तपाईं स्वादको पारखी हुनुहुन्छ ? त्यसो भए सिद्धार्थ फुडल्यान्ड जानुहोस्। सिद्धार्थको कुनै पनि शाखामा तपाईंले विभिन्न परिकारको स्वाद चाख्न सक्नुहुनेछ, त्यो पनि निःशुल्क। यो अवसर जुराएको छ, सिद्धार्थ स्वाद उत्सवले। आफ्ना ग्राहकलाई 'स्वादानुभूति' गराउने उद्देश्यले यस्तो कार्यक्रमको मेलोमेसो मिलाइएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए। 'हामी ग्राहकको प्रतिक्रिया चाहन्छौ' न्यौपानेले भने- 'उनीहरू कस्तो खानपानमा रमाउँछन् भन्ने कुरा जान्न चाहन्छौं।' आज शुक्रबार सुरु हुने स्वाद उत्सव १० दिनसम्म चल्नेछ। 'हरेक दिन फरक-फरक परिकारको स्वाद चखाउनेछौं,' सिइओ धुव्र न्यौपानेले भने- 'यसमा नेपाली मौलिक तथा इन्डियन आइटमहरू रहनेछन्।' विभिन्न स्थानमा रहेका सिद्धार्थका १० मध्ये ८ वटा शाखामा आयोजित स्वादउत्सवमा हरेक ग्राहकले भेज र ननभेज गरी दुई किसिमका परिकार चाख्न सक्नेछन्भने उक्त परिकारका सम्बन्धमा आफुलाई लागेको जिज्ञासा मेट्न सक्नेछन्। उत्सव अवधिभर बालबालिका लागि विशेष मनोरञ्जनको व्यवस्था गरिएको छ। निश्चित शाखाबाट विभिन्न परिकारको स्वाद चाखेर त्यसको प्रतिक्रिया दिन सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले आफ्ना ग्राहकहरूसँग आग्रह पनि गरेको छ। यसरी १० दिनसम्म निरन्तर स्वाद चाख्ने ग्राहकका लागि विशेष लञ्च कुपनको व्यवस्था गरिएको बताइन्छ।