रङ्गमञ्चमा अभिनयको आधार बलियो बनाएर सिनेमामा प्रवेश गरेका अभिनेता नाजिर हुसेन दर्शकबीच चाँडै ‘नोटिस्ड’ भए, प्रिय भए । म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइन्छन् । अधिकांश सिनेमा र म्युजिक भिडियोले उनको चकलेटी छवि निर्माण गरेको छ, तर उनी लाग्छन् ‘सिरियस’ । झण्डै उनी अभिनित ‘गाँठो’को पात्रजस्तै ।
यही ‘सेल्फ क्वारेन्टाइन’ समयलाई नै नियालौं न, उनी चित्र कोरिरहेका छन्, कविता कोरिरहेका छन् । किताब पढ्न र सिनेमा हेर्न पनि उत्तिकै समय दिइरहेका छन् । आफैंले लेखेको दुई नाटकको ‘स्टेज क्राफ्ट’ गर्न समय पाइरहेका छन् ।
उनको दैनिक सुरु हुन्छ बिहान योगबाट । ‘मेडिटेसन म्युजिक’ सुन्दै योगा गर्दा ‘लक डाउन’को समय लम्बिए पनि मानसिक रूपमा चुस्त–दुरुस्त रहन सघाउ पुग्छ भन्ने उनलाई लाग्छ ।
एक्लै बस्न उनी अभ्यस्त नै छन् उनी । अघिपछि पनि काममा व्यस्त नहुँदा एक्लै रमाउन सिकेका थिए, त्यो बानी अहिले कामलाग्दो प्रमाणित भएको छ । बिहान मास्क र ग्लभ्स लगाएर तरकारी किन्न निस्कन्छन्, आएर खाना पकाउँछन्, खान्छन् अनि समयलाई सकेसम्म सिर्जनशील र उत्पादक बनाउन केन्द्रित हुन्छन् ।
बिहिबारबाट बिएस राईको कथा संग्रह ‘हिउँमाझी’ पढ्न थालेका छन् । यसअघि राबतको ‘राजधानीमास्तिको राजधानी’ र उपेन्द्र सुब्बाको ‘खोलाको गीत’ कविता संग्रह पढे ।
रुमीका प्रेम कविता उनलाई खुबै मन पर्छ । खलिल जिब्रानको ‘द प्रोफेट’ उनी दोहोर्याइरहन्छन् । यसबीचमा नूर उन्नाहरको कविता ‘यस्टर्डे आइ वाज द मून’ पढि भ्याए । नाटकका थाती रहेका किताब पनि पल्टाइरहेका छन् । ‘सोन्या टेलरको ‘बडी इज नट अ अपोलोजी’ भन्ने किताब पनि उनले यहीबेला सके । त्यसो त, उनलाई दुई सिनेमा स्क्रिप्ट आइपुगेको छ, त्यो पढ्न पनि समय दिइरहेका छन् ।
काममा व्यस्त हुँदा समय दिन नभएको साथीहरूसँग फेसबुकमा संवाद गर्दैछन् उनी । इन्स्टाग्राम र फेसबुकमा ‘अपडेट’ हुन्छन्, त्यहाँ पब्लिक फिगरको रूपमा अहिलेको सन्दर्भमा दिनुपर्ने सन्देश पनि दिइरहेका हुन्छन् । समाचार साइट भिजिट गरेर ‘अपडेट’ पनि भइरहेका हुन्छन् ।
नेटफ्लिक्समा फिल्म हेरिरहेका हुन्छन् । पछिल्लो समयमा क्राइम फिक्सन ‘यू’ हेरे । त्यस्तै हरर फिक्सन सिरिज ‘सब्रिना’ पनि हेरिरहेका हुन्छन् । यो उनको ‘फेबरेट सिरिज’ पनि हो । नृत्यमा विशेष रूचि छ उनको, त्यसैले सिनेमा ‘ये ब्यालेट’ यही बेला हेरे । यसका कलाकार जिम सार्भ उनलाई मन पर्ने अभिनेता हुन् । युट्युबमा आएका पुराना नेपाली फिल्म पनि उनको प्राथमिकतामा परेको छ । त्यसमा मह जोडीको ‘सर्ट भिडियो’हरू पनि हेरिरहेका छन् । हिजो राति शाहरुख खानको पुरानो सिनेमा ‘अशोका’ पनि हेरे ।
त्यसो त उनलाई चित्रकलामा पनि उत्तिकै रूचि छ । अहिले फ्लोरेन्स कार्कीबाट उपहारमा पाएको ‘सेक्रेट गार्डेन’ पेन्टिङ बुकमा रङ भरिरहेका छन् । यस्ता चित्रहरूमा मीठा शब्दसहित आफ्नो साथीको जन्मदिनमा उपहार दिन मन पराउँछन् उनी ।
उनी युकुलेले बजाउँछन्, त्यसमा कविताहरूको ट्युनिङ निकालिरहेका हुन्छन् । अनि, कविता त उनी लेख्छन् नै । ‘लक डाउन’ सुरु भएपछि उनले तीन कविता लेखिसके । त्यसैमध्येको एक कविता यहाँ प्रस्तुत छ । जसमा उनले घरभित्रै बस्नका लागि ‘लक डाउन’ गरिएको समयमा घर नै नभएकाहरूको मनोविज्ञानलाई उतारेका छन् ।
प्रश्नोत्तर
मलाई कसैले प्रश्न गर्दै हुनुहुन्थ्यो
कृपया, तपाईंको पूरा नाम भनि दिनुस् न !
मोहमद नाजिर हुसेन ।
मैले सुनेको तपाईं ‘इन्टरकास्ट’ है ?
हो नि
तर, मलाई ‘इन्टर कल्चर’ भन्न मन पर्छ,
मैले मेरो आमा–बुवाबाट फरक संस्कार सिकेँ न कि जात ।
तपाईंको घर कता हो रे ?
मेरो घर कता हो भन्दा पनि
मेरो लागि घर के हो भन्ने कुराले महत्व राख्छ ।
हस्, तपाईंको लागि घर के हो भनिदिनुस् न त ?
घर !
म साथीहरु सँग बसेर
तातो चिया खाँदै घन्टौसम्म हाँसिरहँदा
उनीहरूको सामिप्यता घर हो जस्तो लाग्छ,
म आँखा बन्द गरेर
मेरो कोठाका सबै कुनाहरू ठम्याउन सक्दा,
त्यो मलाई घर हो जस्तो लाग्छ ।
कुनै समय आमाको न्यानो काख
अनि उनको पछ्यौरा घर हो जस्तो लाग्थ्यो
के घर हुनलाई छाना नै चाहिन्छ र ?
म सुरक्षित छु जस्तो लागेका
सबै ठाउँहरू घर हो मेरो लागि
सायद, त्यो तपाईंको लागि नहुन सक्छ
आजको लागि यत्ती है
धन्यवाद !
कविताको भिडियो अंश