बेलवारी- २ स्थित लोहन्द्रा खोलाको बगरमा रहेको आफ्नै छाप्रोमा प्लास्टिकको पासो लगाई ताराजुनले छोराछोरीको हत्यापछि आत्महत्या गरेको बताइन्छ । इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक दुर्गा दाहालका अनुसार उक्त घटना बिहान करिब साढे ५ बजे तिरको हो ।
प्रहरीका अनुसार ताराजुनकी श्रीमती मंसिर ११ गते घरपरिवार छोडेर हिँडेकी थिइन् । श्रीमतीले अर्कै व्यक्तिसँग विवाह गरेको बताइएपछि निराश भएका ताराजुनले उक्त घटनालाई अन्जाम दिएका हुन् ।
बालबालिकाकी हजुरआमाले बिहान उनीहरूलाई ओछ्यानमा नदेखेपछि खोजी गर्दा घरभन्दा केही पर तीनै जना झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरी निरीक्षक दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट ताराजुनले छोराछोरीलाई झुन्ड्याएपछि आफूले पनि आत्महत्या गरेको पाइएको छ । परिवार, छरछिमेक एवं स्थानीय बासिन्दाबाट बुझ्दा अनि घटनास्थलको अध्ययन गर्दा घटनामा अरू कसैको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ । तीनै जनाको शव पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पोस्टमार्टमको रिपोर्टपछि थप कुरा खुल्न सक्ने प्रहरीले जनाएको छ ।