'राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैनन्।' यो भनाइलाई आधार मान्ने हो भने पनि मोदी विचारलाई थुप्रै तरिकाले अथ्र्याउन सकिन्छ। दक्षिण एसियाको राजनीतिमा प्रभाव जमाउने आइडिया मान्न सकिएला। विश्व राजनीतिमा स्थापित हुने कला भन्न सकिएला। हँसाएर फसाउने तरिका भन्न सकिएन। फकाएर लडाउने प्रक्रिया ठान्न पनि सकिएला, तर मानिस सधैंभरि 'साउनमा आँखा फुटेको गोरु' बन्न सक्दैन। त्यसैले मोदी वाणीलाई कूटनीति र राजनीतिभन्दा एक तहमाथिको बाध्यकारी व्यावहारिक सम्बोधन भन्नु उपयुक्त हुने गजुरियल ठम्याइ छ।
उपेन्द्र महतोको एउटा लोकप्रिय भनाइ छ— गरिबलाई पनि धनी नबनाई कुनै पनि धनी सुरक्षित हुन सक्दैन। सम्भवतः मोदीजीले छिमेकको यो सत्यतालाई मनन गरेर हामीलाई नमन गरेका हुन् कि ! किनभने जबसम्म नेपाल, बंगालादेश, पाकिस्तान, भुटान, श्रीलंका, मालदिभ्समा गरिबी रहन्छ, तबसम्म भारतमा पनि गरिबी हट्दैन। अशान्त छिमेकी देशको बीचमा रहेर भारतले शान्तिको स्ाास पनि फेर्न पाउँदैन। यो सत्यता मनन गरेर मोदीजीले बाध्यात्मक व्यावहारिक भाषण गरेर नेपालीको मन जित्ने प्रयास गरेका हुन सक्ने गजुरियल बुझाइ छ।
मन जित्ने ! प्रश्न उठ्न सक्छ, यो कुनै मन र मनको लडाइँ हो र जित्न र हार्नलाई ? जवाफ सजिलो छ, लडाइँमात्र होइन, हामी युद्धमा थियौं। नेपाल र भारतबीच कैले शीतयुद्ध चल्यो। कैले वाकयुद्ध चल्यो। कतिपय इस्युमा मनमनै हामीले सराप्यौं होला। कुनै एजेन्डामा भित्रभित्रै उनीहरूले धारे हात लगाए होला। यो मन र त्यो मनको वर्षौंको तीतोलाई क्षणिक नै सही, गुलियो बनाउनुलाई मन जितेकै मान्नुपर्ने गजुरियल ठम्याइ छ।
मन मात्र होइन, बुद्धको जन्मस्थलमा अड्किएको हाम्रो राष्ट्रियतालाई विकासको बाटोमा बढ्न प्रोत्साहन पनि मोदीले दिएको गजुरियल विश्लेषण छ। यसअघि हामी एउटै एजेन्डामा अड्किएका थियौं, बुद्धको जन्म भारतमा भएको होइन भन्नेमा। बुद्धको जन्मस्थलको पुष्टि गर्दा गर्दै आफ्नै जन्मस्थल बिर्सिन खोजेका हामीलाई अब त्यो विषयमा थप समय खर्चिनु परेन। स्वयम् मोदीले बुद्ध जन्मस्थल नेपाल हो भनेपछि हामीले थप नयाँ कुरा खोज्न फुर्सद पाएको पनि गजुरियल निष्कर्ष छ।
मोदीले हामीलाई विकासको बाटोमा बढ्न प्रेरित गरेका छन्। यसअघि त हामी राष्ट्रियताकै विषयमा अलमलिइरहेका थियौं। हाम्रो सार्वभौमिकता खतरामा रहेको भनेर कुर्लिरहन्थ्यौं। भारतले राष्ट्रियतामाथि गिद्धे नजर लायो भनेर उर्लिरहन्थ्यौं, तर मोदीले नेपाल एक सार्वभौम राष्ट्र हो भनेर बोलिसकेपछि थप केही गर्नु जरुरी रहेन, यसका लागि नयाँ कामतिर लागे भयो।
मोदीजीको भाषणमा खड्किएका केही कुरा पनि सम्झनु उपयुक्त हुन्छ। ती हुन् नेपाल-भारत सीमा समस्या। भन्सार नाकाको दुःख। दूतावासहरूको गतिविधि। एजेन्टहरूको चुरीफुरी। मोदी बाले यतातिर ध्यान दिएनन् वा बिर्सिए। शब्दमा यी विषयहरू नछोए पनि सारमा यी कुरा पनि नआएका होइनन्। त्यसैले हिन्दीमै भनौं, ए बोर्डरका सीमा मिचुवाहरू हो, भन्सारका यात्री लुटाहाहरू हो, दूतावासभित्रका हेपाहाहरू हो, भँडुवा एजेन्टहरू हो ! मोदीजीको नेपाल प्रवचन ध्यान से सुनो, मनन करो, व्यवहारमें लागू करो और मोदीजीको सफल बनाओं, कि कसो ?