गिसेल बन्डचेनसँगै अर्का हलिउड कलाकार एडवार्ड नोर्टनले समेत पुरस्कारका लागि रकम सहयोग गरेका थिए। ४४ वर्षीय नोर्टन सन् २०१० यता संयुक्त राष्ट्र संघको जैविक विविधताका क्षेत्रका सद्भावना दूतका रूपमा क्रियाशील छन्।
पुरस्कार पाएपछि तालसँग सम्बन्धित ३ मिनेटको वृत्तचित्र संयुक्त राष्ट्रसंघीय महासभामा देखाइँदैछ। ६९ औं महासभा उद्घाटन कार्यक्रमका दिन (१७ सेप्टेम्बरमा) न्युयोर्कस्थित लिंकन सेेन्टरमा उक्त वृत्तचित्र प्रदर्शन गरिनेछ। उक्त वृत्तचित्र राष्ट्र संघका १ सय ९३ राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख, हलिउड कलाकार एवं अति विशिष्ट अतिथिले हेर्नेछन्। उक्त अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि राष्ट्रसंघ महासचिव बान कि मुनसम्मको उपस्थित हुने बताइन्छ।
कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो तालको वृत्तचित्रले इक्वेटर पुरस्कार पाएपछि महासभामा देखाउन छनौटमा परेको हो। ताल आसपासका क्षेत्रमा ४ वर्षअघिदेखि काम गर्दै आएको एड नेपालले इक्वेटर पुरस्कार जितेपछि वृत्तचित्र निर्माणका लागि युएनडीपी मुख्यालयका श्रव्यदृष्य प्रोडियुसर एन्डि्रयु हेनको टोली जगदीशपुर आएको थियो। उक्त टोलीले २ दिन लगाई जगदीशपुर ताल र कास्कीको संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्सेका गतिविधिहरू क्यामेरामा कैद गरेको थियो। वृत्तचित्रमा ताल क्षेत्रका बासिन्दाको आर्थिक-सामाजिक अवस्था एवं सांस्कृतिक पहिचान पनि समेटिएको छ।
पुरस्कार मात्र जितेको नभै राम्रो काम गरेर विशेष दर्जा पाएकाले वृत्तचित्रका लागि छानिएको युएनडिपी विश्व वातावरण कोष साना अनुदान कार्यक्रमका राष्ट्रिय संयोजक गोपाल शेरचनले बताए। शेरचनका अनुसार संसारका १ सय २१ देशबाट १ हजार २ सय ३४ संस्थाले पुरस्कारका लागि आवेदन गरेकोमा १७ मुलुकका २६ वटा संस्थाले पुरस्कार जितेका छन् भने राम्रो काम गरेर पुरस्कार जितेका ४ वटा संस्थाले विशेष दर्जा पाएका छन्। त्यसमध्ये २ संस्था नेपालका छन्। विशेष दर्जा पाउने संस्थासँग सम्बन्धित वृत्तचित्र संयुक्त राष्ट्रसंघीय महासभामा देखाइन्छ। जैविक विविधता संरक्षणमा जगदीशपुरमा उत्कृष्ट काम गरेको एड नेपाल तथा कास्कीको संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्से दुवैले विशेष दर्जा पाएका छन्।
जगदीशपुर ताल आसपासमा सञ्चालित कार्यक्रमबाट स्थानीय महिलाले चोरी-सिकार न्यूनीकरण गरी चरा संरक्षण गर्दै स-सानो ऋण लिई कुटीर उद्योग सञ्चालन गरेर राम्रोसँग घर-व्यवहार चलाइरहेका छन्। त्यस्तै चरा पर्यटन प्रवर्द्धन एवं जातजातिबीच साम्प्रदायिक सद्भाव कायम गर्न सहयोग गरेकाले पनि आफ्ने संस्था पुरस्कृत भएको एड नेपालका सचिव डा. धुव्र गौतमले बताए।
जगदीशपुरसँगै विशेष दर्जा पाएको कास्कीको संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्सेले १ सयभन्दा बढी स-साना विद्युत् वितरण केन्द्र बनाई स्थानीय उपभोत्तालाई विद्युत् उपभोग गर्न दिएर वैकल्पिक ऊर्जाको दिगो व्यवस्थापनमा मद्दत पुर्याएको छ। त्यस्तै वन्यजन्तुको चोरी-सिकारी नियन्त्रण एवं गैरकाठजन्य वनपैदावार उत्पादन गरी स्थानीय जनतालाई फाइदा पुर्याएकाले पनि उक्त समिति पुरस्कृत भएको हो। पुरस्कार जितेका २६ संस्थालाई आगामी २२ सेप्टेम्बरमा महासचिव बान कि मुनले पुरस्कार प्रदान गर्ने बताइएको छ। पुरस्कारको राशि जनही ५ हजार डलर छ। विशेष दर्जा पाएका ४ संस्था प्रत्येकले थप १५ हजार अमेरिकी डलर प्राप्त गर्ने छन्। विशेष दर्जा पाउनेमा केन्या र ब्राजिलका २ संस्था पनि छन् भने ३ मुलुकका ४ संस्थाको वृत्तचित्र महासभामा देखाइनेछ।