साप्ताहिक संवाददाता
लालजोडीमा युवराज
लक्ष्मण सुवेदीको चलचित्र 'लालजोडी' मार्फत संगीतकार सन्तोष श्रेष्ठले चलचित्रमा डेब्यू गर्ने भएका छन् । श्रेष्ठको संगीतमा चलचित्रको दोस्रो गीत 'घिटीघिटी बाँचेको छु...' गायक युवराज चौलागाईंको स्वरमा रेकर्ड भएको छ । यसअघि चलचित्रको पहिलो गीत राजेशपायल राई तथा मनीषा पोखरेलको स्वरमा रेकर्ड भैसकेको छ ।
ठमेल डटकम
गोपीकृष्ण मुभिजको नयाँ चलचित्र 'ठमेल डटकम' मा अनुपविक्रम शाही तथा नरेन लिम्बू मुख्य भूमिकामा अनुबन्ध भएका छन् । यो चलचित्रको निर्देशन राजकुमार शर्माले गर्दैछन् ।
सपना तिम्रो मेरो
चलचित्र 'सपना तिम्रो मेरो' को शीर्षक गीतको भिडियो सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यद्वारा निर्देशित यो चलचित्रमा सविन श्रेष्ठ, सुशान्त कार्की, जान्वी बोहराले अभिनय गरेका छन् । अर्जुन पोखरेलद्वारा संगीतबद्ध उक्त गीतमा शान्तिम कोइराला र दुर्गा खरेलको पाश्र्व गायन छ ।
पोखरामा ब्रासलेट
निर्मल शर्माको दोस्रो चलचित्र 'ब्रासलेट' को छायांकन पोखरा तथा तनहुँ वरपरका क्षेत्रमा हुने भएको छ । केशव भट्टराईले निर्माण गर्ने यो चलचित्रका लागि कलाकारहरूको छनौट प्रक्रिया जारी छ ।
पत्रकारको नयाँ नेतृत्व
चलचित्र पत्रकार संघ हेटौंडा शाखाको गत शनिबार सम्पन्न संघको वार्षिक साधारणसभाले मणिराज गौतमलाई सर्वसम्मतले अध्यक्ष छनौट गरेको छ । गौतमको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश दाहाल, सचिवमा श्रीराम दाहाल, कोषाध्यक्षमा कपिल खड्का तथा सहसचिवमा अमृता नेपाल छन् ।
सत्याको थालनी
निर्देशक कृष्ण पौडेलले गत आइतबार गीत रेकर्डिङ गर्दै नयाँ चलचित्र 'सत्या' निर्देशन गर्ने घोषणा गरेका छन् । चलचित्रमा जीवन लुइँटेल र वर्षा शिवाकोटीको मुख्य भूमिका रहनेछ ।
पोखरामा मुहूर्त
चलचित्र 'टु आवर्स अफ माई लाइफ' को शुक्रबार पोखरामा शुभमुहूर्त गरिएको छ । पोखराकै कलाकारहरूको मुख्य भूमिका रहने यो चलचित्रमार्फत गोविन्द बाँस्तोलाले निर्देशनमा डेब्यू गर्दैछन् ।