राजधानीलाई ५० प्रतिशत तरकारी एवं अन्य कृषिजन्य बस्तु निर्यात गर्ने धादिङ जिल्लाको यो महोत्सवले बजारीकरणमा टेवा पुर्याउने आयोजक समितिकी संयोजक कल्पना अधिकारीले बताइन्। माघ १५ देखि २३ गतेसम्म नौ दिन चल्ने मेलामा १ सय ४८ वटा स्टल राखिएका छन्।
मेलामा गुन्द्रुक, ढिंडो, चमेरोको मासु तथा चेपाङ परिकार प्रमुख आकर्षणका रूपमा रहेका छन्। त्यस्तै मेलामा नेपाली ढाकाका वस्तुहरू, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तीजन्य सामग्री, हस्तकला एवं छालाका सामानहरू, सूचना प्रविधि, गार्मेन्ट, कृषि प्रविधि प्रदर्शनी, निर्माण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्रीहरू पनि राखिएका छन्।
मेला अवधिभर हेलिकप्टरबाट पर्यटकीय स्थलको अवलोकन, साइकिलिङ, प्यारा ग्लाइडिङ, डकुमेन्ट्री प्रदर्शनजस्ता गतिविधि सञ्चालन हुनेछन्। मेलामा बद्री पंगेनी, पूर्णकला बीसी, मुलासाग, जोगेन्द्र पानवाला आदि कलाकारले मनोरञ्जन प्रदान गर्नेछन् भने दोहोरीका चर्चित कलाकारहरू शिव हमाल, मञ्जु महत, रीता थापा, पशुपति शर्मा, ज्योति काफ्लेले सबैलाई नचाउनेछन्। मेलामा ५ करोड बराबरको कारोबार हुने दाबी आयोजकहरूको छ। १ लाखभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको मेलामा सामानको सुरक्षाका लागि सिसिटिभीसमेत जडान गरिएको छ।