पोखरामा सञ्चालित सहारा एकेडेमीका लागि आर्थिक सहयोग जुटाउन हङकङमा सांगीतिक कार्यक्रम हुने भएको छ। आगामी असोज १५ गते फूलपातीका दिन प्रस्तुत हुने उक्त कार्यक्रममा गायक/गायिका एस कुमार, अञ्जु पन्त, इन्दिरा गुरुङ, भलिबल खेलाडी सिपोरा गुरुङलगायत स्थानीय कलाकारहरू देव गुरुङ र सञ्जीव गुरुङको सहभागिता रहनेछ। नेपाली फुटबलको विकासका लागि निजी क्षेत्रको पहलमा सञ्चालित सहारा एकेडेमीले हाल २२ जना बालकलाई आवाससहित खेलकुद, पठनपाठन तथा स्वास्थ्यको नि:शुल्क सुविधा उपलब्ध गराउँदै आएको छ। एकेडेमीलाई सहयोग पुर्याउने उद्देश्यले 'सहारा हङकङ' समेत गठन गरिएको छ। संस्था गठन भएयता हङकङबाट ३० लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग उपलब्ध गराइसकिएको छ। दोस्रो पटक सञ्चालन हुन लागेको सहारा साँझबाट कम्तीमा १ लाख हङकङ डलर बचत गर्ने लक्ष्य राखिएको सहारा हङकङका अध्यक्ष दीपक गुरुङले बताए। अर्को संस्था ह्युमन नेचर फाउन्डेसन नेपालले समेत पर्सी आइतबार सांगीतिक कार्यक्रम 'मेलोडी नाइट' को आयोजना गर्दैछ। याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा हुने कार्यक्रममा सुरेश कुमार, राजेश पायल राई, अविनाश घिसिङ, भरत सिटौला, राज तामाङ आदि कलाकारको सहभागिता रहनेछ। साप्ताहिक दुवै सांगीतिक समारोहको 'पि्रन्ट मिडिया पार्टनर' हो।