चलचित्र होस् अथवा आधुनिक, लोक होस् अथवा झ्याउरे, गायक राजेशपायल राईलाई श्रोताले हरेक शैलीका गीतमा मन पराए। वर्ष २०७० मा उनी विदेशमा समेत उत्तिकै व्यस्त रहे। स्वदेशका कन्सर्टमा त उनी प्रायः कतै पनि छुटेनन्। वर्ष २०७० का सर्वाधिक व्यस्त गायक प्रमोद खरेलले यो वर्ष करिब २ सय ५० वटा गीत रेकर्ड गर्न भ्याए, कलेक्सन एल्बमदेखि कन्सर्टसम्म व्यस्त रहे। खरेलले एकैदिनमा ७ वटासम्म गीत रेकर्ड गराएको नौलो अनुभव पनि यही वर्ष गरे। वर्षको प्रारम्भमा 'हंगामा...' गीत ल्याएका प्रमोदले बाँकी समय कलेक्सन एल्बमलाई दिए। स्वदेश तथा विदेशका कन्सर्टमा वर्षभरि नै व्यस्त भैरहे। वर्ष २०७० मै दाहिने हात भाँचिएर एउटा हातको भरमा भएको अस्ट्रेलिया टुरसँगै उनले गत वर्ष थुप्रै देशको सांगीतिक भ्रमण गरे। माथि उल्लेख गरिएका गायक-गायिका नेपाली संगीतिक क्ष्ाेत्रका प्रतिनिधि पात्र मात्र हुन्। एकातिर गीति एल्बमको बजार खुम्चिरहेको अवस्थामा यी गायक-गायिकाहरू घरमै बस्न नपाउने गरी कसरी व्यस्त भए त ? जवाफ सामान्य छ। उनीहरू सांगीतिक कार्यक्रमका क्रममा कहिले पूर्वको पाँचथर पुगे त कहिले पश्चिमको धनगढी। कहिले मस्कट र कतार पुगे त कहिले बेलायत र अस्टे्रलिया। यिनीहरूको वर्ष २०७० को व्यस्तताले अधिकांश लोकप्रिय गायक-गायिकाको वर्षभरिको व्यस्ततालाई प्रतिनिधित्व गर्छ।
वास्तवमै रेडियो र टेलिभिजनपछि भिडियो साटासाट गर्ने सामाजिक सञ्जाल युट्युबको लोकप्रियताले अहिले नेपाली गीति एल्बमको बिक्री असाध्यै न्यून छ। निःशुल्क रूपमा रेडियोमा गीत सुन्न पाइने, टेलिभिजनमा हेर्न पाइने र युट्युबमा त आफैंले चाहेका बेला हेर्न पाइने सुविधा भएपछि बजारमा गएर २ सय ५० रुपैयाँको एल्बम किन्ने जाँगर कसलाई पो चल्छ र ? यद्यपि बजारमा एल्बमको बिक्री हुँदै नभएको भने होइन। गायक रामकृष्ण ढकालले हालैको अस्टे्रलिया भ्रमणका बेला आफ्नो पछिल्लो एल्बम 'बाँचुन्जेलीलाई' का करिव ५ सय प्रति बिक्री गरे। रामकृष्ण मात्र होइन, अधिकांश लोकप्रिय गायक-गायिकाले विदेशका सांगीतिक कार्यक्रममा सहभागिता जनाउने क्रममा आफ्ना एल्बमहरू बिक्री गरिरहेका छन्। 'कम्तीमा एल्बमको लगानी मात्र उठ्यो भने अर्को एल्बमको तयारी गर्न सजिलो हुन्छ, एक जना संगीतकर्मी भन्छन्— 'स्वदेशका महोत्सव तथा विदेशका कन्सर्टमा १-२ सय एल्बम बिक्री गरेरै चित्त बुझाउनुपर्ने अवस्था आइसकेको छ।'
समग्रमा हेर्ने हो भने वर्ष २०७० को सांगीतिक क्ष्ाेत्र उत्साहप्रद रह्यो। वर्ष २०७० को नयाँ वर्षदेखि नै गायक-गायिकाहरू कन्सर्टमा व्यस्त भए। हरेक साना-ठूला चाडपर्वमा आयोजना हुने कन्सर्टले गायक-गायिकाहरूलाई व्यस्त बनाइरह्यो। तीजले गायिकाहरूलाई बढी नै व्यस्त बनायो। दसैं-तिहारपछि मोफसलमा महोत्सवको लहर नै आयो। यस्ता महोत्सवमा गीत-संगीत र हास्यव्यंग्य कार्यक्रम अनिवार्य खुराक बने। ती कार्यक्रममा श्राेता तथा दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्न सक्ने गायक-गायिका तथा हास्यकलाकारहरूको माग बढी भयो। यो हिसाबले वर्ष २०७० मा राजेशपायल राई, प्रमोद खरेल, रामकृष्ण ढकाल, हेमन्त शर्मा, दीपक लिम्बू, शिव परियार, मिलन अमात्य, अन्जु पन्त, आस्था राउत, पशुपति शर्मा, कोमल वली, कुलेन्द्र विक, सुनिता दुलाल, रामजी खाँड, बद्री पंगेनी, राधिका हमाल आदि करिब दुई दर्जन गायक-गायिकाहरूको माग बढी भयो। महोत्सवमा दर्शकले पपदेखि चलचित्र, लोकआधुनिकदेखि दोहोरी, हिपहपदेखि र्यापसम्म सुन्न मन पराउने क्रम जारी रह्यो।
लाखौं रुपैयाँ खर्च गरेर आठवटा गीतको एल्बम बजारमा ल्याउने क्रम यो वर्ष पनि घटेन। खासगरी विदेशमा राम्रो आम्दानी गर्ने स्रष्टा (विशेष गरी गीतकार) ले स्वदेशमा आएर लोकप्रिय गायक-गायिका तथा स्थापित संगीतकारलाई लिएर एल्बम तयार पार्ने, लाखौं रुपैयाँ खर्च गरेर म्युजिक भिडियो बनाउने, त्योभन्दा बढी खर्च गरेर पाँचतारे होटलमा एल्बम विमोचन गर्ने क्रम वर्ष २०७० मा पनि घटेन। जम्मा एकपटक एल्बम निकाल्ने ती धनाढ्य स्रष्टाका कारण नेपाली संगीतकर्मीहरू लाभान्वित नै भए। काठमाडौंका दर्जनौं रेकर्डिङ स्टुडियो वर्षभरि नै व्यस्त रहे। संगीत संयोजक (एरेन्जर) हरू आर्थिक रूपमा बलिया भए। बाद्यबादक बजाउने संगीतकर्मीहरू पनि वर्षभरि नै व्यस्त रहे। रेकर्डिस्टदेखि संगीतकार र गायक-गायिकाहरूले गीत गाउने अवसर पाइरहे। यस आधारमा हेर्दा वर्ष २०७० मा गीति एल्बममा लगानी गर्ने लगानीकर्ता मात्र डुब्ने स्थिति देखियो, एल्बमका लगानीकर्ताबाहेक बाँकी सबै स्रष्टा आर्थिक रूपले फाइदामै रहे।
त्यसो त गत वर्षसम्म सीआरबीटी/पीआरबीटीलाई पनि संगीतकर्मीको राम्रो आम्दानीको स्राेतका रूपमा लिइन्थ्यो, तर सेवाप्रदायक संस्थाले सीआरबीटी/पीआरबीटीको रोयल्टीमा स्रष्टाकै शोषण गर्न थालेपछि वर्ष २०७० मा आम्दानीको यो पछिल्लो स्रोत खासै उपलब्धिमूलक देखिएन ।
गत वर्ष लोकप्रिय गायक-गायिकाहरूमध्ये निकै कमले मात्र एल्बम निकाले। रामकृष्ण ढकाल भारतीय गायिका लता मंगेसकरसँग गाएको गीतको एल्बम 'बाँचुन्चेलीलाई' का कारण वर्षभरि नै चर्चामा रहे। स्वदेश तथा विदेशका अधिकांश कार्यक्रममा उनले त्यही एल्बमका लोकप्रिय गीतहरू गाइरहे। अधिकांश गायक-गायिकाले सिंगल ट्रयाकसमेत सार्वजनिक गरे। आठवटा गीत समावेश गरेर एल्बम प्रकाशित गर्ने पुरानो परम्परा यो वर्ष क्रमभंग भयो। अधिकांश गायक-गायिकाले सिंगल ट्रयाकमार्फत दर्शक तथा श्राेताको मन जित्ने प्रयास गरे। एडि्रन प्रधान, कमल खत्री, आस्था तामाङ मास्के, धर्मेन्द्र सेवान, नवीन के भट्टराई, हेमन्त शर्मा, सुनिता दुलाल आदिले सिंगल ट्रयाक निकालेरै आफूलाई व्यस्त बनाए।
चलचित्र संगीतका कारण पनि कतिपय गायक-गायिका वर्षभरि नै व्यस्त भैरहे। पाश्र्व गायनमा अब्बल मानिएका राजेशपायल राई, प्रमोद खरेल, स्वरूपराज आचार्य, दीपक लिम्बू, रजिना रिमाल आदि चलचित्रका गीतमा व्यस्त देखिए। चलचित्र कालीको 'स्लोली-स्लोली' गीत लोकप्रिय हुँदा प्रह्लाद तिमिल्सिना र मिलन अमात्य स्थापित भए । बालगायक प्रेम परियार चलचित्र 'नाइँ नभन्नु ल-२' का गीत-संगीतका कारण वर्षको उत्तरार्द्धमा आएर लोकप्रियताको शिखरमा पुगे।
वर्ष २०७० मा युवापुस्ता नेपहप अर्थात् नेपाली हिपहप संगीतप्रति आकषिर्त देखियो। चर्चित र्यापर यमबुद्धको लोकप्रियता यसरी चुलियो कि उनी अहिलेसम्म फेसबुकमा सबैभन्दा बढी मन पराइएका नेपालीका रूपमा उभिएका छन्। जिल्लाहरूमा आयोजना हुने महोत्सवमा समेत उनलाई निम्त्याइन थालिएको छ। यमबुद्धलाई लिएर देशव्यापी कन्सर्ट गर्नेहरू पनि बढे। लाहुरे, युनिक पोइट, बालेन जस्ता र्यापरलाई पनि श्रोताहरूले उत्तिकै मन पराए।
बेलायतको एउटा बैंकका जागिरे भीम निरौलालाई युट्युबले विश्वभरिका नेपालीमाझ चिनायो। उनले गाएको सन्डे मर्निङ लभ यू...युट्युबमा सर्वाधिक हेरिएका नेपाली गीतहरूमध्येको एक रह्यो। त्यसबाहेक नट्टु शाहलाई पनि युट्युबमा धेरै हेरियो। अधिकांश गायक-गायिका यो वर्ष नेपाली टेलिभिजन च्यानलभन्दा युट्युबबाट म्युजिक भिडियो प्रिमियर गर्न अग्रसर रहे। विश्वभरिका श्रोतामाझ एकैपटक जान सकिने भएकाले युट्युब नेपाली संगीतकर्मीका लागि समेत बरदानकै रुपमा रह्यो।
मिलन लामा, पशुपति शर्मा, कोमल वली, सुनिता दुलाल, कुलेन्द्र विकजस्ता लोकदोहोरी गायक-गायिका वर्षभरि नै व्यस्त रहे। उनीहरू स्वदेशका विभिन्न महोत्सवमा त पुगे नै, विदेशसम्म पनि पुगे। आधुनिक र पप गायक-गायिकाको तुलनामा विदेश जाने मौका पाइरहने गायक-गायिकाहरू लोकदोहोरीकै रहे। पशुपति शर्माको 'मलाई अमेरिका यही' वर्षको उत्कृष्ट लोकदोहोरी मानियो। बोतलको पानीले...गीतमार्फत भोजराज काफ्ले र धनबहादुर आलेले हरेक जमघटमा राम्रो स्थान पाए।
सांगीतिक समूह नेपथ्यका गायक अमृत गुरुङले वर्ष २०७० मै बेलायतको ऐतिहासिक वेम्ली एरेनामा कन्टर्स दिएर नेपाली सांगीतिक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याए। विश्वका लोकप्रिय गायक-गायिकाहरूको पहिलो रोजाइमा पर्ने उक्त प्रेक्षालयमा कन्सर्ट दिन पाउनुलाई आफैंमा ठूलो उपलब्धि मानिन्छ। यसअघि कुनै पनि नेपाली संगीतकर्मीले वेम्लीमा कन्सर्ट गर्ने अवसर पाएका थिएनन्। संगीतको अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित १२ हजार ५ सय सिट क्षमताको लन्डनस्थित वेम्ली एरेनामा पहिलो पटक नेपाली गीत सुनाएर अमृत गुरुङले आफू र आफ्नो समूहको नाममा इतिहास रचे।