साप्ताहिक संवाददाता
चकलेटको घोषणा
हास्यकलाकार निर्मल शर्माले निर्देशन गर्ने चलचित्र 'चकलेट' को छायांकन आज शुक्रबार प्रारम्भ हुने भएको छ। मंगलबार काठमाडौंमा चलचित्रका बारेमा जानकारी दिन आयोजित समारोहमा नायिका पुजना स्त्रीले हङकङमा बसोबास गर्ने खुसी गुरुङसँगको सहकार्यमा चलचित्र निर्माण गर्न लागेको बताइन्। यो चलचित्रमा मिस्टर नेपाल तथा चिकित्सक आयुष्मान घिमिरेले नायकका रूपमा डेब्यु गर्दैछन्। चलचित्रमा पुजना र आयुष्मानका अतिरिक्त अनुज शाक्य, नम्रता झा, केशव भट्टराई आदिले पनि अभिनय गर्नेछन्।
श्रीकृष्णलाई श्रद्धाञ्जली
दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको १३ औं दिनको पुण्य तिथि पारेर काठमाडौंका दुई भिन्न स्थानमा आयोजित श्रद्धाञ्जली सभामा कलाकार तथा परिवारका सदस्यले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे। नयाँ बजारमा परिवारद्वारा आयोजित शोकसभामा परिवारका सदस्यले प्रज्ञाभवनमा श्रीकृष्णको पूर्ण कदको प्रतिमा राख्नुपर्ने माग राखेका थिए। कलाकार संघले अनामनगरमा आयोजना गरेको शोकसभामा पनि चलचित्रकर्मीहरूले श्रीकृष्णको व्यक्तित्व एवं अभिनयको स्मरण गरेका थिए।
ओस्कारमा झोला
द एकेडेमी अफ मोसन पिक्चर आर्ट एन्ड साइन्सेसले सन् २०१५ को ओस्कार एवार्डका लागि नेपालका तर्फबाट यादव भट्टराईद्वारा निर्देशित चलचित्र 'झोला' लाई पठाउने सिफारिस गरेको छ। ेब्रुअरी २२ का दिन अमेरिकाको लस एन्जलसमा आयोजना हुने ८७ ओस्कार एवार्डका लागि विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनौट समितिले चलचित्र झोलाको छनौट गरेको हो।
६ एकान ६ को बोनस
गत वर्षको अत्यधिक सफल चलचित्र '६ एकान ६' ले आफ्ना सम्पूर्ण कलाकार तथा प्राविधिकहरूलाई बोनस प्रदान गरेको छ। समारोहमा सम्मानस्वरुप स्व. शिव रेग्मीको परिवारलाई नगद ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरियो भने सुनकोसी बाढीपीडितलाई २५ हजार तथा चलचित्र पत्रकार संघलाई १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरियो।
बागबजारमा नयाँ हल
काठमाडौंको बागबजारमा स्थापना गरिएको नयाँ सिनेमा हल सिटीम्याक्स मल्टिप्लेक्सको चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले गत शनिबार उद्घाटन गरेका छन्। शनिबारदेखि नै नियमित शो प्रारम्भ भएको उक्त सिनेमा हलमा १ सय २२ सिट क्षमता छ। हल परिसरमा डिस्को, पब, स्नूकर हाउस, फुडकोर्ट आदि पनि छन्। उद्घाटनपछि हलमा चलचित्र 'ताण्डव' प्रदर्शन गरिएको थियो।
काठमाडौंमा अनुपम खेर
बलिउड अभिनेता अनुपम खेरले गत साता काठमाडौं आएर आर्मी अफिसर्स क्लबमा मञ्चन भएको नाटक 'कुछ भी हो सकता है' मा अभिनय गरेका छन्। खेरको एकल प्रस्तुतिको उक्त नाटक बालबालिकाको क्षेत्रमा काम गरिरहेको 'कोसेली' फाउन्डेसनको सहयोगका लागि मञ्चन गरिएको हो। नाटक मञ्चन हुनुअघि खेरले बालबालिकाहरूका लागि सहयोग जुटाउन नाटक लिएर आएको बताएका थिए। मञ्चित नाटक अनुपम खेरकै जीवनमा आधारित छ। तीनदिने काठमाडौं बसाइका क्रममा खेरले पशुपतिनाथको दर्शन तथा बौद्ध स्तूप अवलोकन गर्नुका साथै ठमेल क्ष्ाेत्रको भ्रमण पनि गरेका थिए।