस्तारै उसको हिमचिम गुरुकुलमा बढ्दै गएपछि सुनिल पोखरेलले मन पराएर नाटकमा सानोतिनो रोल गर्न सुरु गर्यो । सामान्य गफगाफ र भेटघाटमै पनि धेरै कुरा सिक्ने क्षमता भएर होला, आज ऊ नाटक र चलचित्र जताततै सफल छ । मलाई विपिन आलुजस्तो लाग्छ, जोसँग पनि मिल्न सक्ने स्वभावको । मानिसहरू सफलताले मात्तिन्छन् तर विपिन दुःखमा नआत्तिने र सुखमा नमात्तिने स्वभावको छ । उसको आउँदो
वर्ष अझ राम्रो होस्, मेरो प्यारो गाउँले भाइलाई जन्मदिनको
अनगिन्ती शुमकामना ।
कमलमणि नेपाल, हास्यकलाकार
विपिन दाइ असाध्यै सरल हुनुहुन्छ । उहाँको कम बोल्ने बानी छ । उहाँसँग काम गर्न जो–कोहीलाई पनि रमाइलो लाग्छ । आइडियाहरू सेयर गरेर काम गर्न सजिलो बनाउनुहुन्छ । दाइबाट स–साना कुरा पनि सिक्न पाइन्छ । उहाँ काममा प्रशस्त लगाव राख्ने कलाकार हो । उहाँ भेट्ने जति सबैलाई प्रभावित पार्न सक्नुहुन्छ ।
सुरक्षा पन्त, अभिनेत्री
पशुपति प्रसादमा सँगै काम गरेपछि मैले विपिनलाई राम्रोसँग चिनेको हुँ । धेरै मानिसले उसलाई भष्मे डनका रूपमा पनि चिन्छन् । चलचित्रको एउटा क्यारेक्टरले नै कुनै कलाकार चिनिँदा धेरै खुसी लाग्छ । मलाई ऊ एकदमै भर्सटाइल लाग्छ । कामको विषयमा उसलाई केही भन्नै पर्दैन । ऊ धेरै कुरा आफैं बुझेर गर्छ । सेटमा पनि आफ्नो काम भन्दा अन्त ध्यान नदिने उसको बानी मलाई
प्रिय लाग्छ ।
दीपेन्द्र के खनाल, निर्देशक
हामीले पहिलो पटक चलचित्र लुटमा सँगै काम गरेका थियौं । लुटमा विपिन सानो भूमिकामा थियो । मैले त्यो बेला नै विपिन नेपाली चलचित्र उद्योगमा सबैको हाईहाई हुन्छ भनेर कल्पना गरिसकेको थिएँ । उसले लेखक तथा निर्देशकको कन्सेप्टअनुसार काम त गर्छ नै, अझ त्यसलाई रोचक बनाउन आफ्नो तरिकाबाट विभिन्न कुरा थप्ने कामसमेत गर्छ, यो विपिनको विशेष गुण हो । उसले अझै धेरै चरित्रमा काम गर्नै बाँकी छ । समयअनुसार प्रगतिको शुभकामना विपिनलाई ।
निश्चल बस्नेत, कलाकार/निर्देशक