सानो स्वर
विद्यालयमा अध्ययनरत छँदा म जहिले पनि पहिलो बेन्चमा बस्थें तर शिक्षकले सोधेका प्रश्नको जवाफ दिँदा मेरो स्वर असाध्यै सानो हुन्थ्यो । मैले सानो स्वरले बोलेर शिक्षकले केही पनि नसुनेको कुरा कम्प्लेनका रूपमा मेरो घरसम्म पुगेको थियो । विद्यालय जीवनभरि सानो स्वरले बोल्ने विद्यार्थीका रूपमा चिनिने म अहिले 'हाइ रेन्ज' का गीत गाउने गायकका रूपमा चिनिएको छु ।
खाना र मोबाइल
बिहान र बेलुकाको खाना खाने क्रममा मेरो देबे्रे हातमा मोबाइल हुन्छ । खाना खाने क्रममा मलाई मोबाइल नखेलाई हुँदैन । कम्तीमा एउटा म्यासेज अथवा कसैलाई एक कल गरेकै हुन्छु । ती दुवै कार्य गरिन भने एउटा गेम भए पनि खेल्छु ।
बाबु
कक्षा ६ सम्म आइपुग्दा मेरो पुरा नाम प्रमोद बाबु खरेल थियो । सहपाठीहरूले 'बाबु' भनेर बोलाउन थालेपछि मलाई जिस्क्याएजस्तो लाग्यो अनि केही लाज पनि लाग्यो । त्यसपछि आफ्नै एकल निर्णय गर्दै मैले प्रमोद र खरेल बीचको बाबुलाई हटाइदिएँ ।
चित्रकारिता
म गीत-संगीतबाहेक चित्र पनि कोर्छु । मैले थुप्रै होर्डिङ बोर्ड र ब्यानरका लागि व्यावसायिक रूपमै चित्रकारिता गरेको छु । झापाबाट काठमाडौं आउँदा संगीतमा स्थापित हुन संघर्ष गर्नुपर्छ भन्ने थाहा थियो, त्यसका लागि साइड जबका रूपमा चित्रकारिता गर्छु भन्ने थियो, केही वर्ष गरें पनि, तर अहिले मेरो त्यो कला गुमनाम छ ।
छोराको नाम
मेरो एउटा चार वर्षीय छोरा छ । उसको नाम दिप्रभ हो । मेरो छोराको नाम गायक रामकृष्ण ढकालले जुराइदिनुभएको हो । वास्तवमा दिप्रभ आमाको पेटमै हुँदा गायक ढकालले यो नाम दिनुभएको थियो । रमाइलो के छ भने दिप्रभको नाममा हाम्रो परिवारका सबै सदस्यको नामको पहिलो अक्षर छ । उसकी आमा दीपाको दि, म र भाइ प्रतापको प्र तथा बुवा भक्तिको भ अर्थात् दिप्रभ ।
भाग्यमानी सन्तान
मेरी आमाले जम्मा ६ जना सन्तान जन्माउनुभएको थियो । दु:खद कुरा जन्मिएका सन्तानमध्ये पालैपालो एउटाको निधन हुने, अर्को बच्ने हुन थालेछ । म, मेरी बहिनी र भाइ मात्र बाँच्न सफल भयौं, बाँकी तीन सन्तानको जन्मिएको केही समयपछि नै निधन भयो । जन्मिएका सन्तानमध्येे म समग्रमा दोस्रो तथा बाँचेकामध्ये पहिलो सन्तान हुँ ।
शिक्षक
सांगीतिक क्षेत्रमा सक्रिय रहँदा समेत म प्लटु टुमा अध्यापन गर्थे । मैले फिजिक्समा स्नातकोत्तर गरेको छु । विज्ञानमा डिग्री गरेकाले बिहान घरमा खालि बस्न मन लागेन । त्यसैले मैले करिब पाँच वर्ष अध्यापनमा बिताएँ । गायकका रूपमा व्यस्त हुन थालेपछि समयअभावका कारण विगत चार वर्षदेखि म अध्यापन क्षेत्रमा छैन ।