भानु कला केन्द्रको आयोजनामा पूर्वाञ्चल विद्यालयस्तरीय जातीय लोकनृत्य प्रतियोगिताको उपाधि तरहराको सयपत्री उच्च माविले हात पारेको छ। वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको स्मृति दिवसका अवसरमा शनिबार विराटनगरमा सम्पन्न प्रतियोगितामा मोरङ र झापाका १६ वटा विद्यालयसँग प्रतिस्पर्धा गर्दै उक्त विद्यालयले उपाधि हात पारेको हो। द्वितीय स्थान विराटनगरको सगरमाथा उच्च माविले हात पारेको छ। विराटनगरको अरनिको उच्च मावि तृतीय भएको छ। प्रतियोगितामा उत्कृष्ट मौलिकतामा मकालु सेकेन्डरी बोर्डिङ स्कुल, उत्कृष्ट वेशभूषामा महेन्द्र उच्च मावि दुहबी, उत्कृष्ट प्रस्तुतिमा सुम्निमा बोर्डिङ स्कुल तथा उत्कृष्ट अनुशासनमा स्मृति सेकेन्डेरी बोर्डिङ स्कुलका विद्यार्थीहरू छानिए। प्रतियोगितामा प्रत्येक विद्यालयका १०-१० जना विद्यार्थीकोे समूहलेे संस्कृति झल्कने पहिरनमा नृत्य प्रस्तुत गरेका थिए ।