स्टेजबाट एकपछि अर्को गर्दै आधा दर्जनभन्दा बढी डिजेले जमिनै थर्किने गरी थरीथरीका संगीत बजाइदिंदा फ्लोरमा जमेका डान्सपारखीहरू अझ बढी उत्साहित भएर झुम्दै थिए। आँखै तिरमिराउने लेजर लाइटले जोडी बनेर गएका किशोरी-किशोरीलाई अँगालोमा बाँधिदै खुलेर नाच्न सघाइरहेको थियो। शुक्रबार साँझ रूपन्देहीको मणिग्राममा बुद्ध गाइजद्वारा आयोजित 'विन्टर सिलाबेरेसन' शीर्षकको डान्स पार्टीमा धरानबाट निम्ताइएका डिजे चिता, भैरहवाका डिजे तामा, लेडिज डिजे नेप्ज र अन्य स्थानीय डिजेले नेपाली, हिन्दी, अंग्रेजी रिमिक्स, हिपहप, इलेक्ट्रो हाउस तथा ट्रान्स म्युजिक बजाएर डान्सपारखीलाई राति अबेरसम्म झुमाए। तीन जना युवाले बाइक स्टन्टसमेत प्रदर्शन गरेको उक्त पार्टीमा जीएसपी क्रिउका डान्सरहरूले बी-बोइङमार्फत मनोरन्जन प्रदान गरेका थिए।