१ सय १३ प्रतियोगीलाई पछि पार्दै पीपलडाँडाका श्याम सारुले 'विशाल आधुनिक तारा- २०७१' को उपाधि जितेका छन्। विशाल डिजिटल, काठमाडौंद्वारा आयोजित आधुनिक गायन प्रतियोगिताको फाइनलमा उनले आफ्ना चार जना प्रतिस्पर्धीलाई पाखा लगाएका थिए। पाल्पा जिल्लाको तानसेन, पालुङ्मैनादीको बतासे र रामपुरमा पहिलो चरणको छनौट गरिएको यो प्रतियोगितामा तीन स्थानको अडिसनबाट छनौट भएकाहरूमध्येबाट श्याम सारु, खुम गाहा, मेश सारु, विष्णु दर्नाल तथा प्रमोद परियार फाइनलमा पुगेका थिए। कार्यक्रममा गायिका मीनु गैरेले आफ्ना गीत सुनाएकी थिइन् भने हास्यकलाकार नारायण बस्यालको प्रस्तुति पनि समेटिएको थियो। उक्त अवसरमा स्थानीय सहारा, राज मञ्जुश्री कलाकेन्द्रले नृत्यमार्फत मनोरञ्जन प्रदान गरेको थियो।