भरतपुर-७ स्थित उज्वल टोलमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको चोरी नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा चोरीमा संलग्नहरूले आफूले चोरी गर्नुको कारण सुनाए। सुनको औंठी र टिभी चोरीमा पक्राउ परेका नारायाणगढ बजारका रोशन श्रेष्ठले खर्च नभएकाले चोरीमा लागेको बताए। उनले आफूजस्तै चोरी गर्दै हिंड्नेहरू धेरै भएकाले उनीहरूबाट बच्न सुझाव पनि दिए।
'पैसाको आवश्यकता परेको थियो,' श्रेष्ठले भने, 'त्यही भएर चोरी गर्न पुगें।' उनले दिउँसो घर हेर्दै हिंड्ने र राति योजना बनाएर चोरी गर्न जाने बताए। श्रेष्ठले घरका झ्याल, ढोका खुल्ला नराख्न पनि स्थानीय बासिन्दाहरूलाई सल्लाह दिए। 'कतै जाँदा घर खाली छाडेर नजानुहोला,' रोशनले भने, 'चोरहरू घर खाली भएको मौका छोपी चोर्न आउँछन्, तपाईंहरूले थाहा नपाई चोरेर भाग्छन्।' त्यस्तै ल्यापटप चोरीमा पक्राउ परेका गोरखाका सन्तोष गुरुङले रोजगारी नपाएकाले आफू चोरी गर्न बाध्य भएको बताए।
उनी यसअघि पाँच वर्ष जेल बसेर छुटेका हुन्। 'जानी-जानी चोरी गरेको होइन,' गुरुङले भने, 'बाध्यताका कारण चोरी गर्नुपरेको हो।' अन्तर्त्रिmयामा ७, ८, १३ तथा १४ वडाका १४ वटा टोल सुधार समितिका प्रमुख तथा स्थानीय बासिन्दाहरूको सहभागिता थियो। चाडबाडको समयमा गाउँघरमा बढी चोरी हुने गरेको स्थानीय बासिन्दाहरूको गुनासो थियो।
चोरीमा संलग्नहरूले कसरी चोरी गर्छन् भनेर सबैलाई जानकारी गराउन उनीहरूलाई गाउँलेहरूका बीच उभ्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शान्तिराज कोइरालाले बताए। 'यो चोरीका घट्ना कम गराउने नौलो तरिका हो,' उनले भने, 'चोरले भनेपछि गाउँहरूले विश्वास गर्छन्, चोरीबाट बच्ने उपाय थाहा पाएर आफैंले सावधानी अपउनाउँदा यस्ता घटनामा कमी आउँछ।' कोइरालाले चोरीका कतिपय घटना आफ्नै लापरबाहीले हुने गरेको पनि बताए। यस्तै प्रकृतिको कार्यक्रम भरतपुरका अन्य वडामा पनि सम्पन्न गरिने प्रहरीले जनाएको छ।