साप्ताहिक संवाददाता
डिके
कतिपयले शीघ्रस्खलन र कतिपयले ढिलो स्खलन हुने समस्याका बारेमा पटक-पटक प्रश्न सोध्ने गरेका छन्। धेरैजसोको समस्या शीघ्रस्खलनसँग सम्बन्धित हुने गरेको छ भने केहीको ढिलो स्खलनसम्बन्धी। केहीले भने स्खलन नै नहुने समस्या भएको बताउने गरेका छन्। विभिन्न अध्ययनअनुसार पनि शीघ्रस्खलनको समस्याको अनुपात अन्य दुई समस्याभन्दा बढी छ।
धेरैजसो पुरुषमा यौनसम्पर्कका अवस्थामा हुने निकम्मापन स्खलनसम्बन्धी असन्तुलनका कारण हुने गरेको छ। असन्तुलनको अवस्थामध्ये पनि शीघ्रस्खलन ७५ प्रतिशत तथा ८ प्रतिशत ढिलो स्खलन वा स्खलन नै नहुने समस्या पाइएको छ। तथ्यांकहरूले देखाएअनुसार ४ देखि ३९ प्रतिशतसम्म पुरुषलाई शीघ्रस्खलनसम्बन्धी समस्या हुने गरेको छ।
यी सबै असन्तुलनका अवस्थाहरू समस्यामा परिणत नभैसकेका पनि हुन सक्छन्। त्यसैले सबैभन्दा पहिले शीघ्रस्खलनको समस्या के हो भन्ने विषयमा बुझ्नु आवश्यक छ। यदि ६ महिना वा सोभन्दा बढीदेखि शीघ्रस्खलन भैरहेको छ भने मात्र शीघ्रस्खलनकै समस्या हो भन्न मिल्छ त्यो यौनसम्पर्कमा होस् वा हस्थमैथुन गर्दा होस्। तनाव र चिन्ताका कारण पनि शीघ्रस्खलन हुनसक्छ र शीघ्रस्खलनको समस्याका कारण पनि व्यक्ति आफंै अनि श्रीमती वा प्रेमिकाबीच तनाव र चिन्ता हुन थाल्छ। यसले गर्दा दम्पती वा जोडीको सम्बन्धमा असर पर्न थाल्छ। विस्तारै यौनसम्बन्ध हुनुभन्दा अघिनै शीघ्रस्खलनको डरले नर्भस हुने र यौनसम्बन्ध गुणस्तरीय नहुने हुन्छ। कतिपय पुरुष यौन सन्तुष्टि महसुस गर्न हस्थमैथुनको साहारा लिन थाल्छन् फलस्वरूप समस्याले थप समस्यातर्फ धकेल्दै लैजान्छ।
यौनका लागि धेरै कुरा आवश्यक हुन्छन्। जस्तो कि यौनका लागि वातावरण र परिवेश आवश्यक हुन्छ। यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ। आपसमा माया र भावना साटासाट गर्ने अवसरहरू उपलब्ध हुनुपर्छ अर्थात् सबै किसिमको वैधानिकता हुनुपर्छ। यी सम्पूर्ण कुराको अभावमा मानिसहरूमा केही न केही त्रास, डर वा शंका उपशंकाहरू हुन्छन् र यिनले गर्दा यौनसम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ। यसलाई मानिसका व्यवहारजन्य समस्या भनिन्छ र यी मनोविज्ञानसँग पनि सम्बन्धित छन्। उल्लेखित सबै परिवेश उपलब्ध भए पनि दुई जनाबीच यौनको सन्तुष्टिसँग सम्बन्धित केही समस्या छन् भने तिनको विश्लेषण गरी आवश्यक उपचार गराउनुपर्ने हुन्छ।
यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ। सामान्य रूपमा भन्दा दुवैलाई यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खास समस्या पनि आउँदैन। धेरैजसो केटा मानिसको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ।
यसका परम्परागत, मनोवैज्ञानिक एवं जैविक कारणहरू छन्। यौन एउटा रहस्यमय विषय भएकाले यसका बारेमा थुप्रै अध्ययन भएका छन्। स्खलनका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समयावधि औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनेटसम्म लम्बिने गरेको छ। चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले १ मिनेट पनि यौनसम्पर्क टिकेन भने त्यसलाई शीघ्रस्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। शीघ्रस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणचाहिँ यौनका बारेमा कम ज्ञान, यौनसम्पर्कका बेला मस्तिष्कमा आउने चिन्ता तथा अन्य गलत सोच र विभिन्न किसिमका डर त्रासजन्य कुराहरू जिम्मेवार रहने गरेका छन्। अस्वीकृत यौनसम्बन्ध, परस्त्रीगमन, केही क्षण अगाडिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौन अंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर त्रासका कारणले यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेलामा शीघ्रस्खलन हुनसक्छ। यौन अंग बढी नै संवेदनशील हुँदा पनि त्यस्तो अवस्था आउँछ। यद्यपि यो विस्तृत अध्ययन अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन। अध्येताहरू यसमा नयाँ कुरा पत्ता लगाउन लागिपरेका छन्। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग उत्तेजित कम मात्रामा हुने कारणले गर्दा पनि शीघ्रस्खलन हुने गरेेको अध्ययनहरूले देखाएका छन्। हाइपरथाइरोइडिज्म र शीघ्रस्खलनको पनि सम्बन्ध हुन्छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्रस्खलनबाट पीडित भएको अध्ययनहरूले देखाएका छन्। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्रस्खलन रोक्न प्रस्तावित केही विधि पनि छन्। जस्तो कि शीघ्रस्खलन केही समय रोक्न केही क्षण सम्पर्क नै रोक्नुपर्ने हुन्छ। यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ, जसको विकास मास्टर र जोनसनले गरेका हुन्। अर्को भनेको लिंग उत्तेजनाको क्रम पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ। बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयलाई शीघ्रस्खलन रोक्न सकिन्छ। यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई कम गर्छ। यही क्रमलाई दोहोर्याइरहनुपर्छ जब अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्छ। यसलाई सबैभन्दा प्रभावकारी विधि मानिन्छ। यसका साथै डर, तथा त्रास पैदा हुने गतिविधिहरूमा संलग्न हुनुहुँदैन। तपाईंको कुरा अनुसार तपाईंमा पनि डर, चिन्ता छ भन्ने बुझिन्छ त्यसैले मनोविद् वा मनोचिकित्सकको परामर्श आवश्यक छ।