गजुरियल विश्लेषणअनुसार, पसिना भनेको शरीरको गन्ध हो, समाजको सुगन्ध हो। जुन समाजमा पसिनाको इज्जत हुन्छ, त्यो समाज विवेकशील हुन्छ। विवेकशील समाजले कहिल्यै पनि पसिनालाई हेयका दृष्टिले हेर्दैन, तर जुन पसिनामा अनिष्टको सम्भावना जहाँ रहन्छ, त्यो पसिनामा केही न केही मिसावट हुनैपर्छ भन्ने गजुरियल विश्लेषण छ।
किनभने, शुद्ध पसिनामा कहिल्यै अनिष्ट हुँदैन। सामान्यत: कि धेरै गर्मीका कारण पसिना निस्कन्छ, कि त धेरै श्रमका कारणले पसिना आउँछ। जुनसुकै कारणले पसिना आए पनि, पसिनामार्फत मानिसको शरीरका विकारहरू बाहिर निस्कन्छन्। धेरै पसिना बगाउँदा शरीरको बोसो घट्छ, बोसो घट्दा मानिस स्वस्थ रहन्छ। यो गजुरियलमात्र होइन, रियल विश्लेषण पनि हो।
पसिनाको ठूलो सामाजिक महत्त्व छ। जुन समाजमा पसिना बगाउने मानिसहरू हुन्छन्, त्यो समाज उन्नत हुन्छ। विकसित समाजको कारक तत्व त्यहाँका नागरिकले बगाएको पसिना नै हो। पसिना बगाउनेहरू भएको समाज शान्त र शिष्ट हुन्छ। पसिनामा विश्वास गर्ने मान्छेले कहिल्यै बेरोजगार हुनुपर्दैन। सडक, महल र उद्योग सबैमा पसिनाको प्रभावकारी हिस्सा हुन्छ।
व्यक्ति र समाजमात्र होइन, देश पनि पसिनाले नै बनाउँछ। पसिना बगाउने जनताका कारण यो देश अहिलेसम्म टिकिरहेको छ। विदेशी भूमिमा नै सही, पसिना नबगेको भए यो देशमा अर्को खाओवादी क्रान्ति सुरु भैसक्थ्यो। गजुरियल विश्लेषण भन्छ, हाम्रा नेताहरूले देशका लागि पसिना बगाइदिएको भए न भीमसेनको पसिनाबाट त्राहिमाम हुनुपथ्र्यो, न त हिंसाको असिनाबाट त्रस्त रहनुपथ्र्यो।
जहाँसम्म भीससेनज्यूको पसिनाको कुरा छ, त्यसका बारेमा विभिन्न तर्क आइरहेका छन्। कोही भन्छन्- जब उहाँलाई पसिनाले सताउँछ, तब देशमा केही न केही अनिष्ट हुन्छ, हुन्छ। उता वैज्ञानिक विचार राख्नेहरूको आफ्नै तर्क छ। भीससेनज्यूको निवासस्थान वरिपरिको माटो, भूगोल र अवस्थितिका कारण बेला-बेलामा उहाँलाई पसिना आएको हुनसक्छ, थरथर काँपे पनि डराउनुचाहिँ पर्दैन।
जुनसुकै कारणले पसिना आएको भए पनि पसिना आउनुको गजुरियल कारण अर्कै छ भन्ने हाम्रो ठम्याइ हो। संविधानसभाको निर्वाचनमा एमाओवादी हारेको कारण भीमसेनलाई पसिना आएको हुनसक्छ। कमरेड प्रचण्डले निर्वाचनमा षड्यन्त्र भयो भनेर भनेको कुरा सुनेका भीमसेनलाई कहाँनेर षड्यन्त्र भयो भन्ने थाहा पाउन हम्मे-हम्मे परेकाले पसिना आएको हुनसक्छ। 'बालक प्रचण्डले थाहा पाएको षड्यन्त्रको गन्ध म भीमसेनलाई कसरी थाहा भएनπ' भन्ने सोच्दासोच्दै उहाँ पसिना-पसिना हुनुभएको यथार्थतर्फ पनि ध्यान जानु जरुरी छ।
अर्को गजुरियल कारण, देश बोक्ने अधिकांश युवा विदेश हिँडेका छन्। समाज बोक्ने थुप्रै व्यक्तिहरू पार्टीको झन्डा मात्र बोकिरहेका छन्। राजनीतिलाई बोक्नुपर्ने सयौं नेता सडकमा अलमलिएका छन्। यस्तो अवस्थामा राष्ट्रको सम्पूर्ण बोझ भीमसेनज्यूको काँधमा आइपरेको कुरालाई नकार्न सकिँदैन। सोही बोझका कारण उहाँलाई पसिना आएको हुनसक्छ भन्नेतिर सोच्न गजुरियल सुझाव छ।
नेपालको मौसम अहिले चिसो भए पनि भित्रभित्रै जमिन तातिरहेको कुरा भूगर्भशास्त्रीहरू बताउँछन्। पृथ्वी तात्नमा हामी मानिसको कति हात छ? शान्त र शिष्ट रहनुपर्ने हामीहरू किन हिंसा र अराजकतातर्फ दौडिरहेका छौं? मनभित्र एउटा कुरा र मनबाहिर अर्को कुरा गरेर किन आफू र अर्कामा ताप बढाइरहेका छौं? यस्ता प्रश्नको सकारात्मक उत्तर खोजेर सही समाधान नपहिल्याउने हो भने भीमसेनलाई पसिना आए पनि नआए पनि देशमा अनिष्ट हुन सक्ने कुरालाई कहिल्यै अस्वीकार गर्न सकिँदैन भन्ने गजुरियल ठम्याइ छ।