साप्ताहिक संवाददाता
हङकङमा नेफ्टा
हङकङमा आयोजित एक समारोहमा सातौं नेफ्टा एवार्ड वितरण गरियो। गत सोमबार सम्पन्न उक्त समारोहमा वर्षका उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीहरूलाई पुरस्कृत गरिएको थियो। समारोहमा काठमाडौंबाट गएका चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति देखिन्थ्यो। नेफ्टा एवार्ड चलचित्र प्राविधिक संघले वितरण गर्दै आएको छ।
एउटा साथीको टे्रलर
सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशनको चलचित्र 'एउटा साथी' को टे्रलर सार्वजनिक भएको छ। कात्तिक १४ गते सार्वजनिक हुने राम खनालको यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह, जोन तामाङ आदि कलाकारले अभिनय गरेका छन्। चलचित्रका दुईवटा गीत लोकपि्रय भैसकेका छन्।
दीपकसँग विल्सन
हास्यअभिनेता दीपकराज गिरीको दोस्राे चलचित्र 'वडा नम्बर ६' मा हास्यकलाकार विल्सनविक्रम राईले पनि अभिनय गर्ने भएका छन्। यसअघि '६ एकान ६' मा प्रस्ताव गरिए पनि विल्सनले त्यसमा अभिनय गरेका थिएनन्। उज्ज्वल घिमिरेले निर्देशन गर्ने यो चलचित्रमा हास्यअभिनेताहरू नै मुख्य भूमिकामा देखिने छन्।
सेतो बाघलाई यू
नीर शाहको पछिल्लो चलचित्र 'सेतो बाघ' लाई सेन्सर बोर्डले युनिभर्सल (यू) सर्टिफिकेट दिएको छ। कात्तिक २२ गते मेलबर्नमा पि्रमियर गरिने यो चलचित्र डाइमनशमशेर राणाको ऐतिहासिक उपन्यासमा आधारित छ। चलचित्रमा जंगबहादुर राणाको जीवनको अन्तिम ३० दिनको कथालाई पर्दामा उतार्ने प्रयास गरिएको छ। चलचित्र सोतोबाघमा जंगबहादुर राणाको भूमिका बिएस राणाले निर्वाह गरेका छन्।
कात्तिक २१ मा सरी ल
कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'सरी ल' ले आक्रामक प्रचार प्रारम्भ गरेको छ। चलचित्रले मुख्य कलाकार राजन खतिवडामार्फत प्रचारको नौलो शैली अपनाएको छ। गत साता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता खतिवडा आफ्नो शरीरमा कालो र सेतो रंग पोतेर 'सरी ल' लेखेर प्रस्तुत भएका थिए। तिहारको शुभकामना व्यक्त गर्न आयोजित उक्त समारोहमा खतिवडाको उक्त गेटअप चर्चाको विषय भएको थियो। चलचित्रका निर्देशक ऋषि लामिछानेका अनुसार यो चलचित्रले दर्शकको मन छुनेछ। चलचित्र सरी लमा सुवास थापा, अनिता आचार्य, राजन खतिवडा तथा मार्टिन खान मुख्य भूमिकामा छन्।
निर्माता बन्दै संगीतकार
करिब पाँच दर्जन नेपाली चलचित्रका संगीतकार चेतन सापकोटा पनि निर्माता बन्ने भएका छन्। गायक तथा गीतकारका रूपमा समेत स्थापित सापकोटाले यसै साता नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरका हुन्। आगामी वैशाखतिर छायांकन प्रारम्भ हुने उक्त चलचित्रलाई नवल नेपालले निर्देशन गर्नेछन्।
आगो-२ को आरोप
चलचित्र सेन्सर बोर्डका सदस्यहरूले आफ्नो चलचित्रप्रति पूर्वाग्रह राखेको भन्दै 'आगो- २' को युनिटले आपत्ति जनाएको छ। राजनीतिक कारणले चलचित्र सेन्सर नभएर असोज ३१ प्रदर्शन गर्न नसकिएको प्रस्तुतकर्ता किसान पोखरेलको गुनासो छ। निर्माता पोखरेलले सेन्सरले अनावश्यक रूपमा बाधा दिए क्षतिपूर्ति माग्दै अदालतसम्म पुग्ने चेतावनीसमेत दिएका छन्।
श्री ५ अम्बरेको प्रोमो
चलचित्र 'श्री ५ अम्बरे' को आधिकारिक प्रोमो यसै साता सार्वजनिक भएको छ। २ मिनेट लामो उक्त प्रोमोमा चलचित्रको संक्ष्ािप्त कथा समावेश छ। सौगात मल्ल, केकी अधिकारी, विक्रम सिंह, राजा गोदाइली, अविरल अधिकारी तथा सफलता भट्टराईद्वारा अभिनीत चलचित्र श्री ५ अम्बरेमा पि्रयंका कार्की अतिथि कलाकारका रूपमा सहभागी छिन्। दीपा बस्नेतद्वारा निर्देशित यो चलचित्र मंसिर ५ गतेदेखि प्रदर्शनमा आउनेछ।
सपना तिम्रो मेरो
निर्देशक ऋषिराज आचार्यको दोस्रो चलचित्र 'सपना तिम्रो मेरो' मा सविन श्रेष्ठ, सुशान्त कार्की, अर्जुन श्रेष्ठ, रश्मि भट्ट, सुमन श्रेेष्ठ तथा रविन मगरले अभिनय गरिरहेका छन्। जान्वी बोहराले नायिकाका रूपमा डेब्यु गर्ने यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ। अर्जुन पोेखरेलको संगीत निर्देशनको यो चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व तथा गम्भीर विष्टको नृत्य निर्देशन छ।
सकियो सत्यदीप
चलचित्र 'सत्यदीप' को छायांकन सम्पन्न भएको छ। पुष्कर घिमिरेले निर्देशन गरिरहेको यो चलचित्रमा रवि गिरी, उमा बेबी, दिव्यश्वर गौतम, सबिना केसी, श्याम केसी आदि कलाकारले अभिनय गरेका छन्। अर्जुन पोखरेलको संगीत निर्देशनमा चलचित्र सत्यदीपमा चारवटा गीत समावेश गरिएको बताइन्छ।
सगुन र दीपक रोमान्स
नारायण खतिवडाले निर्माण गर्न लागेको मेरो मान्छेमा सगुन शाही र दीपक ढकालले स्त्रिन रोमान्स गर्ने भएका छन्। कात्तिक ११ गतेदेखि छांयाकन सुरु हुन लागेको उक्त चलचित्रबाट दीपक ढकालले नायकका रूपमा डेब्यू गर्दै छन् भने सगुनको यो चलचित्र दोस्रो हो। सगुनले यसअघि चलचित्र 'दुवानी' मा अभिनय गरेकी थिइन्।
कात्तिक २८ मा मिस्टेक
चलचित्र 'मिस्टेक' को प्रदर्शन मिति घोषणा गरिएको छ। कात्तिक २८ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा सुशान्त कार्की, हषिर्का श्रेष्ठ, निर्मल सेन्चुरी, सूरवीर पण्डित, रमा थपलिया आदि कलाकारले अभिनय गरेका छन्। यो चलचित्र मिस्टेकका निर्देशक ऋषिराज आचार्य हुन्।