साप्ताहिक संवाददाता
'मिस इन्टरनेसनल-२०१४' आउँदो नोभेम्बेर ११ तारिखमा जापानको टोकियो सहरस्थित ग्रान्ड प्रिन्स होटल टाकानावामा सम्पन्न हुने ५४औं 'मिस इन्टरनेसनल' प्रतियोगितामा सहभागी हुन २४ वर्षीया सोनी गत अक्टोबर २१ मा त्यसतर्फ लागेकी हुन् । मिस इन्टरनेसनलमा सहभागी हुनुपूर्व उनले विभिन्न विषयमा प्रशिक्षण प्राप्त गरेकी थिइन् ।
तीमध्ये सकिल कुँवरबाट हेयर एन्ड मेकअप, लिडिया रोजडिल्सकीबाट इन्टरनेसनल कल्चर तथा पेजेन्ट ट्रेनिङ, जास्मिन फिट्नेस क्लब एन्ड स्पाबाट फिटनेस, एभरेस्ट टोस्ट मास्टर्स क्लबबाट पब्लिक स्पिकिङ तथा होटल र्याडिसनबाट क्लब डाइनिङ एटिकेट्स एवं टेबल म्यानर्ससम्बन्धी प्रशिक्षण मुख्य छन् । सोनी मिस इन्टरनेसनल प्रतियोगितामा नेसनल कस्ट्युम राउन्डतर्फ नेवारी पहिरनमा उपस्थित हुने छिन् भने नेपालको समृद्ध सांस्कृतिक पक्ष देखाउन उनले मञ्जुश्री नृत्य प्रस्तुत गर्ने तयारी गरेकी छिन् । सन् १९६० देखि आयोजन हुँदै आएको मिस इन्टरनेसनल प्रतियोगितालाई शान्ति र सुन्दरताको दूतका रूपमा पनि लिइन्छ । यो प्रतियोगिताकी वर्तमान उपाधि विजेता फिलिपिनी सुन्दरी बी सान्टियागो हुन् ।