मेरो देश नेपाल
आफ्नो देश सबैलाई प्यारो हुन्छ। मलाई मेरो देश नेपाल प्राणभन्दा प्यारो लाग्छ। यही देशले मलाई नाम दिएको छ, सम्मान दिएको छ। म जहाँ जन्मिएँ, हुर्किएँ र परिचय प्राप्त गरेँ, त्यो देशको देशवासी हुन पाउनुलाई मैले गौरवका रूपमा लिएको छ। एउटा नागरिकका लागि आफ्नो देशभन्दा ठूलो अरू के हुन सक्छ ?
बाबा-आमा
मलाई जन्म दिने बाबा रत्न राई तथा आमा सन्चलक्षी राईलाई म श्रद्धामात्र होइन, प्रेम पनि गर्छु। उहाँहरूकै कारण आज म यो संसारमा छु। मेरो अस्तित्व कायम रहनुमा उहाँको ठूलो योगदान छ। लाहुर जाने हाम्रो परम्परागत पेसाविपरीत मेरो संगीतप्रतिको सानैदेखिको रुचिलाई बाबा-आमाले नजिकबाट बुझ्नु भएकाले नै म आज गायकका रूपमा यो स्थानसम्म आइपुगेको छु। मेरा लागि उहाँहरू पूजनीय हुनुहुन्छ।
संगीत
संगीत मेरो नशा-नशामा छ। संगीतबिना राजेशपायल राईको जीवन नै अधुरो हुन्छ भन्दा फरक पर्दैन। मलाई संगीतले नाम, दाम, सम्मान सबै दिएको छ। अर्को शब्दमा भन्नुपर्दा संगीत मेरो सपना र विपनामात्र होइन कर्म पनि हो।
पहिलो रेकर्डेड गीत
गायकका रूपमा मैले जति नै उचाइ हासिल गरे पनि जीवनमा पहिलो पटक रेकर्ड गरिएको गीतको महत्त्व सबैभन्दा बढी हुँदो रहेछ। मैले २०४६ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको 'सम्झनाको कुरा नगर...' मेरो पहिलो गीत हो। विभिन्न विधाका गीत गाएर दर्शक तथा श्रोताको मन जित्न सफल भए पनि मलाई आफ्नो जीवनको पहिलो गीतको सम्झना आइरहन्छ।
पहिलो चलचित्र गीत
मलाई चलचित्रमा पाश्र्व गायनको मौका दिने निर्माता तथा निर्देशक अशोक शर्मा तथा संगीतकार शम्भुजित बाँस्कोटाप्रति म जहिले पनि आभारी रहनेछु। चलचित्र 'गरिब' मेरो पाश्र्व गायनको पहिलो चलचित्र हो। उक्त चलचित्रका लागि मैले एकैपटक तीनवटा गीत रेकर्ड गराएको थिएँ। त्यसमा पनि पहिलो गीत थियो 'मेरो मनको दैलो खोली'। त्यही चलचित्रको 'नागबेली-नागबेली चुल्ठोले...' अत्यन्त लोकपि्रयसमेत भयो।
सपनाकी राजकुमारी
भ्यालेन्टाइन डेको सेरोफेरोमा भएकाले अलि रोमान्टिक हुन मन लाग्यो। अविवाहित छु। कसैसँग प्रेम पनि गरिरहेको छैन तर मैले पनि एक दिन त विवाह गर्नैपर्छ भन्ने पनि लाग्छ। विवाह त गर्ने तर कोसँग ? भन्ने प्रश्न पनि मनमा उठिरहन्छ। मनमनै कल्पना गर्छु, को होलिन् त मेरी सपनाकी राजकुमारी ? उनी कस्ती होलिन् ? अहिलेसम्म चिनेको पनि छैन तर खै किन हो किन ती अपरिचित सपनाकी राजकुमारीको त्यसै-त्यसै माया लागेर आउँछ।
राजेश हमाल
उनी नेपाली चलचित्रका महानायक हुन्। त्यसबाहेक उनको अर्को एउटा विशेषता छ, उनी संगीतप्रेमी छन्। खासगरी उनलाई मेरा गीतहरू असाध्यै मनपर्छन् भन्ने कुरा उनकै मुखबाट सुनेको छु। व्यक्तिगत जीवनमा पनि उनी मेरा असल साथी हुन्। हामी एक-अर्कालाई मीतज्यू भनेर सम्बोधन गर्छौं। अझ रमाइलो कुरा, हामी अहिलेसम्म अविवाहित भएकाले पनि होला, धेरै कुरामा हाम्रो मन मिल्छ।
धरान
धरानसँग मेरो नाता धेरै पुरानो छ। धरानलाई सम्झेर मैले विगतमा 'बसैको हरन घुम्न जाऊँ धरान...' पनि गाएको थिएँ। धरानसँग मेरो सांगीतिक इतिहास पनि जोडिएको छ। मेरो जीवनको पहिलो कन्सर्ट धरानमै सम्पन्न भएको थियो। आज कन्सर्टका क्रममा देश-विदेशको यात्रामा रहँदा, सांगीतिक यात्राको प्रारम्भ कहाँबाट भएको थियो भन्ने उठ्छ र मेरो जवाफ हुन्छ— 'धरान'।
एरेन्जर/वाद्यवादक/रेकर्डिस्ट
म गीत रेकर्ड गर्छु। म श्रोताको रोजाइका गीत गाउन मन पराउँछु। श्राेताले मेरा थुप्रै गीत मन पराउनुभएको छ। कन्सर्टमा तीनै गीत गाएर नाम, दाम सबै कमाएको छु तर मेरा ती गीतमा बाजा बजाएर श्रोताहरूलाई जुरुक्क र हुरुक्क पार्ने ती कुशल हातहरूलाई म सदा सम्मान र प्रेम गर्छु। वास्तवम्ा एरेन्जर, बाद्यवादक तथा रेकर्डिस्टबिना एउटा गीत श्रोतासम्म आइ नै पुग्दैन।
असतोमा सत् गमय
गीतकार नवराज लम्सालद्वारा रचना गरिएका धेरै गीत मैले गाएको छु। उनले मेरा लागि लेखेका थुप्रै गीतमध्ये 'दर्शन नमस्ते-२' को एउटा गीतले मेरो मन छोएको छ। 'धन हो तर असत्यको धनमा लाग्छ आगो' गीतभित्र जीवनकै शाश्वत पक्ष समेटिएको संस्कृत भाषाको पंक्ति छ, 'असतोमा सत् गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतम् गमय'। त्यसको अर्थ पूरा जीवनकै कथा र सपना जस्तो लाग्छ। साँच्चै गम्भीर छ यो गीत। यो गीतलाई मैले नेपाली गीत रेकर्डिङको हाम्रो सय वर्षको इतिहासकै फरक गीत मानेको छु।
केकी अधिकारी, नायिका
परिवार
परिवार, जसले मलाई जन्मायो, जसले मलाई हुर्कायो अथवा जोसँग म हुर्किएँ त्यो मलाई असाध्यै प्यारो छ। मेरो परिवारमा मसहित बुवा बद्री अधिकारी, आमा लक्ष्मी भट्टराई तथा भाइ बिम्ब अधिकारी छौं। मेरो परिवार नै मेरो पहिलो प्रेम हो। ममा अहिले जुन संस्कार छ अथवा म जे-जस्ती देखिन्छु, अरूसँग म जस्तो व्यवहार गर्छु, त्यो सबै कुरा मेरो परिवारबाट आएको गुण हो। म आज केकी अधिकारी हुनुमा पनि मेरो परिवारको सबैभन्दा ठूलो देन छ।
कथा अनि पात्रहरू
म चलचित्र क्षेत्रमा भएकाले पनि होला मलाई कथा अनि कथाभित्रका पात्रहरूसँग असाध्यै प्रेम छ। कथा तथा त्यसका पात्रहरूले मलाई एकदम छिटो आकषिर्त गर्छन्। ती कथामा म स्वयं हुनु अनिवार्य छैन, पात्रहरूमा पनि मेरो उपस्थिति अनिवार्य छैन। कथा पढ्दै जाँदा म ती पात्रहरू आफैंमा फिल गर्छु। सामान्यतयाः मलाई कुनै पनि कथा तथा त्यसका पात्रहरूसँग एकदमै छिटो प्रेम हुन्छ।
प्रशंसकहरू
नेपाली चलचित्र क्षेत्रमा सन्तुष्ट हुने गरी पैसा कमाउन पनि सकिन्छ, नकमाउन पनि सकिन्छ। हाम्रो उद्योग सानो छ, हामी हरेक कुरालाई पैसासँग तुलना गर्न सक्दैनौं तर हामी जे गर्छौं, त्यसमा हाम्रो पहिचान जोडिएको हुन्छ, प्रसिद्धि जोडिएको हुन्छ। त्यो पहिचान प्रशंसकबाट प्राप्त गर्न सकिन्छ। म आफ्ना हरेक प्रशंसकलाई प्रेम गर्छु। मेरो भलो चाहने र मैले गरेका गल्तीहरूलाई सही तरिकाले मूल्यांकन गर्नसक्ने प्रशंसकलाई म प्रेम गर्छु। मेरो फेसबुकको फ्यान पेजमा करिब ८० हजार प्रशंसक छन्, जसमा उहाँहरूले हरेक दिन कमेन्ट गर्नुहुन्छ। मेरा क्रियाकलापहरूलाई उहाँहरूले नियमित मूल्यांकन गर्नुहुन्छ। मेरा कमीकमजोरी सुधार्ने सल्लाह दिनुहुन्छ। त्यो पेज नखोली मेरो दिन नै बित्दैन भने पनि हुन्छ। प्रशंसकहरूको सल्लाह र सुझावलाई म व्यवहारमा समेत लागू गर्ने प्रयास गर्छु।
खाना
खाना हाम्रो आधारभूत आवश्यकता नै हो। खानाले एक प्रकारको जोय दिन्छ, खुसी दिन्छ। घरमा मीठो खानेकुरा पाकेको दिनको उज्यालो नै बेग्लै हुन्छ। मीठो खाना पाकेको दिन घरमा केही स्पेसल हुँदैछ भन्ने फिल हुन्छ। म खानामा बेग्लै प्रकारको चार्म पाउँछु। वास्तवमा एउटा खुसी, आत्मियता अनि खुसी बाँड्ने माध्यम नै खाना हो जस्तो लाग्छ। मलाई घरमा आमा बनाएको नेपाली परिकार असाध्यै मनपर्छ। घर बाहिर भने प्रायः म मःम खान मन पराउँछु।
पुस्तक
पुस्तकलाई मैले आफ्नो जीवनको अभिन्न अंग मानेकी छु। म आफैं पनि विद्यार्थी भएकाले हरेक दिन पुस्तक नपढी सुखै छैन, पुस्तक नपढी दिनै कट्दैन भने पनि हुन्छ। म कोर्ष बुकमात्र नभएर देश-विदेशका लेखकहरूले लेखेका पुस्तकहरू पढ्न मन पराउँछु। पुस्तक एउटा त्यस्तो माध्यम हो, जसले मलाई संसारका हरेक कुनाको भ्रमण गराउँछ, हरेक जीवनसँग साक्षात्कार हुने मौका प्रदान गर्छ। अर्को शब्दमा भन्नुपर्दा पुस्तकले संसारलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्छ।
इन्टरनेट
आज इन्टरनेट बिनाको जीवन कल्पनासमेत गर्न सकिँदैन। जीवनको अंग बनिसकेको इन्टरनेटप्रति मेरो मात्र होइन हामी सबैको प्रेम छ। दुई दिन पनि इन्टरनेटको सम्पर्कबाट टाढा बस्नुपर्यो भने असाध्यै गाह्रो हुने अवस्था छ। परिवारसँग कुराकानी गर्नेदेखि लिएर समाचार, जानकारी आदि कुरामा अपडेट हुन पनि इन्टरनेट नभै हुँदैन। इन्टरनेटको पहुँच नभएको क्षेत्रमा पुगियो भने जीवन नै निरश लाग्न थाल्छ।
अभिनय
म जुन क्षेत्रमा सक्रिय छु, त्यो हो अभिनय। मलाई जसले आम मानिससँग जोडेको छ त्यो पनि अभिनय नै हो। मलाई जुन चिजले असाध्यै खुसी दिन्छ, त्यो पनि अभिनय नै हो। अभिनय गर्ने क्रममा एक्सन र कटबीचको जुन क्षण हुन्छ, त्यतिबेला म हरेक कुरा बिर्सन्छु। जीवनको सबै कुरा बिर्सन्छु। मलाई अभिनय बाहेक अरू कुनै पनि कुरा सम्झना हुँदैन, मतलब पनि हुँदैन। अभियनबाट पाउने प्रशंसा तथा आलोचनालाई म जीवनको एउटा महत्वपूर्ण अंगका रूपमा लिन्छु। म 'म' हो भनेर फिल गराउने कुरा नै अभिनय हो। अभिनयबिना म बाँच्नै सक्दिन भन्दा फरक पर्दैन।
साथीहरू
ती साथीहरू जोसँग म आफ्नो खुसी बाँड्छु, दुःख बाँड्छु, उनीहरूलाई म असाध्यै प्रेम गर्छु। मेरा क्लोज साथीहरू ज्यादै कम छन्। मसँग कलेजमा अध्ययन गर्ने साथीहरू मेरा सबैभन्दा नजिकका साथीहरू हुन्। मलाई साथीहरूसँग चलचित्र हेर्न जान, घुम्न मनपर्छ, सँगै बसेर खानेकुराहरू खान मनपर्छ। स-साना उपलब्धि तथा स-साना दुःखका कुराहरू नजिकका साथीसँग बाँड्न पाउँदा असाध्यै खुसी लाग्छ।
सपना अनि लक्ष्य
म सपना र लक्ष्यलाई प्रेम गर्छु। मलाई जहिले पनि सपनाले घच्घच्याइरहन्छ। सपना निद्रामा आउने कुरा होइन, सपनाले निद्राबाट ब्युँझ्याउँछ जस्तो लाग्छ। सपनाकै कारण हामी बिहान स्फूर्तिका साथ उठ्न सक्छौं, अघि बढ्न सक्छौं। सपनासँगै लक्ष्य पनि जोडिएको हुन्छ। लक्ष्यबिनाको मान्छेको यो संसारमा कुनै महत्व हुन्छ जस्तो लाग्दैन। कुनै पनि लक्ष्य बिना एक पाइला पनि अघि बढ्न सकिँदैन।
जीवन
म जीवनलाई असाध्यै प्रेम गर्छु। जसले जीवनलाई प्रेम गर्न सक्दैन, उसमा अघि बढ्ने जाँगर नै हुँदैन। जीवनलाई माया गर्नु भनेको आफूले आफूलाई नै माया गर्नु हो। मैले आफूलाई माया गरेपछि मात्र अरूलाई माया गर्न सक्छु। जीवन र मृत्युबीच असाध्यै छोटो समय हुन्छ। हामी यही समयमा राम्रो काम गरेर नाम राख्न चाहन्छौं। एकपटक पाएको जीवनलाई हामीले असल रूपमा सदुपयोग गर्न सक्यौं भने मात्र त्यसले सार्थकता पाउँछ ।