कपिलवस्तुको चन्द्रौटामा प्रथम कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव प्रारम्भ भएको छ । 'लागूऔषधको निषेध गरौं, समावेशी, धार्मिक, सांस्कृतिक सद्भाव कायम गरौं' भन्ने नाराका साथ आयोजित महोत्सव जिल्लाको पश्चिमी क्षेत्रमा पहिलो पटक हुन लागेको हो । महोत्सवमा कृषिजन्य उत्पादनदेखि लिएर उपभोग्य वस्तु, लत्ताकपडा, जडीबुटी, घरेलु तथा हस्ताकला सामग्री आदिका स्टल छन् । त्यस्तै आधुनिक प्रविधि, कम्प्युटर तथा इलेट्रनिक्सका स्टल पनि छन् । मनोरञ्जनका लागि रोटे पिङ, मौतका कुवा, ड्राइगन ट्रेन, ब्रेक डान्स साथै बालबालिकाका लागि जादु स्टेज शो मेलाका विशेषता हुन् । महोत्सवको आकर्षणका रूपमा दैनिक ख्यातिप्राप्त गायक तथा हास्यकलाकारहरूको प्रस्तुति हुने गरेको छ । मंसिर ३ गते प्रारम्भ भएको महोत्सव मंसिर १४ गतेसम्म चल्ने बताइएको छ । महोत्सवमा खुल्ला डान्स प्रतियोगितासमेत सञ्चालन भैरहेको छ ।