साप्ताहिक संवाददाता
पहिलो एकल एल्बम 'सुवास' को सफलतापछि यतिबेला दोस्रो एकल एल्बम 'अर्पण' को तयारीमा व्यस्त छु । गीतको शब्द तथा संगीतमा काम गरिरहेको छु ।
पहिलो एल्बमबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
एल्बमका प्रायः सबै गीत श्रोताहरूले मन पराउनुभएको छ । खासगरी 'निष्ठुरीको जाल...', 'बदनाम भएँ..', 'फूलको यो रंगले' तथा 'उजाड मेरो जीवन...' गीतबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।
भर्खरै पि्रमियर भएको 'उजाड मेरो जोवन’ को भिडियो कस्तो बनेको छ ?
गायक सशान कँडेलद्वारा निर्देशित यो गीतको भिडियोमा महानायक राजेश हमाल तथा नायिका करिश्मा मानन्धरले अभिनय गर्नुभएको छ । सेलिब्रेटी नायक-नायिकाको साथ पाएकाले पनि हुनसक्छ भिडियोले कम समयमै दर्शकको मन जितेको छ ।
प्रायः सबै गीतका भिडियो बनाइरहनुभएको छ नि ?
अहिले गीत सुन्नेभन्दा पनि हेर्ने चलन छ । युट्युब तथा टेलिभिजन च्यानलबाट गीत प्रसारण भएपछि मात्र हामीले सांगीतिक समारोहमा सहभागिताको निम्तो पाउँछौं । त्यसकारण पनि गीतको म्युजिक भिडियो तयार पार्नुपर्ने बाध्यता छ ।
पहिलो एल्बममै भारतीय गायिकासँग युगल गायन कसरी सम्भव भयो ?
संगीतकार शिखर सन्तोषका कारण गायिका साधना सगरमसँग युगल गीत गाउने अवसर मिलेको हो । शब्द र संगीत आकर्षक भएका कारण गायिका सरगम युगल गायनका लागि तयार हुनुभएको हो ।
कस्ता शैलीका गीत गाउन रुचाउनुहुन्छ ?
प्रायः आधुनिक तथा गजल गाउन मन पराउँछु । संगीतको प्रशिक्षणका क्रममा समेत म गजल गायनमै पारंगत भएको थिएँ ।
दोस्रो एल्बम 'अर्पण’ मा कस्ता गीत समेट्दै हुनुहुन्छ ?
यसमा पनि सुगम संगीतमा आधारित गीत गाउँदैछु । ११ वटा गीत समावेश गरिने उक्त एल्बममा यसपटक गायिका दीपानारायण झासँग युगल गीत पनि रेकर्ड गराउनेछु । शिखर सन्तोष, राम कार्की, हरि लम्साल तथा म आफैंले संगीतबद्ध गरेका गीतहरू समावेश हुनेछन् ।