
राजु बेलायत गयो । भिसा बनाउन थुप्रो पैसा तिरेछ दलाललाई । तैपनि गयो । ऊ पनि खुसी थियो, उसका परिवार पनि । सबै खुसी थिए तर विनोद भने दु:खी थियो । एउटै सालमा जन्मेको, एउटै थालमा खाएको, एउटै आँगनमा खेलेको, हाँस्दै खेल्दै हुर्केको साथीले छोडेर गयो । धनका लागि । उसको हाँसो नै हरायो । त्यो दिनदेखि उसले हाँस्नै छाड्यो । सबैले सामान्य रूपमा लिए तर विनोदलाई भने साथित्वले धेरै समयसम्म रुवाइरह्यो ।
राजुको फेसबुकमा राम्रा–राम्रा फोटा देख्दा विनोदलाई खुसी लाग्थ्यो । साथीको रमाइलो जीवन देखेर ऊ खुसी हुन्थ्यो । धेरै वर्ष बस्यो ऊ बेलायत । उसले त लगभग सबैथोक बिर्सिसकेको थियो । साथीभाई सबै पराय भैसकेका थिए । हुँदाहुँदै धेरै समय बिते । विनोद पनि उसको सम्पर्कमा थिएन । धन सम्पत्ति राम्रै कमायो । बेलायत युरोपबाट बाहिर निस्कने हल्ला चलेपछि ऊ नेपाल फर्कने निर्णय गो ।
त्यसपछि मात्र राजुलाई साथीभाइको याद आयो । गाउँको चौतारीको माया लाग्न थाल्यो । माटो गन्धले मुटुमा गाँठो बसेजस्तो भयो । ऊ फर्कियो । काठमाडौंमा ठूलो घरको आडैमा एउटा सानो घर किन्यो । महँगीले गर्दा उसले कमाएको पैसा बालुवामा हालेको पानीजस्तो भैरहेको थियो ।
राजु नेपाल आएपछि विनोदलाई खोज्न थाल्यो तर उसको कुनै अत्तोपत्तो भएन । गाउँलेहरूलाई सोध्दा सहरमा छ भन्थे । उसलाई विनोदको खुब याद आयो तर सम्पर्क हुन सकेन । राजुका केही महिना काठमाडौंमा त्यसै बिते । बाल्यकाल नेपालमा बिते पनि युवा अवस्था बेलायतले खाइसकेको थियो ।
एक दिन आडैको त्यो ठूलो घरको बरन्डामा राजुले झलक्क कोही देख्यो । राजुलाई चिनेजस्तो लाग्यो । कता–कता देखेजस्तो लाग्यो । ठम्याउन भने सकेन । भोलिपल्ट घरअगाडि एउटा कालो मर्सिडिज कार आएर रोकियो । त्यो अघिल्लो दिन देखेको मान्छे घरबाट सरासर बाहिर निस्कियो । परिवारलाई हात हल्लायो र ड्राइभरले खोलिदिएको कारको ढोका भित्र छिर्यो । यसपटक भने राजुले उसलाई राम्ररी देख्यो र चिन्यो पनि ।
ऊ त्यही एउटै आँगनमा गुच्चा खेल्ने साथी विनोद थियो, तर विनोदलाई देखेर राजु खुसी हुन सकेन । उसको अनुहारमा चिटचिट पसिना बग्यो । उसको हाँसै हरायो । त्यो दिनदेखि ऊ हाँस्नै सकेन । परदेसिएकोमा पश्चाताप लाग्यो उसलाई । आफंैलाई धिक्कार्याे । उसलाई विनोदको अगाडि देखा पर्न लाज लाग्यो । फेरि सधैंका लागि नेपाल छाडेर बेलायत फर्किने निर्णय गर्यो ।
एयरपोर्टमा परदेसिनेहरूको भीड थियो । मान्छेहरू प्लेनको अगाडि आएर रोकिएका थिए । विशिष्ट तहका केही नेपाली अधिकारी बेलायत जाने भनेर रातो पासपोर्ट लिएर जहाजतर्फ अघि बढिरहेका थिए । सबैभन्दा अगाडि थियो त्यही विनोद । राजुको गुच्चा खेल्ने साथी । हिजो एउटै आँगन थियो भने आज एउटै जहाज थियो । फरक मात्र थियो त विनोद अगाडि बिजनेस क्लासमा विशिष्ट व्यक्तिहरूको हूलमा थियो, राजु पछाडि एयर होस्टेजले दिएको एक गिलास पानी सकी–नसकी पिउँदै थियो ।