भनुँ त, सयौं मधुमासहरू आएर
रित्तै डोली फर्किगएका छन्
जिन्दगीबाट ।
के अर्थ र ? तिमीबिनाको रित्तो डोलीको ।
भनुँ त, बर्सेनि अतिवृष्टि हुँदा
पग्लिँदै गईरहेको छ
चट्टानजस्तो घरमाथिको दमाहा ढुङ्गा
के लाग्छ मन नपग्लिएपछी,
तर, बगेको छ भयंकर पहिरो छातीबाट ।
भनुँ त, घरको भित्तामा
गौंथली आफैंले बनाएको गुँड छोडेर
उडेकी छे सधैँका लागि ।
त्यसै शून्य–शून्य भएको छ मन ।
भनूँ त, आँखामा ओत लागेका सपनाहरू थिए केही
ती पनि बगाएर लगिदिएको छ
मनताता आँसुहरूले ।
र, नभनूँ त प्रिय
भन्नैपर्ने एउटा समाचार छ तिमीसँग ।
समाचार यसप्रकार छ ।
तिमी भेटिएकी थियौ
कुनै होटलको ‘टि–टेवल’ मा
तिमी मुस्कुराएकी थियौ
बसेर हरियो दूबोको गलैंचामाथि
र, पाउजु लगाएका खुट्टा हल्लाउँदै
तिमी बोलिरहेकी थियौ
अरू कसैसँग ।
त्यही बेला हो
आँखाको लेन्स मिलाएर
तिम्रो फोटो खिचेको मैले
जसका बारेमा थाहै छैन तिमीलाई
प्रिय, तिमी आफैंले थाहा नपाएको
एउटा सुन्दर तस्बिर छ मसँग ।
खै, कसरी काट्छु दिन कट्छ
तर, रातभर वैशाखी टेक्छ तिम्रो तस्बिरले
र, हिंडिरहन्छ आँखाको वारपार ।
तिमीसमक्ष पुग्नुपर्ने समाचार त
खासमा यही हो प्रिय
तर, हराएको छ जबदेखी हुलाकी
म आफै बोकि हिँडिरहेछु
तिम्रो समाचार ।