साप्ताहिक संवाददाता
एम.
तपाईंको जिज्ञासाबाट के बुझिन्छ भने यो समस्या तपाईंको श्रीमान्सँग भन्दा पनि तपाईंसँग बढी सम्बन्धित छ। यौनचाहना बढी मात्रामा हुँदा योनिबाट योनि रस बढी प्रवाह हुन्छ तर यौनइच्छा नभएका बखत योनि रस कम प्रवाह हुँदा यौनसन्तुष्टिमै आकाश-जमिनको फरक देखा पर्छ। इच्छा नभएका बखत योनि रसको प्रवाह कम भएर योनि सुख्खा हुनु स्वाभाविक हो। योनि सुख्खा भएका बखत शारीरिक सम्बन्ध राख्दा पीडा हुनु अर्को स्वाभाविक पक्ष हो। यो उमेर वा बैंसको अवस्थामा हुने सामान्य प्रक्रिया हो। उमेर ढल्कँदै गएपछि अर्को अवस्था सिर्जना हुन्छ।
सामान्यत: ४५ वर्षभन्दा मुनिका महिलाहरूमा योनि रसको प्रवाह कम हुँदैन, तर ४५ वर्षभन्दा माथिका महिलाहरूमा महिनावारी रोकिने भएकाले योनि रसको प्रवाहमा कमी आउँछ। त्यसलाई उमेरजन्य कारण मनिन्छ। ४५ वर्षको उमेरमा पनि यौनइच्छा तीव्र हुन्छ तथा योनि रसको प्रवाह पनि पहिलेजस्तो रहन्छ भन्ने कल्पना गर्नु ठीक होइन। यौनचाहना नहँुदा धेरै महिलाले योनि सुख्खा हुने र दुख्ने समस्याबाट गुज्रनुपर्ने हुन्छ। यो समस्या कुनै पनि उमेरमा देखा पर्न सक्छ, तर विशेष गरी महिनावारी रोकिने समय वा रोकिइसकेपछि बढी भएको देखिन्छ। तपाइर्ंको उमेर कम नै भएकाले तनावका कारण यस्तो समस्या उत्पन्न भएको हो कि जस्तो बुझिन्छ। यौनसम्बन्धका क्रममा जब योनिबाट चाहिने मात्रामा योनि रस निस्कँदैन तब योनि सुख्खा हुन्छ र यौनसम्पर्क गर्दा पीडा महसुस हुन्छ। योनि सुख्खा हुँदा स्वास्थ्य समस्या पनि देखापर्छ, जस्तै- योनिमा संक्रमणको लक्षण देखिन सक्छ। महिनावारी रोकिने क्रममा हार्माेनको परिवर्तनका कारण पनि योनि रसको उत्पादनमा र्हास आउँछ। शिशु जन्माइसकेपछि र स्तनपान गराउँदा अक्सिटक्सिन तथा प्रोलाक्टिनको बढी उत्पादनले पनि योनि सुख्खा हुन्छ। यदि कुनै विशेष औषधीको सेवन गरिएको छ भने पनि योनि सुख्खा हुनसक्छ। यदि ती कुनै पनि कारण होइनन् भने दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाव, झगडाजस्ता कारण जिम्मेवार हुन सक्छन्। यौनसम्बन्धका बेला पर्याप्त मात्रामा पाक्क्रीडाको कमीले पनि योनि सुख्खा भै यौन सम्बन्ध पीडादायक हुनसक्छ। सुख्खा हुँदा योनि चिलाउने, अप्ठयारो महसुस हुने, पोल्ने, हल्का रक्तश्राव हुने, छिन-छिनमा पिसाब आउने हुन्छ। यौनसम्बन्धमा विस्तार नहुँदा सन्तान प्राप्तिमा पनि ढिलाइ हुन्छ।
योनिमा देखिएको सुख्खापनका कारण पनि यौन असन्तुष्टि उत्पन्न भै त्यसको मनोवैज्ञानिक असर देखा पर्न सक्छ। सन् २००९ मा ४१ वर्षदेखि ४८ वर्ष उमेरका ६ सय ७७ जना महिलामा गरिएको एक अध्ययनले ६८ प्रतिशत महिला यौन क्रियाकलापमा संलग्न रहेको भेटिएको थियो। बाँकी ३२ प्रतिशतमध्ये ७० प्रतिशतले उपयुक्त यौनसाथी नपाएकाले सन्तुष्टि नमिलेको बताएका थिए। त्यसैगरी ४ प्रतिशतले योनिको सुख्खापनका कारण हुने पीडाले यौन गतिविधिमा प्रतिकूल प्रभाव पारेको धारणा व्यक्त गरेका थिए। तपाईंको उमेर त्यो अवस्थामा पुगेको छैन, त्यसैले श्रीमान् वा तपाइर्ंलाई पनि अप्ठेरो भएको हुन सक्छ। चिल्लोपनका लागि प्राकृतिक तेल वा चिकित्सकको सल्लाहअनुसार जेल प्रयोग गर्न सक्नुहुन्छ।
आफू यौनका लागि इच्छुक भए-नभएको विषयमा श्रीमान्सँग हँसिलो मुद्रामा खुलस्त कुराकानी गर्न थाल्नुहोस्। किनभने यौनमा सञ्चारको ठूलो भूमिका हुन्छ। यौनइच्छा भए त्यही अनुरूपको आचरण गर्नुहोस् तर अनिच्छा छ भने पनि श्रीमान्सँग हँसिलो मुद्रामा भन्न सक्नुहुन्छ— आज हुन्न है ? तपाइर्ंको श्रीमान् वास्तवमै तपाईंलाई माया गर्नुहुन्छ भने जबर्जस्ती गर्ने चाहना राख्नुहुन्न। तपाईंले यदि यो समस्या आफूमा भएको स्वीकार गर्नुभएको छ भने यस विषयमा पनि श्रीमान्सँग कुराकानी गर्नु आवश्यक छ।
जहाँसम्म शारीरिक तन्दुरुस्तीको कुरा छ, अहिले शारीरिक रूपमा आफूलाई फुर्तिलो राख्न विभिन्न किसिमका शारीरिक अभ्यास गर्न सकिन्छ। आधुनिकताको विकाससँगै अहिले मनोरञ्जनका अनेकन साधन उपलब्ध छन्। रमाइला ठाउँ घुम्ने वा चलचित्र हेर्ने, योग गर्ने वा यस्तै अन्य मनोरञ्जक गतिविधिमा संलग्न भएर पनि आफूलाई स्वस्थ र ऊर्जाशील राख्न सकिन्छ। तपाईंले यसतर्फ पनि ध्यान दिनु आवश्यक छ। तपाईंका श्रीमान्ले विविधता खोज्नुभएको छ भने त्यो पनि स्वाभाविक हो। यसले उहाँलाई मात्र होइन, तपाईंलाई पनि राम्रै गर्छ। यो दुवै जनाको आवश्यकता हो भन्ने बुझेर त्यसैअनुरूप व्यवहार गर्न थाल्नुहोस्। विस्तारै तपाईंका सारा समस्या निवारण हुँदै जानेछन्।