भारतीय टेलिभिजनमा प्रसारण हुने टेलिश्रृंखलाहरूले महान् पर्व होली सेटमै मनाएका छन् । त्यसमध्ये अधिकांशले होलीलाई कथामै समेटेका छन् । चर्चित टेलिश्रृंखला कुम कुम भाग्यको टिमले पनि होली मनाएको छ । उक्त अवसरमा कुमकुम भाग्यकी मुख्य कलाकार प्रज्ञा अर्थात श्रुति झा २९ वर्ष पुगेको अवसरमा बर्थ-डे केक पनि काटिएको थियो । होलीको अवसरमा सब टिभीको लोकप्रिय हास्यश्रृंखला तारक मेहताका उल्टा चस्माका लिड स्टार जेठालाल (दिलीप जोशी) तथा दया बेन (दिशा वकानी) ले रेखा-अमिताभ अभिनित सुपरहिट गीत रंग बरसेमा ठुम्का लगाएका थिए । यस्तै अर्को च्यानल लाइफ ओकेमा होली है लाइफ ओके है शीर्षकको विशेष होली कार्यक्रम प्रसारण हुँदैछ, जसमा बलिउड नायक अर्जुन कपुर तथा नायिका एली अबरामले नृत्य प्रस्तुत गर्ने छन् । चर्चित कलाकारहरू करण ग्रोबर, सुशान्त सिंह, सिद्धार्थ सागर, प्रणाली घोघर आदिले लाइफ ओकेको उक्त होली कार्यक्रममा सहभागिता जनाएका छन् । लेडी गागाको गाउन
लेडी गागाका लागि २५ व्यक्तिले १ हजार ६ सय घण्टा लगाएर तयार पारेको ह्वाइट गाउन पछिल्ला दिनमा अत्यधिक चर्चामा छ । लेडी गागाले उक्त पहिरन ओस्कार समारोहमा लगाएकी थिइन् । लेडी गागा पनि उक्त पहिरनलाई लिएर अत्यन्तै खुसी छिन् । इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै गागाले भनेकी छिन्- 'ओस्कारको त्यो साँझ म कहिल्यै भुल्नेछैन ।' उनले डिजाइनर एजेडाइन अलाइयाप्रति साधुवाद पनि व्यक्त गरेकी छिन् । लस एन्जलसको डल्बी थिएटरमा आयोजित ओस्कार एवार्ड वितरण समारोहमा उक्त गाउनका साथमा गागाले रातो रंगको ग्लोब्स लगाएकी थिइन् । उक्त अवसरमा गागाले द साउन्ड अफ म्युजिक प्रस्तुत गरेकी थिइन् ।