अभिनेताका रूपमा इरफानको सबैभन्दा ठूलो गुण के थियो भने उनले आफ्नो सबै कार्डहरू एकैपल्ट खुलासा गर्दैनथे, आफ्नो पूरा प्रस्तुतिको स्वाद थोरथोरै गर्दै चखाउँथे ।
दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका विश्वप्रसिद्ध भारतीय अभिनेता इरफान खानको बुुधबार बिहान ५३ वर्षको उमेरमा निधन भयो । मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका उनको बुधबार बिहान निधनको खबर आएपछि उनका शुभचिन्तकमा शोक छाएको छ ।
उनको अभिनयका प्रशंसकहरू सामाजिक सञ्जालका भित्तामा भावुक हुँदै लेखिरहेका छन्, ‘बरु कोरोनासँग लडिरहँदा रोएको थिइनँ तर इरफानको निधन सुनेर धेरै रोएँ ।’
दु:खको कुरा, इरफान बित्नुु चार दिनअघि मात्रै उनकी आमा साइदा बेगमको निधन भएको थियो । लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा समेत सहभागी हुन पाएनन् ।
इरफानको निधनपछि बुधबार रंगकर्मी सुनिल पोखरेलसँग सम्पर्क गर्दा उनको ‘मुड अफ’ थियो । सन् १९८४ देखि १९८७ सम्म भारतको नेसनल स्कुल अफ ड्रामाका क्लासमेट थिए सुनिल र इरफान । उनीहरू निकै मिल्ने साथी थिए । होस्टेलबाट सधैं राति चिया पिउन बाहिर निस्किन्थे । त्यहाँ रहँदा उनीहरूले नाटकमा सँगै काम पनि गरे ।
तर, उनलाई ती पुराना दिन सम्झन गाह्रो भइरहेको थियो । ‘दिमागमा सबै चिजहरू गढमढ छ यतिखेर । केही बोल्न सकिरहेको छैन । प्लिज आज कुरा नगरौँ न,’ उनी भन्दै थिए ।
सन् २००८ मा सुनिलकै निम्तामा इरफान नेपाल आएका थिए, इन्टरनेसनल फिल्म फेस्टिभलको अतिथि बनेर । फेरि एकपल्ट छोराहरूसहित नेपाल आउने बाचासमेत गरेका थिए, तर त्यो बाचा अब पूरा नहुने भयो ।
पत्नीसहित मुम्बई जाँदा सुनिल पनि इरफानकै घरमा बसेका थिए, करिब ५–६ दिन । त्यतिबेला इरफानले दिएका फिल्म सिडीहरू अझै सुनिलका घरमै छन्, कति त हेर्न नै बाँकी छन् ।
‘निकै इमान्दार र रमाइलो मान्छे थियो इरफान । हामीले सँगै राम्रा नाटकहरू खेल्यौ,’ इरफानको सम्झनामा सुनिलले भने, ‘मलाई एकदमै मनपर्ने अभिनेता हो । मलाई उनका प्राय: फिल्महरू मन पर्छन् । पछिल्लोपल्ट हेरेको पान सिंह तोमर हो । हामीसँगै पढ्दादेखि नै ऊ नाटक होइन, मुम्बई गएर फिल्म नै गर्छु भन्नेमा प्रष्ट थियो । त्यसमा सफल पनि भयो । तर, आज बित्यो भनेर पत्याउन निकै गाह्रो भइरहेको छ ।’
०००
इरफानको निधनमा भारतका चर्चित सेलिब्रेटीदेखि राजनीतिज्ञसम्मले श्रद्धान्जली प्रकट गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरफानको निधन विश्वकै सिनेमा र थिएटरका लागि ठूूलो क्षति भएको लेखेका छन् ।
इरफान बलिउड र हलिउड दुवैतिर सफल अभिनेता मानिन्छन् । सन् २०१८ को मार्चमा इरफानले आफूलाई न्युरोएन्डोक्राइन ट्युमर भएको सार्वजनिक गरेका थिए । यहीबीचमा उपचारपछि उनले ‘अंग्रेजी मिडियम’ फिल्ममा अभिनयसमेत गरे, जुुन उनको अन्तिम फिल्म बन्यो । मार्चमा रिलिज भएको यो फिल्म कोरोना महामारीका कारण हलमा खासै चल्न पाएन ।
विश्वका दर्शकमाझ इरफान ‘स्लमडग मिलेनियर’को प्रहरी इन्स्पेक्टरमा रूपमा परिचित छन् । बलिउडमा त उनले अभिनयमा छाप छाडेका फिल्महरूको संख्या अनगिन्ति छन् ।
सन् १९६६ मा भारतको जयपुरमा जन्मिएका इरफानका पिता गाउँमा टायर बेच्थे । बाल्यकालमा भने इरफानमा अभिनयको मोह थिएन । उनी खासमा क्रिकेटर बन्न चाहन्थे । तर, यसमा असफल भएपछि जयपुरबाट एमए गरेर उनले भारतको नेसनल स्कुल अफ ड्रामाको यात्रा तय गरेका थिए ।
उनको फिल्म यात्राको सुरुवात सन् १९८८ मा मिरा नायरको फिल्म ‘सलाम बम्बे’बाट भएको थियो, जहाँ उनले चिठ्ठी लेखकको छोटो भूमिका निर्वाह गरेका थिए । फिल्ममा प्रमुख भूमिका पाउन उनले निकै संघर्ष गरे ।
करिअरको सुरुवातमा टेलिभिजनका स–साना काम गर्दागर्दा उनी निराश भइसकेका थिए । ‘म इन्डस्ट्रीमा कथाहरू भन्नका लागि आएको थिएँ, सिनेमा गर्नका लागि आएको थिएँ तर टेलिभिजनमा ‘स्टक’ भएँ,’ सन् २०१३ मा दि गार्जियनसँगको अन्तर्वार्तामा उनले भनेका थिए ।
बेलायती फिल्ममेकर असिफ कपाडियाले आफ्ना फिल्म लगातार असफल भएपछि नयाँ फिल्म ‘दि वारियर’मा इरफानलाई लिड रोल अफर गरेका थिए । यो फिल्मले बेस्ट ब्रिटिस फिल्मका रूपमा बाफ्टा एवार्डसमेत पायो । र, इरफानलाई विश्वमाझ चिनाउने अवसर पनि ।
इरफानले भारतका मुूलधारका सिनेमाको मान्यतालाई तोड्दै थुप्रै फिल्ममा लिड रोल गरे । कतै प्रहरी बनेर त कतै भिलेन । मुुम्बई अन्डरवल्र्डको कथा बुुनिएको ‘मकबुल’मा शीर्ष भूमिका नै उनको थियो । त्यसपछि ‘रोग’, ‘लाइफ इन अ मेट्रो’ आदि फिल्मबाट उनले तारिफ बटुुल्दै गए ।
इरफानले बलिउडसँगै बेलायती–अमेरिकी सिनेमामा पनि आफ्नो करिअर एकसाथ अघि बढाए । विन्टरबटमको ‘अ माइटी हार्ट’मा प्रहरी प्रमुखको भूमिकादेखि प्रहरीकै भूमिकामा ‘स्लमडग मिलेनियर’मा पनि काम गरे । ‘स्लमडग मिलेनियर’ले त अस्करमा आठ विधामा एवार्डसमेत पायो ।
त्यसपछि हलिउडका बिग बजेट फिल्ममा समेत उनले उपस्थिति जनाए । चाहे त्यो ‘दि अमेजिङ स्पाइडर म्यान’मा डाक्टरको भूमिकामा होस् या जुरासिक वल्र्ड र इन्फर्नोमा बिजनेसम्यानको भूमिकामा ।
सन् २०१२ मा उनले आङ ली निर्देशित ‘लाइफ अफ पाइ’मा समेत लिड रोलमा काम गरे । फिल्मले अस्करमा समेत बाजी मार्यो ।
त्यस्तै भारतमा उनले बाजी मारेका सिनेमाको सूची लामै छ । पतिसँग असन्तुुष्ट गृहिणीसँगको चिठ्ठी रोमान्समा उनले अकाउन्टेन्टको भूमिकामा काम गरेको ‘दि लन्चबक्स’ व्यापार र समीक्षात्मक दुवै हिसाबले सफल भयो । अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेर अभिनय गरेको फिल्म ‘पिकुु’ होस् वा छोरीलाई राम्रो स्कुलमा पढाउन चाहने धनाढ्य व्यापारीका रूपमा ‘अंग्रेजी मिडियम’मा होस्, उनलै सधैं आफूलाई अब्बल अभिनेता प्रमाणित गरे ।
आफ्नो अभिनय करिअरमा इरफानले थुप्रै एवार्ड पाए । सन् २०११ मा भारत सरकारले दिएको पद्मा श्री एवार्ड उनका लागि विशेष थियो । बायोग्राफिकल फिल्म ‘पानसिंह तोमर’बाट उनले उत्कृष्ट अभिनेताका रूपमा नेसनल अवार्ड नै पाए । ‘हासिल’, ‘मकबुल’, ‘लाइफ इन अ मेट्रो’, ‘हेदर’, ‘पिकुु’, ‘तल्भार’ आदि फिल्ममा गरेको जीवन्त अभियनबाट पनि उनी थुप्रैपल्ट पुरस्कृत भए ।
एनएसडीमै पढेका अभिनेता अनुप बराल आफूभन्दा सिनियर ब्याचका विद्यार्थी इरफानको सम्झनामा लेख्छन्, ‘एउटा थेसपियन एक्टरको महाप्रस्थान । तिम्रा मन छुने ‘स्पोन्टेनियस’ अभिनयको जादु हाम्रो मनमा सदैव रहनेछ । तिमी मेरा लागि एक सिनियर मात्रै होइन, मैले विश्वास गर्ने अभिनय पद्धतिको पायोनियर पनि हौ । अलिविदा माइ डियर एक्टर । ’
पछिल्लो समय क्यान्सरसँग लडिरहँदा इरफानले अन्तरवार्तामा पत्नी सुतापाप्रति कृतज्ञ हुँदै पत्नीका लागि भए पनि बाँच्न चाहने बताएका थिए । उनका दुुई छोरा छन्, बबिल र आयन ।
०००
भनिन्छ, इरफानका उत्कृष्ट फिल्महरूमा उनले निर्वाह गर्ने चरित्र कस्तो हो, कसैले पनि सहजै बुुझ्न सक्दैनथ्यो । इरफानजस्तो एक्टरलाई कसैले पनि सहजै टाइपकास्ट गर्न नसक्ने टिप्पणी पनि उत्तिकै हुन्थ्यो । आफूले फिल्ममा नेगेटिभ क्यारेक्टर निर्वाह गरिरहँदा इरफान सधैँ भन्थे, ‘फिल्ममा मलाई त्यस्तो देखेर कहिल्यै घृणा नगर्नुस् । बरु त्यो पात्र त्यस्तो हुन पुुग्नुको पछाडिको परिस्थिति, सीमा र कारणहरू के रहेछ, बुझ्ने प्रयत्न गर्नुस् ।’
इरफान खानमाथि पुस्तक लेखेका भारतीय लेखक असिम छाबराले उनको अद्भुत अभिनय क्षमताबारे प्रशंसा गर्दै भनेका छन्, ‘अभिनेताका रूपमा इरफानको सबैभन्दा ठूलो गुण के थियो भने उनले आफ्नो सबै कार्डहरू एकैपल्ट खुलासा गर्दैनथे, आफ्नो पूरा प्रस्तुतिको स्वाद थोरथोरै गर्दै चखाउँथे । इरफानको क्यारेक्टरलाई लिएर आजसम्म हामीकहाँ त्यस्तो कुनै रेडिमेड आइडिया सार्वजनिक भएको छैन । तर, उनको शारीरिक हाउभाउ, रूप, आसन र उसले लिने हरेक श्वासले हाम्रै आँखाअघि चरित्र निर्माण गरिरहेको हुन्छ । त्यसपछि जब उनी केही बोल्न सुरु गर्छन्, त्यसपछि तपाईंले उनको अभिनयको लय महसुुस गर्न थाल्नुहुन्छ । एक्टरका रूपमा यही नै इरफानको सुन्दरता थियो । उनको अभिनयमा निश्चित सुमधुरता गुन्जिन्थ्यो ।’
इरफान आफूलाई दिइने स्टार वा एक्टर कुनै पनि ट्याग वा सम्बोधनमा विश्वास राख्दैन थिए । सधैं भन्थे, ‘मलाई लाग्दैन कि मिडियाले एक्टरलाई यस्तो ट्याग दिइरहन अनिवार्य छ । कहिलेकाहीँ, तिनीहरूले केवल मान्छेहरूका लागि शब्दावली र ह्यासट्यागमात्रै सिर्जना गरिदिन्छन् । तर, यसले मलाई फरक पार्दैन । यदि मलाई मान्छेहरूले मेरो आफ्नै नामले बोलाएनन् भने पनि मलाई ठिकै छ । म आफ्नै नामसँग पनि खासै गाँसिएको छैन । यदि त्यसले कुनै फरक पार्दैन भने, मान्छेहरूले मलाई स्टारका रूपमा देखुुन् वा एक्टर, त्यसको के अर्थ ।’
एकपल्ट उनले दि गर्जियनसँगको अन्तरवार्तामा भनेका थिए, ‘मभित्र स्टारडमले दिने सुुविधाहरूको मोह हराइसकेको छ । त्यसैले म एक दिन यो प्रसिद्धिबिना मेरो जीवनको आनन्द लिन चाहन्छु ।’
सायद उनको जीवनमा त्यो आनन्द सधैं ‘मिस’ भइरह्यो । मृत्युपर्यन्त उनको प्रसिद्धि झन् बढेको छ । जाँदाजाँदै उनले आफ्नो ‘मदारी’ फिल्मको डायलग सम्झाइदिए, ‘समय कब पंख लगा के उड गया, पता ही नहीं चला ।’