नेपालको प्रतिनिधित्व गर्दै टर्की पुगेकी १२ वर्षीया बालिका दृष्टि दाहालले 'मिस लिटिल यूनिभर्स-२०१४' को उपाधि जितेकी छिन्। गत सोमबार राति टर्कीको मिलासस्थित केपालुका रिसोर्टमा सम्पन्न प्रतियोगितामा विश्वका विभिन्न २२ देशका ४३ जना बालिकाले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको निणर्ायक चरणमा सोधिएको प्रश्नको आकर्षक जवाफ दिएर दृष्टिले नेपाललाई ऐतिहासिक सफलता दिलाएकी हुन्। प्रतियोगितामा दृष्टिले मिस ट्यालेन्ट शीर्षकको उपाधिसमेत जितेकी थिइन्। ट्यालेन्ट शोका लागि दृष्टिले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्। उर्लाबारी, मोरङकी दृष्टि दाहालले टर्कीमा सम्पन्न विश्वस्तरको प्रतियोगितामा सहभागिता जनाउनुअघि गत फागुनमा ई-प्लानेटले आयोजना गरेको 'लिटिल मिस युनिभर्स नेपाल-२०१४' मा सफलता हासिल गरेकी थिइन्। प्रतियोगितामा सहभागिता जनाएर दृष्टि बुधबारनै स्वदेश फर्किएकी छिन्। डिल्लीबजार, काठमाडौं निवासी दृष्टि एनआईसी एकेडेमीमा कक्षा ८ मा अध्ययरत छिन्।