नेपालमा माउन्टेन बाइकका सौखिनहरूको संख्या निरन्तर बढिरहेको छ। नेपालका व्यस्त सहरहरूमा मात्र नभएर एडभेन्चर टुरिज्मका लागि समेत माउन्टेन बाइक प्रयोगकर्ताको संख्या बढिरहेको छ। यसैलाई मध्यनजर गर्दै काठमाडौंको पानीपोखरीस्थित काठमाडौं बाइक स्टेसनले सबै किसिमका बाइक उपलब्ध गराउन थालेको छ। बिक्री गर्ने, भाडामा दिने र मर्मत-सम्भार गराउने काम गर्दै आएको यो स्टेसनले बाइक राइडिङका लागि लोकेसन तथा अन्य परामर्श पनि उपलब्ध गराउँछ। स्टेसनका सञ्चालक प्रयास तामाङका अनुसार त्यहाँ जर्मनी, अमेरिका, ताइवान तथा चीनबाट आयात गरिएका बाइकहरू बिक्री भैरहेका छन्। स्टेसनमा ५५ हजारदेखि ४ लाखसम्मका बाइक उपलब्ध हुने उनले जानकारी दिए। 'यतिबेला बाइकका सौखिन नेपालीहरू बढिरहेका छन्,' तामाङले भने। काठमाडौं बाइकस्टेसनमा कब, गाइन्ट, मेरिडा, ट्रेक, ग्रे फिसर, सिम्पानो, तिरुपति, फक्स आदि कम्पनीका बाइकहरू उपलब्ध छन्।