डोल्पा सु गाविसका ४० वर्षीय सिद्ध बोहरा जमुनहा नाकामा पक्राउ परेका हुन् । जाजरकोट जगतीपुरकी किशोरीलाई केआई नेपालको टोलीले उद्धार गरी अभिभावकको जिम्मा लगाएको बताएको छ ।
किशोरीका अनुसार गएको वैशाखको अन्त्यदेखि बोहराले उनीसँग मोबाइलमा कुरा गर्न थालेका हुन् । बोहरालाई युवतीको गाउँकै एक व्यक्तिले उनको नम्बर दिएको बताइन्छ । आफ्नो उमेर २८ वर्ष भएको र पत्नीको निधन भैसकेको बताएर उनले किशोरीसंग फोनमै मित्रता गाँसेका थिए ।
मोबाइलमार्फत चिनजान भएपछि बोहराले कात्तिक १३ गते ती किशोरीलाई भेट्नका लागि रुकुमको चौरजहारी बोलाए । गाउँमा कक्षा ७ मा अध्ययनरत ती किशोरी बोलाइएको ठाउँमा भेट्न आइन् । बाँके प्रहरीका अनुसार बोहराले घर जाऊँ भन्दै किशोरीलाई नेपालगन्जसम्म ल्याइपुर्याए ।
बालिकाको मोबाइल अफ गर्न लगाएका बोहराले नयाँ कपडा किनिदिएर ती किशोरीसँग नेपालगन्ज र राँझामा १/१ दिन बिताएका थिए । बोहराले आफ्नो नेपालगन्जमा मासिक ३५ हजार रुपैयाँ बहाल उठ्ने घर भएको बताएर बालिकालाई प्रलोभनमा पारेका थिए । शनिबार बिहान आफ्नो घर भारतमा पनि भएको भन्दै त्यता लान खोज्दा सीमामा उनी पक्राउ परेका हुन् ।
सीमा नाकामा चेकजाँच र सोधपुछ हुने भएकाले बोहराले बालिकालाई कसैले सोधे आफूलाई अंकल र लखनउ उपचार गर्न जान लागेको भन्नु भनेर सिकाएका थिए । 'पैदलै सीमापार गर्ने क्रममा शंकाका आधारमा सुरुमा सोधपुछ गर्दा बालिकाले बोहराले सिकाएझै जवाफ दिइन्,' केआइ नेपालकी क्षेत्रीय संयोजक राधिका गिरी भन्छिन, 'दुई घण्टाको परामर्शपछि मात्र बालिकाले यथार्थ कुरा भनेपछि जोखिममा रहेकी युवतीको उद्धार गर्न सफल भयौं ।' बोहराले बालिकालाई विक्रि गर्ने उद्देश्यका साथ भारततर्फ लान लागिएको पाइएको प्रहरीले जनाएको छ । अनुसन्धान पूरा भएपछि बोहराविरुद्ध मानव बेचबिखनको मुद्दा चलाइने प्रहरीले बताएको छ ।