'तीन वर्षअघि हामी दक्षिण कोरिया आउँदा यहाँ ६ हजार नेपाली बसोबास गर्थे। आज सुन्दैछु, यो संख्या २५ हजार पुगिसकेको छ। हाम्रो देशले रोजगारी दिन नसकेकै कारण तपाईंहरू यहाँ आइपुग्नुभएको हो। जे-जसो भए पनि स्वदेशका निम्ति केही योगदान पुर्याउनु हामी सबैको कर्तव्य हो। तन्नेरी वयमै आफ्नो माटो र घरपरिवार छाडेर बिदेसिनुपरेका संसारभरका आप्रवासी कामदारहरूलाई म अभिवादन गर्छु। त्यसैले सर्वप्रथम म नै तपाईंहरूका निम्ति ताली बजाउँछु।' नेपथ्यका गायक अमृत गुरुङले यति भनेर दर्शकहरूका निम्ति ताली बजाउन थालेपछि सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा जम्मा भएका हजारौं दर्शकले पनि प्रत्युत्तरमा ताली बजाए। सरकारी तवरबाटै पछिल्लो समय 'इम्प्लोयमेन्ट पर्मिट सिस्टम' (इपीएस) को बन्दोबस्त भएपछि त यो संख्या अकासिएको छ। दुई घन्टा लामो प्रस्तुतिका क्रममा अमृतले दर्शकलाई उनीहरू जन्मिए-हुर्किएको पहाड, पखेरा र बस्तीहरूको रमाइलो यात्रा गराएका थिए। कार्यक्रममा नेपथ्यले संकलन गरेका लोकलयसँगै भिडियो पनि देखाइएको थियो। नेपथ्यको प्रस्तुति अघि नृत्यांगना तेरिया मगरले केही नृत्य देखाएकी थिइन्। नेपथ्यले यसअघिसन् २००५ र २०१० मा दक्षिण कोरियामा आफूलाई प्रस्तुत गरिसकेको थियो।