साप्ताहिक संवाददाता
अस्थायी स्तन
आफ्नो स्तन ठूलो र आकर्षक होस् भन्ने चाहना अधिकांश युवतीमा हुन्छ । अहिले प्राकृतिक रूपमा भन्दा पनि कृत्रिम रूपमा स्तन ठूलो बनाउने चलन फेसनका रूपमा विकास भैरहेको छ । दीर्घकालीन रूपमा स्तनलाई ठूलो बनाउन शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि प्रशस्त पैसा खर्च गर्नुपर्ने हुनाले कतिपय युवतीले चाहेर पनि आफ्नो स्तनलाई आकर्षक बनाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा न्युयोर्कका एक प्लास्टिक सर्जनले अस्थायी रूपमा स्तन ठूलो बनाउने प्रविधिको विकास गरेका छन् । प्लास्टिक सर्जन नोरम्यान रोबेले नुन पानी लगायत केही रासायन घोलेर बनाइएको झोललाई स्लाइनमार्फत स्तनमा पुर्याएपछि स्तन ठूलो हुने र त्यो केवल २४ घण्टा मात्र रहने बताएका छन् । २४ घण्टापछि स्तन पुरानै अवस्थामा आउने उनको दाबी छ । केही युवतीले रोबेसँग उक्त शल्यक्रिया गराइसकेका छन्, जसको नतिजा सकारात्मक छ । रोबेका अनुसार यसरी स्तनलाई ठूलो बनाउन २ लाख ४५ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।
महिला कुम्भकर्ण
वयस्क व्यक्तिहरूले दैनिक ६ देखि ८ घण्टा सुते मज्जाले निन्द्रा पुग्छ, तर ३६ वर्षीया हेलेन वाटरसनलाई २४ घण्टामा २१ घण्टा सुत्दा पनि निन्द्रा पुग्दैन । बाँकी ३ घण्टा उनको औषधि सेवन, शौच एवं खानपिनमा बित्छ । उनलाई बढी निन्द्रा लाग्ने कारण शरीरमा देखा परेको एक किसिमको संक्रमण हो । हेलेनलाई क्लेनी लेभिन भन्ने रोगले संक्रमित गरेको छ । यो रोगको संक्रमण भएका व्यक्ति विश्वमा १ हजारको हाराहारीमा मात्र छन् । यो समस्याका कारण उनी केही समय मात्र जाग्न सक्छिन् । आधा घण्टा बढी समय ब्युँझिन सक्दिनन्, जसका कारण हेलेन घरभन्दा बाहिर जाने कल्पनै गर्दिनन् । हेलेनका अनुसार निदाउँदा देखिने सपना नै उनको वास्तविक जीवन हो ।