परम्परागत संस्कृति जोगाउँदै न्वागी मेला दोभानको झ्याङ्लामा सम्पन्न भएको छ । प्यूठान, गुल्मी र बाग्लुङ्बाट दोभानको झ्याङ्लामा आई बसोबास गर्नेहरूले 'न्वागी मेला' मनाएका हुन् । दोभान-७ स्थित बँदेलपोखरी सामुदायिक वन, लालीगुराँस महिला समूह तथा झरना युवा क्लबको आयोजनामा मेला सम्पन्न भएको हो । देवी पूजा गरेपछि प्रारम्भ भएको मेला परम्परागत ठूलो नाच, खेली तथा बाजागाजाले भव्य बनेको थियो । त्यहाँ रातभर नाचगान चल्यो भने झरना युवा क्लबले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । नयाँ धानको चामल र सिलामलाई दहीमा भिजाएर देवीको मन्दिरमा चढाउने र त्यसलाई सगुनका रूपमा खाने चलन छ । स्थानीय हीराकुमारी थापाका अनुसार समुदायले निर्माण गरेको देवीस्थान मन्दिरमा बली चढाउने र नयाँ चामल चढाउने परम्परा पुरानै हो । न्वागीमा समाजका सबैलाई ख्वाएपछि मात्र नयाँ चामल खान थाल्ने चलन छ ।