उनीहरूको प्रेमप्रसंग अनौठो छ । प्रेममा सँगै थिए अहिले जेल पनि सँगै गएका छन् । इन्द्रपुरका राजकुमार जरवत र उनकी पत्नी सुशीला कैद भुक्तान गर्न हाल नेपालगन्ज कारागारमा छन् । सुशीलाले पहिलो श्रीमान् खेमराज जरवतलाई छोडेर राजकुमारसँग दोस्रो विवाह गरेपछि उनीहरूविरुद्व धनमाल, जारी मुद्दा परेको थियो । पहिलो पति खेमराजले श्रीमतीले गहनालगायतका धनमाल लिएर पोइल गएको भन्दै मुद्दा दर्ता गराएका थिए । बाँके जिल्ला अदालतले राजकुमार र सुशीलामाथि लागेको अभियोगलाई सदर गर्दै एक/एक महिना कैद सजाय सुनाएको थियो । २०६७ जेठ २ गते अदालतले एक/एक महिना कैद हुने गरी फैसला सुनाएपछि उनीहरू फरारको सूचीमा थिए । अदालतको फैसला कार्यान्वयन समितिले फरार अपराधीलाई खोज्दै पक्राउ गर्न थालेपछि जरवत दम्पती आइतबार दुई नाबालक छोरासहित बाँके जिल्ला अदालतको सम्पर्कमा आएका हुन ।'हामीले सँगै जिउने र मर्ने वाचा गरेका छौँ । त्यसैले जेल बस्न पनि सँगै आयौँ,' राजकुमारले भने- 'एउटै अपराधमा श्रीमान्-श्रीमतीले जेल सजाय पाएका छौँ । एक महिनापछि सगै जेलबाट रिहा हुन्छौँ ।'
जेल बस्दा एक महिनासम्म दुई नाबालक छोरालाई हेरिदिने कोही भैदिएको भए आफूसँग नल्याउने उनीहरूले बताए । आफूसँगै छोराहरू पनि कारागारमा बस्नुपर्दा मन दुखेको उनले बताए । आमा-बुबा जेल गएपछि नाबालकको पालनपोषण गर्ने कोही नभएको अवस्थामा कारागार ऐन २०१९ को दफा ८ (२) ले नाबालकहरूलाई बाबुआमासँगै राख्न मिल्ने व्यवस्था छ ।