किराँत राई यायोक्खा, ललितपुरले नख्खिपोटबाट सुरु गरेको उधौली कार्यक्रम किराँती सघन बस्तीहरूमा पनि मनाइन्छ । हरेक वर्ष मंसिर पूणिर्माका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाइन्छ । भाषा, संस्कार संस्कृतिले आ-आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले हिजोआज उधौली चाडका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एउटै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुरा आदानप्रदान गर्नु, आपसमा चिनजान गर्नु, आ-आफ्नो संस्कृति झल्काउने पोसाक लगाएर आ-आफ्नो जाति विशेषको नाच नाच्नु यो पर्वको विशेषता हो ।
लिम्बूहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पालगायत थरीथरीका नाच नाच्छन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्छन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर तथा सेउली लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्छन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्छन्, याख्खाहरू हात समाएर चावाकलाक तथा च्याब्रुङ बजाएर केइलाक नाच्छन् । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाउने चलन छ ।
यसै बिच धरानमा लिम्बूहरूको महान् चाड चासोक तङनाम विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । चासोक तङ्नाममा विभिन्न सांस्कृतिक कार्यक्रमअन्तर्गत चासोक पूजा, शिरिजंगा जन्मजयन्ती तथा सरसफाइ, सांस्कृतिक खेल प्रदर्शनी, हाक्पारे, ख्याली प्रदर्शनी, हाङयुक्ना सरसफाइ तथा पूजा, चमेन तङसिङ, लिम्बू भाषामा कवितावाचन तथा पूर्वाञ्चलका एक दर्जन केलाङ समूहबीच च्याबु्रङ नाच (केलाङ) प्रतियोगिता समेत सञ्चालन गरिएको थियो, जसमा फक्ताङलुङ केलाङ समूह इटहरी प्रथम, तिनजुरे पूर्वभेग च्याबु्रङ समूह दोस्रो तथा याक्थुङ साक्थीम केलाङ समूह याङ्शिला मोरङ तेस्रो भए ।
त्यसैगरी प्रत्येक साँझ आयोजित सांगीतिक कार्यक्रममा मिस लिम्बू-२०१२ की मिस ट्यालेन्ट मोडल निशा पोमु लिम्बू, मुनलाइट आर्ट पर्फमिङ सेन्टर तथा गरिमा डान्स सेन्टर धरानले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा गायिका मनु नेम्वाङ, गायिका एवं कोरियोग्राफर अन्जु राई, पूर्वाञ्चल स्टार प्रकृति थलङ, गायिका श्रेयासी चेम्जोङ, खोजी प्रतिभाका विजेता विक्रम लिम्बू, ताप्लेजुङ आइडल गायक पदम राई, लिम्बूवान् आइडल कन्चन थलङ, ताप्लेजुङ आइडल लक्ष्मण हुक्पा चोङबाङ लिम्बू, गायक समिर सिंगक, साक्थिम योङ्या, धराने माईला, महेन्द्र राई आदिले पनि गीत प्रस्तुत गरेका थिए ।