७ देखि १३ वर्ष उमेर समूहका ४१ जना बालबालिका यतिबेला 'प्रिन्स एन्ड प्रिन्सेस-२०१४' को उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । बेटर ग्यालेक्सीले मंसिर २६ गते शुक्रबार आयोजना गर्न लागेको यो प्रतियोगितामा २३ जना बालिका तथा १८ जना बालकले सहभागिता जनाएका छन् । प्रतिस्पर्धी बालबालिकाहरूलाई कोरियोग्राफर स्वस्तिका राजभण्डारीले विगत एक महिनादेखि व्यक्तित्व विकास, क्याटवाक सहितका विषयमा प्रशिक्षण दिइरहेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने निर्णायक प्रतियोगिताअघि प्रतिस्पर्धी बालबालिकाहरू भोलि शनिबार ट्यालेन्ट शोमा सहभागी हुनेछन् । त्यसअघि प्रशिक्षणका क्रममा उनीहरूले सिंहदरबवार बग्गीखानास्थित ट्राफिक प्रहरीको प्रधान कार्यालयमा सम्पन्न कार्यक्रममा ट्राफिक नियमसम्बन्धी जानकारी हासिल गरेका थिए । यसबाहेक भक्तपुरका विभिन्न ऐतिहासिक क्षेत्रको भ्रमणका क्रममा दिइएको जानकारीमूलक प्रशिक्षण बालबालिकाहरूका लागि उपयोगी भएको कार्यक्रमका व्यवस्थापक धीरज तन्डुकारले बताएका छन् ।