मकवानपुरको थाहा नगरपालिकामा भदौ २६ गतेदेखि थाहा महोत्सव सञ्चालन भैरहेको छ। मकवानपुरको उत्तरी क्षेत्रका उद्याेगी एवं व्यवसायीहरूको लामो प्रयासपछि उक्त व्यापार मेला सम्भव भएको हो। भोलि असोज ४ गतेसम्म चल्ने मेलामा १ सय ७० वटा स्टल छन्। मेलाको मुख्य आकर्षण बाख्राको चिज, सिस्नुको धूलो तथा मेलामै चिउरा कुटेर बिक्री गरिनु हो। दामन, पालुङ र बज्रवाराही गाविसलाई समेटेर तीन महिनाअघि मात्र थाहा नगरपालिका घोषणा गरिएको थियो। थाहा नगरपालिकाको पहिचानलाई देशव्यापी बनाउन यो मेला आयोजित गरिएको हो। महोत्सवमा थाहा आइडल, कृषि उपज, गैरकाष्ठ बन पैदावार, हस्तकला, जैविक तथा वनस्पति प्रदर्शनी, आलुका परिकारको विशेष स्टल, सूचना प्रविधि, बाल मेला तथा विविध मनोरञ्जक कार्यक्रमहरू सञ्चालन भैरहेका छन्। मेलालाई राष्ट्रिय एवं स्थानीय कलाकारहरूले थप रोचक बनाइ रहेका छन्। मेलाअन्तर्गत कृत्रिम ताल निर्माण गरेर डुंगा चलाउने व्यवस्थासमेत गरिएको छ।