कार्यक्रमको मुख्य आकर्षण मह जोडीले बिजेता गुरुङलाई १ लाख ६० हजार रुपैयाँबराबरको पियाजिओ स्कुटरको साँचो हस्तान्तरण गरे। गुरुङले ३ लाखभन्दा बढी मत ल्याएर उपाधि जितेका हुन। गुरुङले स्कुटरसँगै सात दिनको बेलायतको सांगीतिक भ्रमण एवं बलिउडका चर्चित अभिनेता साहरूख खानसँग स्टेजमा आफनो प्रस्तुति दिने अवसरसमेत प्राप्त गर्नेछन्। निकै हषिर्त देखिएका गुरुङले भने, 'यो जितले सांगीतिक क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको छ।' गुरुङ हिमालपारिको जिल्ला मुस्ताङको गुम्बामा पढाउँदै आएका छन्।
बिग आइकनको पाँचौं श्रृंखलामा चितवनका सन्दिप ढुङ्गाना फस्ट रनर्सअप भए। पोखरामा बसेर इन्जिनियरिङ अध्ययनरत ढुङ्गानाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै धरान स्थायी घर भई पोखरामा संगीत सिक्दै आएका राम लिम्बूले सेकेन्ड रनर्सअप हुँदै ५० हजार रुपैयाँ जिते। आकर्षक प्रस्तुति दिएकी हेमजाकी ल्यामो डोल्कर थर्ड रनर्सअप हुँदै दुई गीत रेकर्ड गराउने अवसर पाएकी छिन्।
५० जिल्लाका ८ सय ९० जना प्रतिस्पर्धीले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट १० मा परेका प्रतिस्पर्धीले आकर्षक प्रस्तुति दिएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।