सञ्चारमाध्यममा आकर्षक प्याकेजसहित छापिएका विज्ञापन हेरेर विद्यार्थीहरू लोभिन्छन् अनि कलेज भर्ना भएर पढ्न थालेपछि विज्ञापनमा भनेजस्तो शिक्षा भएन भनेर पछुताउँछन्। कतिपय कलेजका प्रिन्सिपलले कलेज छनोट गर्दा विद्यार्थीले धेरै कुरामा ध्यान पुर्याउनुपर्ने बताउँदै आएका छन्। हेराल्ड इन्टरनेसनल कलेज चक्रपथका प्रिन्सिपल नारायणप्रसाद उपाध्यय कलेज छनोट गर्दा तीन पक्षलाई ध्यान दिनुपर्ने बताउँछन्। शिक्षकहरूको योग्यता, अनुभव र दक्षता अनि कलेजको विगतको परीक्षाको नतिजाका साथै भौतिक पूर्वाधारको अवस्था हेर्नुपर्ने उनी औंल्याउँछन्। कतिपय विद्यार्थी सञ्चारमाध्यममा आएका भड्किला विज्ञापन हेरेर नै कलेजतर्फ दौडिन्छन्। कलेजको गुणस्तरीतामा ध्यान दिइरहेका हुँदैनन्, जसले गर्दा शैक्षिक भविष्य नै ओझेलमा पर्न सक्छ।
हुनतः आजको सूचना-प्रविधिको युगमा विज्ञापनको पनि उत्तिकै आवश्यकता छ, तर विज्ञापनको मात्र भर पर्न नहुने क्यानभास इन्टरनेसनल कलेज बसुन्धराका प्रिन्सिपल उत्तमप्रसाद देवकोटाको सुझाव छ। कलेजको पृष्ठभूमि अर्थात् कलेजका सञ्चालकको पृष्ठभूमिमा पनि ध्यान दिनुपर्छ। त्यतिमात्र नभएर अनुभवी शिक्षकहरूले नै सञ्चालन गरेको कलेज भए धेरै राम्रो हुन्छ। कलेजका बारेमा अग्रजहरूको सल्लाहका साथै उक्त कलेजमा अध्ययन सकेका पूर्वविद्यार्थीहरूको अनुभव पनि सुन्नुपर्ने देवकोटाको सुझाव छ। पछिल्ला केही वर्षमा कलेज खोल्ने होडबाजी नै छ भने अस्वस्थ प्रतिस्पर्धा पनि उत्तिकै छ। कतिपय कलेजले विद्यार्थीबाट मनपरि शुल्क उठाउने र विद्यार्थीमा नभई अन्यन्त्रै खर्च गर्ने परिपाटी भएकाले सचेत रहनुपर्ने नवदीप विद्याकुञ्ज, सामाखुसीका पूर्व विद्यार्थी गोविन्द मरासिनी बताउँछन्। मरासिनी भन्छन्-
'विद्यार्थीबाट नै उठाएको रकम कतिपय कलेजले गलत ठाउँमा प्रयोग गर्ने गरेकाले कलेज छनोट गर्दा सचेत रहनुपर्छ।'
हुनतः कतिपय विद्यार्थीले कलेजको भौतिक पूर्वाधारलाई मात्र आधार मान्छन्, तर बाहिरी तडकभडकभन्दा पनि कक्षा सञ्चालनको पद्धति पनि राम्रोसँग बुझ्नुपर्छ। निम्स इन्टरनेसनल कलेजका भ्वाइस प्रिन्सिपल अच्युत अर्यालको विचार अलिक फरक छ। अर्याल भन्छन्- 'विद्यार्थीको बौद्धिक विकास एवं सामाजिक दायित्वबोध गराउने, तिनको हेरचाह गर्न सक्ने र फुलटाइम शिक्षक भएका कलेज छनोट गर्नुपर्छ।' राम्रो कलेज हो-होइन छुट्टयाउन उच्च मावि शिक्षा परिषदको परीक्षा परिणाम नै सर्वाधिक विश्वसनीय हुने भएकाले कलेज छनोट गर्दा कलेजले प्राप्त गरेको परीक्षाको परिणाम पनि हेर्नुपर्ने अर्यालको राय छ।
एसएलसी परीक्षाको मुखमा कतिपय कलेज बढीभन्दा बढी राम्रा र उच्च अंक ल्याएका विद्यार्थी भित्र्याउने दाउमा हुन्छन्। सरकारी अनुगमन क मजोर भएकाले कलेजहरूबीच उत्पन्न अस्वस्थ्य प्रतिस्पर्धाले विद्यार्थीहरूमा अन्योल उत्पन्न गर्छ। यस्तो अवस्थामा विद्यार्थी स्वयं चनाखो हुनुपर्छ। काठमाडौं भ्याली कलेज, महाराजगन्जका प्रिन्सिपल ऋषिकेश वाग्लेका अनुसार कलेज छनोटका लागि विद्यार्थीको रुचि प्राथमिकतामा हुन्छ। 'विद्यार्थीको रुचि, पढ्न चाहेको विषय छनोट गर्न विद्यार्थीले सबैको सल्लाह लिएर विवेक सम्मत निर्णय लिनु आवश्यक छ,' आफ्नो साथी अर्को कलेजमा गयो भन्दै उसैको पछि दगुर्दा अध्ययनमा समस्या उत्पन्न हुनसक्छ।'
शिक्षक तथा विद्यार्थीको अनुभव र सल्लाहअनुरूप कलेज छनोट गरिनुपर्छ। आफू भविष्यमा के बन्ने, के पढ्ने, कस्तो करियर बनाउने भन्ने कुरा आफैंले निर्णय गर्नुपर्छ। पढ्ने केका लागि हो, विदेश जाने कि स्वदेशमै बसेर व्यावसायिक बन्ने भन्ने कुराको पनि निर्णय गर्न सक्नुपर्छ। इच्छा र रोजाइसँगै आर्थिक पक्षमा पनि उत्तिकै ध्यान दिनुपर्छ। आफ्नो इच्छा, आकांक्षा, शैली, घरपायक सबै कुरा मिलाएर कलेज छनोट गर्नुपर्छ।