साप्ताहिक संवाददाता
हवाईजहाज
मलाई संसारमा सबैभन्दा डर लाग्ने कुरा हवाईजहाज चढ्नु हो। नेपालभित्र म सकेसम्म हवाईजहाजको यात्रा गर्दिनँ। काठमाडौंबाहिरका अधिकांश कार्यक्रममा सहभागिता जनाउन म कारको सहारा लिन्छु। विदेशका कार्यक्रममा भने हवाइजहाज नचढी हुँदैन। काठमाडौंको एयरपोर्टबाट उडेको हवाइजहाज गन्तव्यमा नपुगुञ्जेल मेरो मुटुको धड्कन तीव्र रहन्छ।
छोरीको नाम
म आमा बनेको खबर त अधिकांश दर्शकले थाहा पाइसक्नुभएको छ। पहिलो सन्तानका रूपमा मैले छोरी जन्माएकी छु। छोरी जन्मिएपछि नाम के राख्ने भन्ने विषयमा धेरै विचार-विमर्श गरियो। अन्ततः हामीले छोरीको नाम 'सुबिहानी' राख्यौं। यो नाम कसरी जुर्यो भन्ने जिज्ञासा पैदा हुनसक्छ। मैले बिहानै छोरी जन्माएकी थिएँ। मेरी बास्सैकी सुन्तलीले बिहानै छोरी जन्माएकीले छोरीको नाम— सुबिहानी।
गायन
अभिनयमा आउनुभन्दा अघि ममा गायिका बन्ने ठूलो रहर थियो। गीत गाएर स्थापित भएपछि नाम र दाम कमाइन्छ भन्ने सुनेकी थिएँ। अहिले पनि मेरो गीत गाउने रहर बाँकी नै छ, तर बिडम्बना मेरो स्वरले साथ दिइरहेको छैन। मेरो स्वरमा गीत रेकर्ड भयो भने त्यो गीत गाईजात्रे कार्यक्रममा मात्र सुहाउला भन्ने डरले अहिलेसम्म यो रहर पुरा गर्ने आँट आएको छैन।
दूध चिया
मलाई सबैभन्दा मन पर्ने पेय दूध हालेको चीया हो। म बरु एक दुई छाक खाना नखाई बस्न सक्छु तर दुध हालेको चिया नखाई बस्न सक्दिनँ। मेरो यो बानी म गर्भवती भएलगत्तै रोक्नुपर्ने भयो। डाक्टरले मलाई विडियम सुगर (गर्भवती भएको बेला हुने सुगर) भएको बताउँदै दूधको चिया खान रोकिदिए। अब मैले जीवनभर दूधको चिया खान नपाउने भएकी छु।
अभिनयविहीन एक वर्ष
म गर्भवती भएपछि ठ्याक्कै एक वर्ष दर्शकमाझ आउन पाइनँ। अधिकांश दर्शकलाई यो कुरा थाहा छैन। आमा बन्ने भएपछि रेस्ट गर्नुपर्ने भएकाले मैले पछिल्लो एक वर्ष रंगमञ्च र मेरी बास्सैमा अभिनय गरिनँ। अभिनयबिनाको यो एक वर्ष मैले कसरी बिताएँ, मलाई मात्र थाहा छ। सन्तानका लागि एउटी आमाले कतिसम्म त्याग गर्नुपर्दो रहेछ भन्ने कुरा पनि अहिले आएर बुझेकी छु।