सामाजिक शिक्षा व्यवहारिक एवं सजिलो विषय हो । सामाजिक घटनाक्रम, परिवेश, मानव जीवनका दैनिक घटना, समुदायमा भएका क्रियाकलाप जस्ता विषय यसभित्र समेटिएका छन् । सामाजिक तथा राजनीतिक इतिहास, भूगोग, सामाजिक विकृति, आर्थिक क्रियाकलाप, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्र संघ आदि विषय पनि यसमा अटाएका छन् । त्यसबाहेक संघीयता, विश्वको भुगोल तथा इतिहास, वैदेशिक रोजगारी, स्वदेश तथा विदेशका चर्चित व्यक्ति एवं राजनीतिक दलहरू पनि यो विषयमा समेटिएका छन् । त्यसैले यो विषय पर्याप्त जानकारीमूलक र उपयोगी छ । यद्यपि, एसएलसी परीक्षामा यो विषयको प्रश्नपत्र अलिक घुमाउरो र जटिल तरिकाले सोध्ने परम्पराले विद्यार्थीलाई केही समस्यामा पार्छ । त्यसैले विद्यालयमा पढाइ हुने पुस्तकबाहेक अतिरिक्त पुस्तकहरू अध्ययन गर्ने बानी बसाल्नुपर्छ ।
विद्यार्थीहरूले विद्यालयमा चाहिं विशेष ध्यान दिएर पढ्नुपर्छ, किनभने शिक्षकहरूले पाठ्यवस्तु बाहिरका जानकारी पनि दिइरहेका हुन्छन् । घरमै पढ्दा पनि पुस्तकमा भएका पाठ्यवस्तुबाहेक सन्दर्भ सामग्री प्रयोग गर्नु उपयुक्त हुन्छ, जसले गर्दा परीक्षामा उत्तर लेख्न सजिलो हुन्छ । एकसय पूर्णांकको यो विषयमा प्रयोगात्मक परीक्षा त हुँदैन तर विद्यार्थीले दैनिक घटनाक्रम, जीवनभोगाइ, सामाजिक परिवेशबाट धेरै जानकारी हासिल गरिरहेका हुनाले परीक्षामा राम्रो अंक प्राप्त हुन सकिन्छ । परीक्षामा विशेषत नेपालको संविधान, वर्तमान राजनीतिक घटनाक्रम, भूगोल, संघीयता, इतिहास, अन्तराष्ट्रिय सम्बन्ध साथै पर्यटन आदिबाट यो वर्ष प्रश्न आउन सक्ने सम्भावना छ । त्यसैले यसतर्फ अलिक बढी ध्यान दिनुपर्छ ।
सामाजिक विषयमा लोकसेवा परीक्षामा सोधिनेजस्ता प्रश्न सोध्ने परिपाटी रहँदै आएकाले एसएलसीका परीक्षार्थीहरूले समस्या भोगिरहेका छन् । तैपनि यो विषयको राम्रो तयारी गरे फेल नै हुने सम्भावना न्यून हुन्छ । विद्यालयमा शिक्षकले पढाएका विषयलाई राम्रोसँग नोट गरेको भए अहिले सामान्य पढ्दा पुग्छ । यो विषयको प्रश्नपत्र तीन किसिमले सोधिन्छ, जस्तो: अति संक्षिप्त उत्तर, संक्षिप्त र लामो उत्तर ।
त्यसमध्ये विद्यार्थीले जुनसुकै विषयको प्रतिवेदन तयार गर्न सक्ने हुनु अत्यन्तै जरुरी छ । प्रथम र दोस्रो विश्व युद्ध साथै विश्वको नक्सामा नेपालको चित्र भर्ने किसिमका प्रश्नमा राम्रो तयारी गर्नुपर्छ । समय रेखा खिच्ने, चक्रचित्र स्तम्भ, चित्र बनाउने प्रश्नहरूको पनि उत्तिकै ध्यानपूर्वक तयारी गर्नुपर्छ ।
प्रश्नको उत्तर लेख्दा प्रश्नको अंकअनुसार समयको ख्याल गर्नुपर्छ । यसमा मौलिकता पनि उत्तिकै आवश्यक छ । तथ्यलाई ध्यानमा राखेर मौलिक उत्तर लेख्ने बानीको विकास गर्नुपर्छ । अन्य विषयको तुलनामा राम्रो अंक ल्याउन कठिन हुने भएकाले विशेष सचेत रहनुपर्छ । पुस्तकका नौवटा च्याप्टरमा रहेका विषयवस्तुसँग सम्बन्धित बाहिरी सामग्रीहरू पनि खोजेर पढ्नुपर्छ । उत्तर लेख्दा भाषाशैली मीठो हुनुपर्छ र अक्षर सफा बनाउनु आवश्यक छ । बुँदागत वा व्याख्या गर्नुपर्ने उत्तर राम्रोसँग बुझेर लेख्नुपर्छ ।
परीक्षा आउनै लागेकाले पूर्वतयारी गरिरहेको भए यतिबेला सामान्य समय दिए यो विषयमा अनुत्तीर्ण हुनु पर्दैन । कक्षामा बनाएको नोट र पाठ्यपुस्तकबाट सरसर्ती तयारी गरे एसएलसीमा सामाजिक शिक्षा मजाले उत्तीर्ण गर्न सकिन्छ । त्यसबाहेक पत्रपत्रिका, इन्टरनेटजस्ता अतिरिक्त सन्दर्भ सामग्रीहरू प्रयोग गर्नु आवश्यक हुन्छ ।
प्रस्तुति : युवराज गौतम