साप्ताहिक संवाददाता
दसैंलाई नयाँ लुगा लगाउने र मिठो खाने पर्वका रूपमा लिइन्छ । त्यसैले लुगाफाटो र अन्य सामानबाहेक रेस्टुराँमा पाइने विभिन्न परिकार पनि आफन्तहरूलाई उपहार दिन सकिन्छ । अनटि्रट डट कम नामक वेबसाइटले यो कार्यमा सहयोग पुर्याउन सक्छ । उक्त वेबसाइटमा नेपालमा रहेका विभिन्न रेस्टुराँको मेनु उपलब्ध हुन्छ । यो साइटले आफ्ना आफन्त वा साथीभाइलाई यस्तै तरिकाले भोज ख्वाउन वा टि्रट दिनसहयोग पुर्याउँछ । स्वदेश वा विदेशमा रहेका व्यक्तिले आफन्तलाई केही ख्वाउनुपरे जसलाई ख्वाउनु पर्ने हो, ती व्यक्तिको नाम र फोन नम्बर पनि वेबसाइटमै उल्लेख गर्नुपर्छ । त्यसपछि बाँकी सबै जिम्मेवारी वेबसाइटकै माध्यमले पूरा हुन्छ । 'आई एम अन टि्रट, आई इट एन्ड गो फ्रि विदाउट पेमेन्ट' भन्ने उद्देश्यलाई आत्मसात् गर्ने गरी साइटको डिजाइन गरिएको यसका संस्थापक कृष्ण सुनुवार बताउँछन् । टि्रट लिने, तर पैसा आफुले तिर्नु नपर्ने भएपछि कसको मन खुसी नहोला ?
कतिपयका आफन्त यता, आफू विदेशमा वा आफू यता, आफन्त विदेशमा । आफन्तलाई यस्तै तरिकाले भोज ख्वाउने चाहना धेरैको हुन्छ । त्यस्तो भोज रेस्टुराँमै गएर वा घरैमा पनि खान सकिन्छ । त्यस्ता व्यक्तिहरूको चाहना पूरा गरिदिने मध्यस्थकर्ताको काम उक्त वेबसाइटले गरिरहेको छ । यद्यपि यसरी मध्यस्थ बनिदिएबापत छुट्टै शुल्क तिर्नु पर्दैन । रेस्टुराँकै मूल्यमा ती सबै कुरा उपलब्ध हुन्छन् ।
मुन्चा डटकम अर्को उदाहरण हो । नेपालमा अनलाइन सपिङको सुरुवात गर्ने श्रेय मुन्चा डट कमलाई नै जान्छ । यसले खासगरी विदेशबाट अर्डर गरिएका विभिन्न सामग्री नेपाली ग्राहकको घरघरसम्म पुर्याइदिने काम गर्छ । अन्य अवसरमा नै बढी भीड हुने यो साइटमा दसैंतिहारजस्ता चाडपर्वका अवसरमा त अझ बढी भीड हुन्छ । आफ्नो लोकप्रियताकै कारण मुन्चा डट कमले नेपालका विभिन्न सहरमा समेत शाखा विस्तार गरिसकेको छ ।
हरिलो डट कम त्यस्तै अर्को अनलाइन सपिङ साइट हो । यो साइटले विदेशी सामानहरू किन्न सकिने व्यवस्था गरेको छ । विश्वका प्रमुख देशका उत्पादन उक्त साइटमार्फत किन्न सकिन्छ । यो साइट विशेषगरी ग्याजेट्स खरिदका लागि लोकप्रिय छ । यसको सहयोगले इबे, अमेजन आदि प्रतिष्ठित कम्पनीका साइट मार्फत पनि सामान खरिद गर्न सकिन्छ ।
भाटभटेनी सुपर स्टोरमा उपलब्ध सामग्रीले अहिले काठमाडौंमा निकै लोकप्रियता पाएका छन् । ती सामानलाई अनलाइन पनि खरिद गर्न र उपहारका रूपमा पठाउन सकिन्छ । भाटभटेनी अनलाइन यसको सपिङ साइट हो । नेपालमा सपिङ कम्प्लेक्सले दिएको यो पहिलो सुविधा हो ।
ठमेल डटकमलाई पनि अनलाइन सपिङको अग्रणी साइट मानिन्छ । सन् २००० मै प्रारम्भ भएको उक्त साइटमा विभिन्न गिफ्ट पठाउन एवं खरिद गर्न सकिन्छ ।
यही कुरालाई दृष्टिगत गरी निर्माण गरिएको अर्को साइट फुडमान्डु डट कम भने पहिलेदेखि नै प्रचलित छ । उपयुक्त समयमा सेवा उपलब्ध गराउने प्रयोजनका लागि फोन गरेर वा यो साइटमा लग इन गरेर फारम भरेपछि आफ्नो रुचिअनुसारको खाना उपलब्ध गराउने काम फुडमान्डु डटकमले गर्छ । फुडमान्डुको वेबसाइटमा काठमाडौंको रिङ रोडभित्रका ८० भन्दा बढी रेस्टुराँका मेनु फेला पार्न सकिन्छ । ग्राहकले आफूलाई पायक पर्ने अथवा आफुले रोजेको रेस्टुराँको खाना अनलाइन रुपमै अर्डर गर्न सक्छन् ।
फुडमान्डुमार्फत आफ्नो बजेट अनुसारको खाना अर्डर गरेर आफन्तलाई उपहार दिन सकिन्छ । यसका लागि सहरका विभिन्न स्थानमा सवारी साधनसहित डेलिभरी पर्सनको व्यवस्था गरिएको छ । यो व्यवसाय प्रारम्भ गर्दा दिउँसोको कर्पोरेट हाउसलाई लक्षित गरिएको भए पनि पछिल्लो समयमा घरेलु तथा विदेशी ग्राहकसमेत प्रशस्त भएको फुडमान्डु डटकमका सञ्चालक मनोहर अधिकारी बताउँछन् । अहिले त विदेशी ग्राहक नै धेरै छन् । विदेशमा यस्तो संस्कृति व्यापक भएको र नेपालीहरू अझै यसमा अभ्यस्त नभैसकेकाले यस्तो भएको हो ।
इस्टोरनेपाल डटकमले अन्य कुराका साथै खाजाका केही परिकार पनि उपलब्ध गराउँछ । विदेशमा बसेका ब्यक्तिहरूले नेपालमा भएका आफन्तलाई यस्ता परिकार उपहारका रूपमा उपलब्ध गराउन सक्छन् । विशेष गरी मम, मिठाई र केकजस्ता परिकार बढी उपलब्ध गराइने इस्टोरका सञ्चालक बिपिन खत्री बताउँछन् । अहिले पुराना र नियमित ग्राहकहरूले यो साइटको सेवा उपभोग गरिरहेका छन् । खाना र खाजाजस्ता परिकार स्वास्थ्यका लागि संवेदनशील भएकाले ग्राहकलाई ढुक्कसँग गुणस्तरीय परिकार उपलब्ध गराउनुपर्छ भन्ने मान्यताका साथ आफूहरूले काम गरिरहेको खत्रीले जानकारी दिए ।
अनलाइन रूपमा खाना अर्डर गर्नेहरूको संख्या बढ्दै गएको छ । प्रविधिसँग सुमधुर सम्बन्ध राख्ने युवापुस्ताले यस्ता कार्यमा विशेष चासो राख्छ । पछिल्लो समयमा यसको दायरा फराकिलो बन्दै गएको छ । त्यसबाहेक नेपाली बजारमा नेपवे डटकम, रोजेको डटकम, एस कान्तिपुर आदि वेबसाइट पनि सक्रिय छन् ।
विश्वमा अनलाइन सपिङको प्रारम्भ सन् १९९४ देखि भएको मानिन्छ । त्यतिबेला ई-बैंकिङदेखि पिज्जा हटको अनलाइन पिज्जा सपसमेत खुलेको थियो । त्यसपछिको समयमा अनलाइन सपमा ठूलै उपलब्धि देखिएको छ । ई-बैंकिङ मार्फत संसारको एउटा कुनाबाट अर्को कुनामा सामान किनबेच गर्न सकिन्छ । यही कार्यलाई पछ्याउदै नेपालमा पनि अनलाइन सेवा दिने विभिन्न कम्पनी एवं संस्थाहरू परिचित हुने क्रममा छन् । तीमध्ये धेरैजसो कम्पनी वा संस्थाले राजधानीलाई नै कार्यक्षेत्र बनाएका छन् । पछिल्लो समयमा यस्ता साइटको लोकप्रियता बढ्दो छ, जसका कारण दसैंतिहारजस्ता चाडपर्वलाई पनि उल्लासमय बनाउन सहयोग पुगेको छ ।